वैशाखसम्म सबैलाई काेराेनाविरुद्धकाे खाेप लगाइ सक्छाैँ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

 असोज १३, २०७८ बुधबार १३:५४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आउँदाे वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसक्ने बताउनुभएको छ । राज्यमन्त्री श्रेष्ठले सरकारले दशैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारीसमेत दिनुभयो ।

विश्व मुटु दिवसको अवसरमा आज बुधवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले अहिले दैनिक तीन लाख जनालाई काेराेनाविरुद्धकाे खोप लगाउने काम गरिरहेको बताउनुभयो । वर्तमान सरकारले आफ्नो झन्डै तीन महिने कार्यकालमा एक करोड थप खोप लगाउने काम गरेको उहाँको भनाइ छ ।

राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि पनि एक करोड खोप सुनिश्चित गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘झन्डै तीन महिनाको अवधिमा एक करोड थप खोप लगाइ सकिएको जानकारी गराउन चाहन्छु । किनभने हामीले एक करोेड ७७ लाख खोप ल्याइसकेका छौँ । यो दशैँसम्म ३३ प्रतिशत नागरिकलाई खोप लगाइसक्ने जानकारी पनि गराउन चाहन्छु । अहिले दिनमा तीन लाख जनतालाई खोप लगाएका छौँ । अग्रपङ्क्तिमा खटिएकाहरूलाई खोपमा उच्च प्राथमिकता दिइएको छ । १४ वटा हिमाली जिल्लामा १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियानलाई सुरु गरिएको छ । बालबालिकाहरूका लागि पनि एक करोड खोपको सुनिश्चित गरिएको छ ।’

राज्यमन्त्री श्रेष्ठले मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरूको उपचार निःशुल्क रूपमा गर्ने गरी सरकारी अस्पतालहरूको सुधार गर्न सरकार लागिपरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले मुटु रोगबाट बच्नका लागि धुम्रपान तथा प्रदूषणबाट बच्ने र नियमित शारीरिक व्यायाम गर्न सबै नागरिकलाई आह्वान गर्नुभयो । उहाँले नेपालमा मुटु रोगको भयावह अवस्था देखिएको उल्लेख गर्दै त्यसको उपचारका लागि सहज हुने व्यवस्था गर्न सरकारलाई पनि सुझाव दिनुभयो ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मुटु रोग लाग्न नदिने गरी व्यायाम गर्न आफूले ललितपुर महानगरपालिकाभित्र साढे ३२ किलोमिटर साइकल ट्र्याक बनाएको जानकारी दिनुभयो । उहाँले साइकल चढेर नागरिकहरूले शारीरिक व्यायाम गरून् भनेर ललितपुर महानगरपालिकाभित्रको चक्रपथमा १५ दशमलव आठ किलोमिटर साइकल ट्र्याक बनाउने योजना तय गरेको समेत बताउनुभयो ।

कार्यक्रममा मुटु रोग विशेषज्ञ डा. रवी मल्ल, क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बराल, मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले, स्नायु रोग विशेषज्ञ डा. वसन्तराज पन्त र समाजसेवी कृष्ण कँडेललाई सम्मान गरिएको थियो । 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया