‘बैंकले १० फिटे माेटर बाटाे पुगेकाे जग्गालाई मात्र ऋण दिँदा गरिब किसान मर्कामा परे’

 कात्तिक २६, २०७८ शुक्रबार १९:२५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सडकले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकार गर्न अर्थ मन्त्री जनार्दन शर्माले बैंकहरूलाई आग्रह गर्नुभएको छ । शुक्रवार मन्त्रालयमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सीईओ तथा प्रतिनिधिसँग देशकाे वर्तमान आर्थिक अवस्थाबारे भएको छलफलमा उहाँले त्यस्तो आग्रह गर्नुभएको हो ।

मन्त्री शर्माले बैंकहरूले कर्जा प्रवाह गर्दा मोटर बाटो पुगेको जग्गालाई मात्र धितोको रूपमा लिनाले गरिब किसानहरूले बैंकको ऋण नपाइरहेको बताउनुभयो । ‘ऋण दिन बैंकहरूलाई १० फिटे ठूलो मोटर बाटो चाहिन्छ’, उहाँले भन्नुभयो, ‘तपाईँहरू ओखर फल्ने जग्गासमेत धितो लिन मान्नुहुन्न । कृषि ऋणमा तपाईँहरूले कृषिमा आधारित धितो लिन सक्नुपर्‍याे ।’

मन्त्री शर्माले पछिल्लो समय बैंकहरूले कर्जा सीमा पूरा गर्न लागेको तर्फ सङ्केत गर्दै अब क्षेत्रगत कर्जा प्रवाहको अवस्था अध्ययन गर्नसमेत आग्रह गर्नुभयो । उहाँले ऋणीले कुन क्षेत्रमा कति लगानी गरेको छ भनेर बैंक आफैँले पनि अनुगमन गर्ने र त्यसको तथ्याङ्क अद्यावधिक गर्नुपर्ने बताउनुभयो । बैंकहरूले ऋणीको तथ्याङ्कलाई अद्यावधिक गरेमा ऋण प्रवाहमा समेत सहज हुने उहाँले बताउनुभयो । त्यस्तै बैंकहरूले कर्जा प्रवाह गर्न नसक्ने भएमा बैंककै अर्थ नहुने भन्दै राष्ट्र बैंकले समय अनुकूल नीतिमा परिमार्जन गरेर अघि बढ्नुपर्नेमा मन्त्री शर्माले जोड दिनुभयो ।

पछिल्लो समय बजारमा तरलता अभाव हुनुपर्ने गम्भीर र विशिष्ट कारण नभएको भन्दै मन्त्री शर्माले अहिले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । अहिले देखिएको तरलतालाई अल्पकालीन रूपमा सरकारी पुँजीगत खर्च बढाउने तथा वैदेशिक स्राेतकाे व्यवस्थापन गरेर गर्न सकिने समेत मन्त्री शर्माले बताउनुभयो । उहाँले उत्पादन क्षेत्रमा पुँजी परिचालन गरेर मात्र तरलताको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सकिने बताउनुभयो । ‘उत्पादन क्षेत्रमा पुँजी परिचालन गर्नेबित्तिकै धेरै समस्या समाधान हुन्छ’, उहाँले बैंकहरूलाई आग्रह गर्दै भन्नुभयो, ‘बैंकहरूले अनुत्पादक क्षेत्रहरूमा लोन दिन कडाइ गर्नुपर्‍याे । हामीले अहिले आयातमा केही कडाइ गरेका छौँ । त्यस्तै गरेर बैंकहरूले पनि कडाइ गरिदिनुपर्‍याे ।’

छलफलमा अर्थ सचिव मधुकुमार मरासिनीले बैंकहरूले भने जसरी पालिकाकाे रकम वाणिज्य बैंकमा स्थानान्तरण गरेर तरलता कम नहुने स्पष्ट पार्नुभयो । ‘पैसा एकैचोटि जाँदैन, तपाईँहरूले भन्नुभए जस्तो ठूलो रकम त्यहाँ छैन’, उहाँले भन्नुभयो, ‘तपाईँहरूले अनुत्पादक क्षेत्रमा दिने ऋण बन्द गरेर सहयोग गर्नुहोस्, तरलता समस्या कम भएर जान्छ ।’

यसैगरी नेपाल बैंकर्स सङ्घका अध्यक्ष तथा कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्यायले सरकारको पुँजीगत खर्च बढाएर बजारमा आएको तरलता अभावलाई समाधान गर्न सकिने सुझाव दिनुभयो । त्यस्तै उहाँले हुन्डी नियन्त्रण, वैदेशिक ऋण वा अनुदान चाँडो ल्याउने, पालिका तथा संस्थानहरूको रकम वाणिज्य बैंकमा शतप्रतिशत राख्नेलगायतका व्यवस्था गरे तत्काल तरलताको समस्या समाधान हुने बताउनुभयो । 

यसैगरी नबिल बैंकका सीईओ अनिल शाहले अनावश्यक वस्तुको आयात बन्द गरेर विदेशी मुद्रा सञ्चिति बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले चकलेटलगायतका वस्तुको आयात बन्द गरेर एउटै धारणा बनाइ अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो ।

मन्त्रालयमा भएको छलफलमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, वाणिज्य बैंकका सीईओ एवम् प्रतिनिधिहरू उपस्थित हुनुहुन्थ्यो ।  

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया