धेरै कमाउनेले धेरै र थाेरै कमाउनेले थाेरै कर तिर्ने व्यवस्था गर्नुपर्छ : मन्त्री शर्मा

 कात्तिक २८, २०७८ आइतबार १६:११:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्थ मन्त्री जनार्दन शर्माले समाजवाद उन्मुख अर्थतन्त्रका लागि ‘प्रगतिशील कर प्रणाली’ लागू गर्नुपर्नेमा मन्त्री शर्माले जोड दिनुभएकाे छ । आज आइतवार राजस्व प्रशासनसम्बन्धी अधिकृतस्तरीय सेवाकालीन तालिमको उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले यस्ता बताउनुभएकाे हाे । 

मन्त्री शर्माले व्यक्तिको कमाइका आधारमा कर सङ्कलन गर्नुपर्ने बताउनुभयो । कतिपय धनी र धेरै कमाउने व्यक्तिले थोरै कर तिरेको तर थोरै कमाउनेले धेरै कर तिर्ने गरेको गुनासो सुनिएको भन्दै मन्त्री शर्माले त्यसमा सुधार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । यस विषयमा प्रतिस्थापन विधेयकमार्फत व्यवस्था गर्न नसके पनि आउँदो बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन गरिने उहाँले बताउनुभयो ।

‘आउँदो बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन हुन्छ’, मन्त्री शर्माले भन्नुभयो, ‘हामीले कर बुझाउनलाई ताकेता गरिरहनुपर्ने अवस्था नहोस् । कर बुझाउन स्वयम् व्यक्ति आउने वातावरण र सजिलो व्यवस्था बनाउनुस् ।’

देशमा विभिन्न आन्दोलनबाट परिवर्तन आए पनि व्यवहारतः कार्यान्वयन गर्न सङ्क्रमणकालीन अवस्थामा सबैले आ–आफ्नो ठाउँबाट प्रतिबद्ध भएर लाग्न मन्त्री शर्माले आग्रहसमेत गर्नुभयो ।

देश बनाउन राजनीतिकर्मी, कर्मचारी र नागरिकले आ–आफ्नो ठाउँबाट प्रतिबद्ध भएर प्राप्त उपलब्धिको संरक्षण र सरकारको नीतिलाई कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो । 

कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री शर्माले समाजवाद उन्मुख अर्थतन्त्रबारे कर्मचारीले जान्नुपर्ने बताउनुभयाे । कस्तो राजस्व नीतिले समाजवाद उन्मुख अर्थतन्त्र हुन्छ भन्ने कुरा कर्मचारीले जान्नैपर्ने उहाँले बताउनुभएको हो ।

‘नेपालको संविधानले समाजवाद उन्मुख अर्थतन्त्र भनेको छ । समाजवादको कुरा गरेको छ । तपाईँहरूले के हो समाजवाद भनेर पढ्नुपर्‍याे, थाहा पाउनुपर्‍याे’, मन्त्री शर्माले तालिममा सहभागी अधिकृत कर्मचारीहरूलाई भन्नुभयो, ‘समाजवाद उन्मुख अर्थतन्त्रको विकास कसरी गर्न सकिन्छ भन्ने कुरा जान्नुपर्छ । कस्तो कर प्रणाली, कस्तो राजस्व नीति, कस्तो उत्पादनले समाजवाद उन्मुख अर्थतन्त्र विकास हुन्छ ? त्यो कुरा कर्मचारीहरूले जान्नुपर्छ । यो विषय पनि तालिममा सिकाइयोस् ।’

संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख अर्थतन्त्र कार्यान्वयनका लागि मन्त्री शर्माले जोड दिनुभएको हो । उहाँले नेपालको संविधान राजनीतिकर्मी, कर्मचारी, सर्वसाधारण सबै मिलेर ल्याएको परिवर्तन तथा उपलब्धि भएकाले त्यसको कार्यान्वयनका लागि कर्मचारी नै ‘फिल्ड’ मा रहेको स्मरण गराउनुभयो ।

मन्त्री शर्माले परम्परागत कार्यसम्पादन प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । प्रविधिको प्रयोगले कम जनशक्ति लाग्ने र पारिश्रमिकसमेत बढाउन सकिने उहाँले बताउनुभयो ।

आजदेखि सुरु भएको तालिम आउँदो पुस ९ गतेसम्म चल्नेछ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • राज बहादुर चन्द

    Nov. 15, 2021, 7:15 a.m.

    धेरै भ्रष्टाचार गर्नेले कति? भ्रष्टाचार नियन्त्रणका लागि के के कदम अगाडी सार्नु भयो मंत्री ज्यू ।

  •  0 Reply

तपाईको प्रतिक्रिया