बत्ती गइरहने भन्दै उपभाेक्ताबाट गाली खाएका छाैँ, सबस्टेशन र प्रसारण लाइनकाे काम छिटाे सकाैँ : घिसिङ

 कात्तिक २९, २०७८ सोमबार १३:३६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मा र अर्खाखाँचीको सन्धिखर्क नगरपालिकामा १३२/३३/११ केभी सबस्टेशनको निर्माण अन्तिम चरणमा पुगेको छ । कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस्टेशन क्रमश: आउँदाे १५ मङ्सिर र १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।

बुर्तिवाङ–पाउदी अमराई–तम्घास–सन्धिखर्क गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत मोतीपुर र सन्धिखर्क सबस्टेशनमा अन्तिम चरणका काम भइरहेको हो । 

सबस्टेशनमा ३० र १६ एमभीएका पावर ट्रान्सफर्मरहरू रहने छन् । सबस्टेशनका सबै उपकरणको जडान सम्पन्न गरी परीक्षण भइरहेको छ । पूर्व–पश्चिम १३२ केभी लाइनलाई आठ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेशनमा लगिने छ । यसका लागि टावर निर्माण गरिसकिएको छ भने तार तान्ने काम भइरहेको छ ।

आयोजना अन्तर्गतको मोतीपुर–सन्धिखर्क खण्डको प्रसारण लाइनमा पर्ने एक सय ६ वटा टावरको जग हालिएको छ जसमा ८७ वटा टावर खडा गरिएको छ भने १२ किलोमिटर तार टाँगिएकाे छ । यस खण्डको प्रसारण लाइनको लम्बाइ ६८ किलोमिटर छ । प्रसारण लाइनको निर्माण आउँदाे १५ पुसभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।

मोतीपुर–सन्धिखर्क प्रसारण लाइन र सबस्टेशनको निर्माण सम्पन्न भइ सञ्चालनमा आएपछि त्यहाँबाटै स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति गरिने छ । यसबाट कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी जिल्लाको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ । यसबाट विद्युतकाे प्राविधिक चुहावट पनि कम हुने छ । अहिले बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत अर्घार्खाँची, पाल्पा, गुल्मीमा विद्युत् आपूर्ति हुँदै आएको छ । 

३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प–झ्याप्प बत्ती जाने र भोल्टेजको समस्या छ । साथै प्राविधिक चुहावट पनि छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माेतीपुर सबस्टेशन र प्रसारण लाइन निर्माणस्थलको अनुगमन गरी तोकिएको समयभन्दा अगाडि नै काम सक्नुपर्ने बताउनुभयो ।

‘अर्घाखाँची, पाल्पा, गुल्मी जिल्लाबाट झ्याप्प–झ्याप्प बत्ती गएको भन्दै मलाई सिधै फोन गरी धेरै गुनासा आएका छन्, उपभोक्ताबाट गाली खाएका छौँ, त्यसैले सबस्टेशन र प्रसारण लाइनको निर्माण जतिसक्दो छिटाे सकेर उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् दिनुपर्छ ।’ उत्पादित विद्युत् देशभित्रै खपत गर्ने अभियानमा रहेको उल्लेख गर्दै घिसिङले सबस्टेशन र प्रसारण लाइनको निर्माणपछि यस क्षेत्रका उद्योगहरूलाई चाहिएजति बिजुली दिन सकिने बताउनुभयो ।

कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङ जिल्लाको विद्युत् आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाहका लागि आयोजनाको निर्माण गरिएको हो । आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी, अमराई र बाग्लुङको बुर्तिबाङमा सबस्टेशन निर्माणाधीन छन् । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया