कोराेना महामारीकाे बेला पनि नेपालमा कफीको निर्यात् उत्साहजनक

 कात्तिक ३०, २०७८ मंगलबार १४:४२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोराेना महामारीकाे बेलामा पनि नेपालमा कफीको निर्यात् उत्साहजनक रहेको एक तथ्यांकले देखाएको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५ करोड ७७ लाख रुपैयाँ बराबरको कफी निर्यात गरेको नेपालले आर्थिक वर्ष २०७७/७८ मा ९ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात् गरेको छ ।

तथ्यांकले कोराेना महामारीमा पनि नेपालमा यसको निर्यात् उत्साहजनक देखिएको पुष्टि गरेको हो । कोराेनाका कारण विश्व नै आर्थिक संकटमा परेको बेलामा पनि नेपालमा भने यसको निर्यात् करिब डेढ वर्षको बीचमा दोब्बर देखिएको भन्सार विभागको तथ्यांकले नै पुष्टि गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिनु भयो । १७ औं कफी दिवसको अवसर पारेर मंगलबार कीर्तिपुरमा पत्रकार सम्मेलन गरी उहाँले कोराेना कालमा पनि कफीको निर्यातमा देखिएको उत्साहले नेपालको समृद्धिमा पनि यसले महत्वपूर्ण योगदान पुर्याउन सक्ने देखिएको स्पष्ट पार्नु भयो ।

‘कफीको उत्पादन र उत्पादकत्व अत्यन्तै न्यून भए पनि विगत डेढ वर्षको सिनारियो हेर्दा विश्व कोभिडको चपेटामा छ । विश्व आर्थिक संकटमा परेको बेलामा पनि कफीले आर्थिक पाटोमा केही हदसम्म पोजेटिभ इन्डिकेशन गरेको देखिन्छ' कार्यकारी निर्देशक भट्टराईले भन्नु भयो, 'आर्थिक वर्ष २०७६/७७ को भन्सार विभागको डाटालाई हेर्दा ५ करोड ७७ लाखको कफी जो निर्यात भएको थियो भने २०७७/७८ को डाटालाई हेर्दा ९ करोड ६० लाखको कफी निर्यात भएको देखिन्छ । यसले के देखिन्छ भने कोभिडले विश्व चपेटामा परेको बेलामा पनि एक वर्षको डाटामा नेपालले कफीमा करिव दोब्बर निर्यात गरेको देखिन्छ ।’

बोर्डले आगामी आर्थिक वर्षदेखि ‘युवा लक्षित कफी विस्तार’ कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि गरेको छ । बोर्डका कार्यकारी निर्देशक भट्टराईले युवाहरुलाई रोजगारीको अवसर दिन र मुलुकको समृद्धिमा योगदान पुर्याउन पनि आगामी आर्थिक वर्षबाट याे कार्यक्रम सञ्चालन गर्ने योजना तय गरिएको बताउनु भयो ।

बोर्डले त्यसका लागि प्रदेश २ बाहेक अन्य ६ वटा प्रदेशहरुमा कफी खेतीको विस्तारका लागि आवश्यक नीतिगत योजना तय गरिएको पनि जनाएको छ । पत्रकार सम्मेलनमा मंसिर १ (भोलि)देखि लागू हुनेगरी कफीको मूल्य पनि सार्वजनिक गरेको छ । बोर्डका अनुसार किसानको लागत मूल्य र सरोकारवालाहरुको सुझावलाई आधार बनाएर यस वर्ष पनि कफीको मूल्य निर्धारण गरिएको हो ।

जसअनुसार फ्रेस चेरी ग्रेड ए कच्चा कफीको मूल्य प्रतिकेजी ९० रुपैयाँ तोकिएको बोर्डका कार्यकारी निर्देशक भट्टराईले बताउनुभयो । त्यसैगरी ग्रेड बी को सो कफीको प्रतिकेजी ८० रुपैयाँ मूल्य तोकिएको छ । पार्चमेन्ट ग्रेड ए कच्चा कफीको मूल्य प्रतिकेजी चार सय ५० रुपैयाँ र ग्रेड बी त्यही कफीको मूल्य तीन सय ९७ निर्धारण गरिएको छ । बोर्डले ड्राइचेरी ग्रेड ए कच्चा कफीको प्रतिकेजी मूल्य एक सय ४८ रुपैयाँ मूल्य तोकेको छ भने बी ग्रेडको त्यही कफीको प्रतिकेजी मूल्य ९५ रुपैयाँ निर्धारण गरेको छ ।

बोर्डले उत्पादन क्षेत्र र उत्पादकत्व बढाएर नेपालमा पनि माग अनुसार कफी आपूर्ति गर्ने योजना अघि सारेको छ । कार्यकारी निर्देशक भट्टराईले नेपाली कफीको आन्तरिक तथा बाह्य बजारमा ठूलो डिमान्ड रहेको उल्लेख गर्दै त्यही अनुसार यस क्षेत्रको विकासमा लागिपर्ने प्रतिवद्धता समेत जनाउनु भयो । नेपालमा मंसिर १ गते कफी दिवस मनाउने गरिन्छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया