नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत् चुहावटलाई घटाएर १४ दशमलव ३५ प्रतिशतमा झारेको छ ।
नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण गएकाे आवमा प्रणालीको १७ दशमलव १८ प्रतिशतको चुहावटलाई चालु आवको चार महिनामा २ दशमलव ८३ प्रतिशत बिन्दुले घटाएर १४ दशमलव ३५ प्रतिशतमा सीमित गर्न सफल भएको छ ।
कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९ दशमलव २४ प्रतिशत छ भने बाँकी प्रसारण तथा उत्पादनतर्फको हो । गएकाे वर्षको कात्तिकसम्म वितरणतर्फको चुहावट १२ दशमलव ०१ प्रतिशत थियो । गएकाे आवको चार महिनाको तुलनामा यस वर्ष वितरणतर्फको चुहावट २ दशमलव ७७ प्रतिशत बिन्दुले कम हो।
प्राधिकरणले चालु आवमा विद्युत् चुहावट १५ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आवको बाँकी अवधिमा लक्ष्य पूरा हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो
आव २०७२/७३ मा २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावटलाई घटाएर प्राधिकरणले आव २०७६/७७मा १५ दशमलव २५ प्रतिशतमा झारेको थियो । तर, आव २०७७/७८मा चुहावट १ दशमलव ९१ प्रतिशत बिन्दुले बढेर १७ दशमलव १८ प्रतिशत पुगेको थियो ।
कार्यकारी निर्देशक घिसिङले चुहावट नियन्त्रण अभियान प्रभावकारी रुपमा चलाइएको, सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको बताउनुभयो ।
उद्योगहरुमा विद्युत् आपूर्ति बढेको र चुहावट नियन्त्रण अभियानलाई अझै सशक्त तथा प्रभावकारी बनाएर चालु आवका लागि राखिएको लक्ष्यभन्दा चुहावटलाई तल झार्ने गरी काम अगाडि बढाइएको घिसिङले बताउनुभयो ।
‘गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइएको छ’, उहाँले भन्नुभयो ।
‘चोरी नियन्त्रण गर्दा कति ठाउँमा हाम्रा कर्मचारीमाथि आक्रमण भएको छ, यस्तो अवस्थामा पनि वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र दिनरात नभनी खटिएका कर्मचारी, गृह प्रशासनलगायत सबैको साथ र सहयोगमा चुहावट घटाउन सफल भएका छौँ।’
काठमाण्डौ उपत्यकामा जाडोमा र तराई क्षेत्रमा गर्मीमा चुहावट बढ्ने उल्लेख गर्दै घिसिङले प्राविधिक र गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि देशभर चालिएको अभियानलाई अझै सशक्त र प्रभावकारी बनाएर चालु आवको लक्ष्य हासिल गरिने बताउनुभयो ।
प्राधिकरण व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण, विद्युतीकरण र सेवाप्रवाह सुधारमा केन्द्रित रहेरप्राधिकरणका सात प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालयका प्रमुखहरु र मातहतका वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गर्ने छ ।
कार्यकारी निर्देशक घिसिङले थप्नुभयो,‘उपयुक्त ठाउँमा उपयुक्त व्यक्ति भन्ने अवधारणाका आधारमा जिम्मेवारी दिन सुरु गरिएको छ, ग्राहकलाई दिने सेवामा सुधार गर्न, ग्राहकलाई थप विद्युत् दिन, विद्युत् चुहावट नियन्त्रण, विद्युत् महसुल बक्यौता असुली, विद्युतीकरणलगायतलाई मुख्य मानक मानी ग्राहक तथा वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन गर्दैछौँ।'
यसबाट चुहावट नियन्त्रण, विद्युतीकरण, सेवा प्रवाह लगायतमा सुधार हुने अपेक्षा लिइएकाे उहाँले बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।