प्रधानन्यायाधीशकाे सम्पत्ति छानबिनकाे माग गर्दै डा. केसीसहितकाे टाेलीले ज्ञापन पत्र बुझायाे

 पुष ११, २०७८ आइतबार १५:१६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको सम्पत्ति छानबिनको माग गर्दै वृहत् नागरिक आन्दोलनका अगुवाहरूले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ज्ञापन पत्र बुझाएका छन् । 

आज आइतवार ललितपुरको पुल्चोकमा रहेकाे विभागको कार्यालय पुगेर महानिर्देशक प्रेमप्रसाद भट्टराईलाई वृहत् नागरिक आन्दोलनका अगुवा प्रा. डा. गोविन्द केसीसहितको टाेलीले प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । उनीहरूले प्रधानन्यायाधीश जबराले भाइ, श्रीमती, परिवारका अन्य सदस्य एवम् नातेदार, उहाँ निकट न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, व्यापारी एवम् पेसेवरहरूको सहयोगमा भ्रष्टाचार गरेको आरोपसमेत लगाएका छन् । 

प्रधानन्यायाधीश जबराले विशेष अदालतको न्यायाधीश हुँदा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको र त्याे रकम पत्नी रेजी राणाको नाममा २०६५ सालमा ठमेलमा रहेकाे कि.नं १०९ र ११० को जग्गा किनेको आरोपसमेत लगाइएको छ । ज्ञापन पत्र बुझाउँदै नागरिक आन्दोलनका अगुवासमेत रहनुभएका डा. केसीले शक्तिको आडमा जिम्मेवार पदाधिकारीको संरक्षणमा भ्रष्टाचारजन्य कार्यबाट अकूत सम्पत्ति आर्जन गरी अस्वाभाविक जीवनशैली देखाएका प्रधानन्यायाधीशको सम्पत्ति अपरादर्शी देखिएकाले छानबिनको माग गरेको बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबराले भ्रष्टाचार गरेको कुरा आम सञ्चारमाध्यमहरूमा आइरहेकोले नागरिक समाज चुप लागेर बस्न नसक्ने बताउनुभयो ।

ज्ञापन पत्र बुझाएपछि अधिवक्ता ओमप्रकाश अर्यालले विभागले यसको निचोड दिनुपर्ने बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबरामाथि लगाइएका आरोपहरू तथ्यपरक ढङ्गले र प्रचुर प्रमाणहरूसहित आइरहेकाले छानबिनको विकल्प नरहेको बताउनुभयो ।

प्रधानन्यायाधीश जबराको सम्पत्ति शुद्धीकरणको माग गर्दै कानुन व्यवसायी तथा नागरिक आन्दोलनका अगुवाहरूले विभागलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्र लिँदै विभागका महानिर्देशक भट्टराईले प्रधानन्यायाधीशविरुद्धको सम्पत्ति शुद्धीकरणको प्रक्रिया अघि बढ्ने बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया