जनताकाे मन जित्न नेतामा इमानदारिता, निष्ठा र समर्पण चाहिन्छ : अध्यक्ष नेपाल

 पुष १३, २०७८ मंगलबार १७:२२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एउटा नेताका लागि इमानदारिता, निष्ठा र समर्पण नै आवश्यक र उचित रहेकाे बताउनुभएकाे छ । आज मङ्गलवार काठमाण्डाैमा भएको नेकपा (एकीकृत समाजवादी) र नेकपा जनवादीबीच पार्टी एकीकरणको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले जनताको मन जित्न नेताहरूले यी काममा ध्यान दिनुपर्ने बताउनुभयाे ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘इमानदारिता, निष्ठा र समर्पण नै प्रमुख कुरा हो । यी कुरा छन् भने तपाईँले जनताको मन जित्न सक्नुहुनेछ । तर मान्छे निष्ठाबाट बिचलित हुने गर्दछ, त्यो मान्छेमा इमानदारिता हराएर जाँदो रहेछ । त्यही मानिसमा समर्पित हुने भावना समाप्त हुँदो रहेछ । ऊ व्यक्तिवादको सिकार हुन्छ । म भन्ने घमण्ड आउँछ, मबाट कहाँ आउँछ ? बा भन्ने आउँछ । त्यो म नै बा हो । हामी त्यस्ता प्रवृत्तिका विरोधी हौँ । यस अर्थमा इमानदारिता, निष्ठा र समर्पणको भावना अघि सारौँ ।’

कार्यक्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई अरू सरकारभन्दा यो सरकार फरक हुनुपर्ने कुरा राखेको र देशका प्राथमिकता र नीति बनाउने कुरामा विज्ञसँग सुझाव लिन सुझाएको बताउनुभयो । देश विकास गर्नका लागि आफैँ अघि सरेर काम गर्न तयार रहेको भन्दै समस्याको समाधान गर्ने कुरामा आफू प्रतिबद्ध रहेको अध्यक्ष नेपालकाे भनाइ छ । उहाँले वंशाणुगत तानाशाही प्रवृत्ति सकिए पनि व्यक्तिगत तानाशाही प्रवृत्ति देशमा हाबी भइरहको भन्दै यो सह्य नहुने बताउनुभयो ।

अध्यक्ष नेपालले सरकारले व्यवहारमा प्रयोग गर्ने योजना र प्राथमिकता तय गर्न नसकेको बताउनुभयो । उहाँले सुदूरपश्चिमको प्रदेश सभामा एक नम्बर पार्टीको रूपमा नेकपा समाजवादी स्थापित भएको दाबीसमेत गर्नुभयो । अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा कसैले पनि आफ्नो पार्टीलाई बेवास्ता गर्न नसक्ने बताउँदै युवाहरूले देशमा आफूलाई योग्य र सक्षम देखाउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा उहाँले उद्यमी युवाहरूलाई सरकारले प्रोत्साहन दिनुपर्ने बताउनुभयाे । सरकारले उद्यमशीलताको विकास र उत्पादनको क्षमता नबढाउँदा मानिसहरूमा आत्मविश्वास बढ्न नसकेको उहाँकाे भनाइ छ ।

अध्यक्ष नेपालले दलाल पुँजीको दबदबा बढिरहेकाले देशमा मेहनत नगरिकन पैसा कमाउने प्रवृत्ति, रातारात अर्बपति बन्ने चाहना र अरूलाई लुटेर कमाउने प्रवृत्ति हुर्किरहेको भन्दै त्यस्ता प्रवृत्तिलाई समाप्त पार्नुपर्ने बताउनुभयो । उहाँले शासन सञ्चालनको तरिकामा सुधार गर्नुपर्ने भन्दै केन्द्रीय सरकारले प्रादेशिक र प्रदेश सरकारले पालिका सरकारका काम कारबाहीमा निगरानी राख्न आवश्यक रहेको बताउनुभयो । उहाँले पार्टीले पनि आफ्ना कार्यकर्ताहरूले कसरी काम गरिहरेका छन् भनेर अनुगमन गर्नुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया