माओवादीमा नेतृत्व छान्न चुनाव कि सर्वसम्मति, के भन्छन् प्रतिनिधि ?

‘पार्टीभित्र चुनावकाे संस्कार विकसित भइसकेकाे छैन’

 पुष १८, २०७८ आइतबार १३:५३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मति रूपमा नेतृत्व छान्नुपर्नेमा प्रतिनिधिहरूले जोड दिएका छन् । 

यही पुस ११ गतेदेखि चलिरहेकाे माओवादी केन्द्रको महाधिवेशनको बन्द सत्र जारी छ । हिजाे शनिवारदेखि नेतृत्व छान्नका लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरे पनि एकाएक कार्यतालिकाअनुसारको प्रक्रिया रोकी सहमतिमा पार्टी केन्द्रीय कमिटी घोषणाका लागि छलफल अगाडि बढाइएको छ । चुनावी प्रक्रियाबाट सिङ्गो केन्द्रीय कमिटी र पार्टी नेतृत्व छान्नुपर्ने मत बन्द सत्रमा उठेको भए पनि बढीभन्दा बढी प्रतिनिधिले भने पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनका लागि सर्वसम्मत नेतृत्व छान्नुपर्ने बताएका छन् ।

महाधिवेशनका प्रतिनिधि चक्रपाणि शर्मा सर्वसम्मतिमा नेतृत्व छान्ने पार्टीले निर्णय गरेमा स्वीकार गर्नुपर्ने बताउनुहुन्छ । पार्टीभन्दा बाहिर गएर नहुने भन्दै पार्टीले छलफल गरेरै टुङ्ग्याउने उहाँले बताउनुभयो ।

प्रतिनिधि डा. कृष्णप्रसाद खनाल माओवादी पार्टीभित्र चुनावको संस्कार विकसित नभएको अवस्थामा सर्वसम्मत कमिटी निर्माण गर्नुपर्ने बताउनुहुन्छ । पार्टीले सङ्गठित रूपमा आकार नलिइरहेको अवस्थामा चुनाव गर्न नहुने पक्षमा उहाँको मत छ । चुनाव गराउनु भनेको गुटबन्दीको सिर्जना गर्नु हुने उहाँको तर्क छ ।

प्रतिनिधि लीलाधर खनाल भने प्रतिस्पर्धा भएमा पार्टी स्वच्छ र बलियाे बन्ने बताउनुहुन्छ । प्रतिस्पर्धाबाट आएमा नेताहरूले आफ्नो क्षमता देखाएर अगाडि बढ्न सक्ने उहाँले बताउनुभयो ।

त्यसैगरी प्रतिनिधि परशुराम रिमालले पार्टीले चुनाव नै गरे पनि विद्यमान प्रणालीभन्दा फरक प्रकारको जनवादी चुनावको अभ्यास गर्नुपर्ने बताउनुभयो । अहिले माओवादी केन्द्रको कार्यकर्तामा चुनावमा जाने खालको चेतना नभएको भन्दै उहाँले चुनाव गरे पार्टी नबन्ने बताउनुभयो । सहमति, सहकार्यबाट मात्रै पार्टी गतिलो बन्ने उहाँकाे भनाइ छ । 

अर्का प्रतिनिधि वीरबहादुर रायमाझी पार्टीमा सक्रिय र इमानदार कार्यकर्ताले ठाउँ पाउनुपर्ने बताउनुहुन्छ । चुनाव भएमा पैसावाल मान्छेहरूको हालीमुहाली हुने भएकाले चुनाव गर्न नहुने उहाँको भनाइ छ । चुनावी प्रणालीलाई नमान्ने उहाँ बताउनुहुन्छ ।

प्रतिनिधि टेकनाथ न्यौपाने पनि चुनावको लडाइँ भन्दा पार्टीलाई सर्वसम्मत रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुहुन्छ । उहाँले चुनावलाई केवल जित र हारको संज्ञा दिँदै सर्वसम्मतिमा कसैले जित्ने–हार्ने नहुने टिप्पणी गर्नुभयो । पार्टीलाई बलियो बनाउन चुनावको विकल्प खोज्नुपर्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया