विपिन जोशीको रिहाइको अपिल गर्ने कुरालाई प्राथमिकतामा राखेको...
माघ १, २०८१ मंगलबार
काठमाण्डाै – सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले सरकारले तत्काल उखु किसानको बक्यौता रकम भुक्तानी नगरे माइतीघर मण्डलामा आमरण अनशन बस्ने चेतावनी दिनुभएको छ ।सांसद मोदीले उखु किसानले पटक–पटक आन्दोलन गर्दा पनि सरकारले उनीहरूलाई भुक्तानी नदिएको भन्दै अब आफैँ आमरण अनशनमा बसेर भुक्तानी दिलाइ छाड्ने अठोटसमेत व्यक्त गर्नुभयो ।
आज मङ्गलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले उखु किसानको भुक्तानीको समस्या तत्काल समाधान नभए सांसदहरू आफैँले आन्दोलन गरेर सरकारलाई घुँडा टेकाउने बताउनुभयो । सांसद मोदीले उखु किसानको भुक्तानी दिलाउने गरी आवश्यक मोडल बनाउन सरकारलाई कुनै समस्या नरहेको पनि बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘अब किसानहरूले आन्दोलन गर्नुपर्दैन । हामी आन्दोलन गर्छाैँ माइतीघर मण्डलामा । अनशन हामी बस्छौँ । हामी आमरण अनशन बसेर पनि, आन्दोलन गरेर पनि सरकारलाई घुँडा टेकाउँछौँ ।’
बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले उखु किसानको भुक्तानी तत्काल गर्न सरकारलाई सचेत गराउनुभयो । उहाँले कुनै पनि किसानले फेरि आन्दोलन गर्नु नगर्ने गरी सरकारले उनीहरूको समस्या समाधान गर्न ढिलाइ गर्न नहुने बताउनुभयाे ।
नेकपा (माओवादी केन्द्र) की अर्का सांसद धर्मशीला चापागाईँले समितिले पटक–पटक उखु किसानको भुक्तानी गर्न दिएको निर्देशन सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले सरकारले किन उखु किसानलाई भुक्तानी दिन नसकेको ? भनी पटक–पटक प्रश्नसमेत गर्नुभयो ।
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले मन्त्रालयले उखु किसानको भुक्तानीका लागि प्रयास गरिरहेको बताउनुभयो । झन्डै एक अर्ब ७० करोड बक्याैता भएकाेमा मन्त्रालयले झन्डै आठ करोडमा झारेको पनि उहाँले समितिलाई जानकारी गराउनुभयो ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द्रप्रसाद शर्माले उद्योगहरूको दायित्वमा रहेको उखु किसानलाई दिने भुक्तानी सरकारले दिन नमिल्ने बताउनुभयो । उहाँले ती समस्या समाधानका लागि सरकार लागिपरेको पनि बताउनुभयो ।
अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुस्करले उखु किसानको समस्या समाधानका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले कृषि क्षेत्रको विकासमा लगानी बढाउन अर्थ मन्त्रालयले आवश्यक बजेटको व्यवस्था गर्ने बताउनुभयो ।
सचिव पुस्करले उखु किसानको भुक्तानीको समस्या समाधानका लागि उद्योग र कृषि मन्त्रालयसँग छलफल भइरहेको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।