ओलीले राष्ट्रिय सभा चुनावमा कसरी हार स्वीकार गरे हाेला ? : अध्यक्ष नेपाल

 पुष २३, २०७८ शुक्रबार १६:२१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा चुनावमा हार स्वीकार गरिसकेको बताउनुभएको छ । 

पार्टीको काठमाण्डाै महानगर कमिटीले आज शुक्रवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रिय सभाको चुनावमा ओलीले आफ्नाे पार्टीकाे हार स्वीकार गरेको बताउनुभएको हो । एमाले अध्यक्ष ओलीले आज पार्टीकाे जिल्ला अधिवेशन उद्घाटनका क्रममा ‘राष्ट्रिय सभा चुनावका परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने’ बताउनुभएको थियो । त्यही भनाइलाई उद्धृत गर्दै अध्यक्ष नेपालले ओलीले आफ्नो दम्भी स्वभाव विपरीत राष्ट्रिय सभाको चुनावमा आफ्नो पार्टीको पराजय निश्चित छ भनेर भाषणमै स्वीकार गरेको टिप्पणी गर्नुभयो ।

अध्यक्ष नेपालले भन्नुभयाे, ‘आज तपाईँहरूले सुन्नुभएको होला केपी ओलीको एउटा भाषण । त्यो भाषणमा राष्ट्रिय सभाको चुनावमा हाम्रो पराजय निश्चित छ भनेर स्वीकार गरिएको छ । सुन्नुभयो, हैन ? हार स्वीकार गरेका छन् । तर कसरी स्वीकार गरे होला ? त्यो दम्भी स्वभावले त दिँदैन । त्यो स्वभाव कस्तो छ भन्दा नयाँ नेतृत्व विकास गर्नै नदिने ।’ 

उहाँले ओलीले देशभर एकसाथ जिल्ला अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोपसमेत लगाउनुभयो । जिल्ला–जिल्लामा गरेको भए नेताहरू जाने, सम्बोधन गर्ने अवसर हुने र त्यसले नेतृत्व स्थापित हुने अध्यक्ष नेपालको भनाइ थियो । तर त्यो पद्धति ओली समूहमा नरहेको उहाँले बताउनुभयो । अध्यक्ष नेपालले ओलीसँग आलोचनात्मक चेत भएका, सिद्धान्तनिष्ट कार्यकर्ता नभएको दाबी पनि गर्नुभयो ।

उहाँले ओलीसँग देवत्वकरण गर्ने मानिसहरू मात्रै रहेको र अन्य मानिसहरू विद्रोह गरेर आफ्नो पार्टीमा प्रवेश गरिरहेको दोहोर्‍याउनुभयो । 

अध्यक्ष नेपालले जनताकाे जीवन परिवर्तन गर्नका लागि आफ्नो पार्टी स्थापना गरेको बताउनुभयो । उहाँले जनताको जीवनमा परिवर्तन ल्याउने गरी आचरण र व्यवहार देखाउन पनि पार्टीका नेता/कार्यकर्तालाई निर्देशन दिनुभयो । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया