सबै पार्टीहरुले आ–आफ्नो ठाउँबाट काेराेना रोकथामको लागि प्रयास गर्नुपर्छ : प्रधानमन्त्री देउवा

 माघ १, २०७८ शनिबार १४:१७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले कोराेनाको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणका लागि सबै पार्टी एकजुट हुनुपर्ने बताउनुभएको छ । 

प्रधानमन्त्री देउवाले तेरो पार्टी, मेरो पार्टी भन्दा पनि राष्ट्र नै एकजुट भएर कोराेना संक्रमण नियन्त्रणका लागि लाग्नुपर्ने बताउनुभएको हो । शनिबार आफ्नै सरकारी निवास बालुवाटार पुगेका एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङ नेतृत्वको टोलीको ज्ञापनपत्र बुझ्दै उहाँले कोराेनाको नयाँ लहरले ल्याएको नयाँ चुनौतीको सामना गरेर अघि बढ्न सबै राजनीतिक दलहरुले आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । प्रधानमन्त्री देउवाले यो महामारीको नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमलाई बढी जोड दिएर अघि बढाउनुपर्ने पनि स्पष्ट पार्नु भयो ।

‘कोराेनाको नयाँ भेरियन्ट ओमिक्रोनको नयाँ चुनौती आएको छ । यसको मुकाविला सबै लागेर गर्नुपर्छ । तेरो पार्टी, मेरो पार्टी भन्दा पनि, राष्ट्र नै यसको लागि एक भएर जानुपर्छ । यसका लागि अर्को महत्वपूर्ण कुरा ‘अवेरनस’ हाे । जनतालाई बुझाउनुपर्ने कार्यक्रम राख्नुपर्छ' उहाँले भन्नुभयाे, 'हामीले यसका लागि ‘अवेरनेस प्रोग्राम’ मार्फत जनतालाई भन्नु पर्छ, जनतालाई सम्झाउनुपर्छ । हामी सबै पार्टीहरुले आ–आफ्नो ठाउँबाट यसको रोकथामको लागि प्रयास गर्नुपर्छ ।’

प्रधानमन्त्री देउवाले सरकारले कोराेनाको नयाँ भेरियन्ट ओमिक्रोनको चुनौती सामना गर्न सक्दो कोसिस गरिरहेको पनि बताउनु भयो ।

यता, एमालेले भने आफ्नो पार्टी नेतृत्वको सरकारले व्यवस्था गरेको कोराेनाविरुद्धको खोपको समेत प्रभावकारी परिचालन गर्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ । त्यसैगरी एमालेले बालिबालिका, गर्भवती, वृद्धवृद्धा, असक्तहरुलाई घरघरमै सो खोपको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ । एमालेका सचिव एवम् स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेशकुमार भट्टराईले याे महामारी नियन्त्रणका लागि स्थानीय तह र स्थानीय स्वास्थ्य ईकाईसम्म स्रोतसाधन र जनशक्ति पर्याप्त मात्रामा उपलब्ध गराउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताउनु भयो ।

यस्तै एमालेले ज्ञापन पत्रमार्फत् कोराेना नियन्त्रणका लागि थप जनशक्ति परिचालन गर्न, संक्रमितहरुको उपचारका लागि आवश्यक अस्पताल, होल्डिङ सेन्टर, औषधिको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको छ । सचिव भट्टराईले यो महामारी नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रममा जोड दिन पनि सरकारको ध्यानाकर्षण गराइएको बताउनु भयो ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया