कृषि क्षेत्रमा कम्तीमा दुई गुणा लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई अर्थमन्त्रीकाे आग्रह

 माघ १०, २०७८ सोमबार १७:२८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री जनार्दन शर्मा 'प्रभाकर' ले राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गर्नुभएको छ । आज सोमवार भर्चुअल माध्यमबाट भएको बैंकको ५७ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले बैंकलाई कृषि क्षेत्रमा कम्तीमा दुई गुणा लगानी बढाउन आग्रह गर्नुभएको हो । 

‘यो ५७ औँ वार्षिकोत्सव समारोह सँगसँगै बन्ने नयाँ कार्यक्रममा यहाँहरूले आफ्नो ११ प्रतिशत कृषि क्षेत्रको लगानी, पाँच प्रतिशत पर्यटन र पाँच प्रतिशत औद्यागिक क्षेत्रको लगानीलाई अवश्य पनि वृद्धि गर्नुहुनेछ’, उहाँले भन्नुभयो, ‘यसलाई सकेसम्म दुई गुणा वृद्धि गर्नुहुनेछ । जसबाट राष्ट्रिय पुँजी निर्माण, उत्पादन तथा रोजगारीमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।’ उहाँले सरकारको नीति पनि उत्पादनमुखी क्षेत्रको लगानीमा केन्द्रित रहेको स्मरण गराउनुहुँदै लगानी त्यसमा बढाउन आग्रह गर्नुभएको हो ।

मन्त्री शर्माले आत्मनिर्भर हुनका लागि लगानी अति आवश्यक रहेको बताउनुहुँदै बैंकले वैदेशिक ऋण भित्र्याउन गरिरहेको प्रयासमा सरकारले सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले राष्ट्रिय वाणिज्य बैंक सरकारी वित्तीय संस्था भएकाले यसले मोडेलको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । ‘निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रको त्रिपक्षीय साझेदारीमा देशको अर्थतन्त्रलाई विकास गर्ने हाम्रो मुख्य रणनीति हो’, मन्त्री शर्माले भन्नुभयो, ‘यो रणनीतिमा रहेर यस बैंकले वित्तीय क्षेत्रमा एउटा मोडल स्थापित गर्नुपर्छ ।’ उहाँले बैंकले मोडेल स्थापित गरेर अन्य वित्तीय संस्थाहरूलाई पनि शिक्षा दिन सक्नुपर्ने बताउनुभएको हो ।

अहिले प्रविधिको युग रहेको बताउनुहुँदै मन्त्री शर्माले बैंकले सुरु गरेको ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा’ (यूएसएसडी) प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । यसले इन्टरनेट नभएको ठाउँमा पनि मोबाइल बैंकिङको लाभ ग्राहकले लिनसक्नेमा विश्वास व्यक्त गर्नुभयो । त्यस्तै उहाँले यो प्रविधिबाट वित्तीय साक्षरता तथा वित्तीय पहुँच वृद्धि हुनेमा पनि विश्वास व्यक्त गर्नुभयो ।

बैंकको वार्षिकोत्सवका अवसरमा मन्त्री शर्माले यूएसएसडी सेवाको उद्घाटन तथा 'उपहार' पुस्तकको लोकार्पणसमेत गर्नुभएको थियो । बैंक २०२२ साल माघ १० गते स्थापना भएको थियो । अहिले यसले देशभरका दुई सय ५८ शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया