विद्यार्थीले चाहेका बेला विश्वविद्यालयले परीक्षाकाे नतिजा दिन सक्नुपर्छ : शिक्षामन्त्री पाैडेल

 माघ ११, २०७८ मंगलबार १४:३६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकी रहेका विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिनुभएको छ । 

त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाइ भइरहेको गुनासो आइरहेका बेला मन्त्री पौडेलले बाँकी रहेका विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरूलाई निर्देशन दिनुभएको हो । 

आज मङ्गलवार बल्खुमा रहेकाे परीक्षा नियन्त्रण कार्यालयको अनुगमन गर्न पुग्नुभएका उहाँले विद्यार्थीले चाहेका बेलामा नतिजा प्रकाशित गर्ने व्यवस्था अपनाउन पनि त्यहाँका पदाधिकारीहरूलाई सचेत गराउनुभयो । मन्त्री पौडेलले परीक्षा नियन्त्रण कार्यालयको प्रणालीमा सुधार गर्न आफू तयार रहेको तर जनशक्तिकै अभाव देखाएर परीक्षाको नतिजा प्रकाशित गर्ने काममा ढिलाइ गर्न नहुने स्पष्ट पार्नुभयो । 'फास्ट ट्र्याक' को विधि अपनाएर भए पनि परीक्षाको नतिजा प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालयले ढिलाइ गर्न नहुने उहाँको भनाइ थियो ।

मन्त्री पौडेलले भन्नुभयो, ‘जेसुकै तर्क गरे पनि रिजल्ट ढिलो भएको कुरा प्रमाणित छ । जनशक्ति कम भएको हुँदा काममा ढिलाइ भएको यहाँका कर्मचारीहरूले भनेका छन् । यसलाई सुधार्ने प्रसङ्गमा अर्को प्रणाली अपनाऔँला तर अहिले नै भएको जनशक्तिबाट छिटोभन्दा छिटो रिजल्ट निकाल्ने काम अघि बढाउनुस् भनेका छौँ । विद्यार्थीको गुनासो अनुसार कर्मचारी पुगेन, प्रणाली पुगेन भन्ने कुराले मिल्दैन । विद्यार्थीले चाहेका बेलामा रिजल्ट दिन सक्नुपर्छ विश्वविद्यालयले । त्यो व्यवस्था गर्नुस् भनेको छु ।’

परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावका कारण परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाइ भएको जवाफ मन्त्री पौडेललाई दिनुभएको थियो । उहाँले जनशक्तिको अभाव र विश्वविद्यालय अन्तर्गतका विद्यार्थीको सङ्ख्या बढी भएकाले परीक्षाको नतिजा प्रकशित गर्ने काममा ढिलाइ हुन गएको कुरा आफूले मन्त्री पौडेललाई जानकारी गराएको बताउनुभयो ।

मन्त्री पौडेलले परीक्षा नियन्त्रण कार्यालयका सबै शाखाको अनुगमन गरी त्यहाँका कर्मचारीहरूको गुनासो सुन्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयको परीक्षाबारे धेरै गुनासो बाहिर आएपछि आफू अनुगमनमा आएको मन्त्री पौडेलले बताउनुभयो । उहाँले यस विश्वविद्यालयको समग्र पुनर्संरचना गरेर अघि बढ्नुपर्ने योजना सुनाउँदै त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छिट्टै परामर्श गरेर अघि बढ्ने पनि बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया