बैंकहरुको नाफासँगै आधार दर पनि बढ्यो

 माघ १२, २०७८ बुधबार ८:२०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वाणिज्य बैंकहरुको नाफासँगै आधार दर बढेको छ । बैंकहरुले प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार आधार दर अघिल्लो वर्षको तुलनामा १ दशमलव १६ प्रतिशत बिन्दुले बढेको छ । तरलता अभावको कारण बैंकहरुले निक्षेपको ब्याजदर बढाउँदा लागत बढेको छ । यसले गर्दा आधार दर पनि बढेको हो ।

सिभिल बैंकको आधार दर सबैभन्दा धेरै ९ दशमलव ७४ प्रतिशत कायम भएको छ । एनआइसी एसिया बैंकको आधार दर ९ दशमलव ४४ प्रतिशत, एनसीसी बैंकको ९ दशमलव १५ प्रतिशत र सिटिजन्स बैंकको ९ दशमलव ८ प्रतिशत तथा अरु बैंकको भने ९ प्रतिशतभन्दा कम छ । 

बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर अर्थात बेस रेट हो । बेस रेटमा शून्यदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरुले ब्याजदर तोक्ने गर्छन् ।  आधार दर भन्दा बढी कुनै पनि बैंक तथा वित्तीय संस्थाले ब्याजदर लिन पाउँदैनन् ।

नाफा १० प्रतिशत बढ्यो

यस अवधिमा वाणिज्य बैंकहरुको नाफा पनि बढेको छ । गएको आर्थिक वर्षको यही अवधिको तुलनामा बैंकहरुको खुद नाफा १० दशमलव १० प्रतिशतले बढेको हो । गएको आर्थिक वर्षको पुस मसान्तसम्ममा ३१ अर्ब ७ करोड ३२ लाख रुपैयाँ नाफा कमाएका बैंकहरुले चालु आर्थिक वर्षको यही अवधिसम्ममा कुल ३४ अर्ब २१ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

सबैभन्दा बढी नाफा ग्लोबल आइएमई बैंकले गरेको छ । यो  बैंकले पुस मसान्तसम्ममा २ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गएको आर्थिक वर्षको यसै अवधिको तुलनामा १५ दशमलव ०४ प्रतिशत बढी हो । २७ वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम नाफा सिभिल बैंकको रहेको छ । सिभिल बैंकले यस अवधिसम्ममा ५० करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

पुस मसान्तसम्ममा ग्लोबल आईएमई बैंकले २ अर्ब ६६ करोड, एनआईसी एसियाले २ अर्ब ४० करोड र नबिल बैंकले २ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । 
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया