खानी विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

 माघ १२, २०७८ बुधबार १६:४७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

खनिज पदार्थ उत्खननमा अनियमितता गरेको आरोपमा विभागका महानिर्देशक र उपमहानिर्देशक तथा नाै वटा कम्पनीका सञ्चालकसहित १८ जनाविरुद्ध एक अर्ब २४ करोड ४५ लाख रुपैयाँभन्दा बढी रकम बिगोसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

खानी तथा चुनढुङ्गा दोहन प्रकरणमा मिलेमतो गरी सरकारी राजस्व हिनामिना गरेको आरोप उनीहरूलाई छ । २०७४ सालमा खानी तथा चुनढुङ्गा उद्योगहरूले दोहन गरेको आरोप लागेको थियो । चुनढुङ्गा उद्योगीहरूले कानुनसम्मत रूपमा तिर्नुपर्ने जरिबानालगायत नतिराइकन उन्मुक्ति दिएको आरोप लागेपछि अनुसन्धान सुरु भएको थियो ।  

यस मुद्दामा विभागका महानिर्देशक घिमिरे र उपमहानिर्देशक जयराज घिमिरे, उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, सिनियर डिभिजन मेकानिकल इन्जिनियर प्रशान्त बोहरा, धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत वसन्त अधिकारी र भूगर्भविद् सौनक भण्डारीलाई प्रतिवादी बनाइएको छ ।

यस्तै सर्वोत्तम सिमेन्टका सञ्चालक विष्णु न्यौपानेविरुद्ध १६ करोड ३१ लाख रुपैयाँ, सिद्दार्थ मिनरल्सका सञ्चालक पशुपति मुरारकाविरुद्ध ४९ करोड ४५ लाख रुपैयाँ, मारुती सिमेन्टका सञ्चालक शरद गोयलविरुद्ध २० करोड ५० लाख रुपैयाँ, अन्नपूर्ण क्वेरिजका सञ्चालक ऋषि अग्रवालविरुद्ध ११ करोड १७ लाख रुपैयाँ बिगाे मागदाबी गरेर अख्तियारले मुद्दा दायर गरेकाे छ ।

साथै उदयपुर मिनरल्स टेकका प्रवलजङ्ग पाण्डेविरुद्ध एक करोड ७९ लाख रुपैयाँ, युनाइटेड सिमेन्टका नरेश दुगडविरुद्ध नाै करोड ६९ लाख रुपैयाँ, सोनापुर सिमेन्टका निपेश तायलविरुद्ध ६ करोड ९८ लाख रुपैयाँ, कञ्चन क्वेरिजका भीमबहादुर थापा क्षेत्रीविरुद्ध तीन करोड आठ लाख रुपैयाँ र डोलामाइट चुनढुङ्गा उद्योगका मानबहादुर श्रेष्ठविरुद्ध पाँच करोड ४३ लाख रुपैयाँ बिगो मागदाबी गरेर मुद्दा दायर गरिएको छ । 

अन्तिम अपडेट: फागुन ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया