कन्सुलर सेवा विभागले श्रमिकको समस्या सुन्न निःशुल्क टेलिफोन र कन्सुलर एप ल्याउने

 फागुन ४, २०७८ बुधबार १६:२७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कन्सुलर सेवा विभागले श्रमिक र उनीहरूको परिवारको समस्या सुन्न र समाधानका उपाय सुझाउन निःशुल्क टेलिफोन सेवा सञ्चालन गर्ने भएको छ । 

विभागले फागुन १ गतेदेखि त्रिपुरेस्वरस्थित कार्यालयबाट सेवा दिन थालेको र अबको केही दिनभित्रै ११५२ नम्बरको निःशुल्क टेलिफोन सेवा सञ्चालन गर्ने विभागका महानिर्देशक धनबहादुर वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो नम्बरमा देशभरिबाट निःशुल्क फोन गर्न सकिन्छ । समस्यामा परेका व्यक्ति र उनीहरूका परिवारले यो नम्बरमा फोन गरेर आफ्नो समस्या राख्न सक्छन् । फोनमार्फत नै गर्नु पर्ने प्रक्रिया आवश्यक कागजात र विभागले गर्ने सहयोग बारे जानकारी गराइन्छ ।

अहिले श्रमिक र उनीहरूका परिवारले कन्सुलर सेवा विभागको वेबसाइटमार्फत पनि आफूलाई परेको समस्या समाधानका लागि निवेदन दिन सकिन्छ । वेबसाइटबाटै आफ्नो निवेदन उपर के भइरहेको छ भनेर हेर्न सक्छन् । 

यस्तै विभागले छिट्टै कन्सुलर एप पनि ल्याउने भएको छ । यो एपबाट पनि वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनीहरूका परिवारले आफूलाई परेको समस्या राख्न, समस्या समाधानका लागि भइरहेको पहल लगायतका जानकारी एपबाटै लिन सक्ने विभागका महानिर्देशक वलीले जानकारी दिनुभयो ।

‘यो एपले सेवाग्राहीलाई सेवा लिन कन्सुलर सेवा विभागसम्म धाउन नपर्ने अवस्थाको सृजना गर्छ भन्ने विश्वास लिएका छौँ, यो एप सहज पनि छ’ उहाँले भन्नुभयो । 

आफ्नो देशका नागरिक अर्को देशमा जाँदा उनीहरूले पाउने सुविधा, कानुनी उपचार, उनीहरूको स्ट्याटस र आइपर्ने समस्याहरूका समग्र विषयलाई एक देशले अर्को देशमा कस्तो सेवा दिने, कुन प्रकारले व्यवहार गर्ने, कुन हैसियतमा राख्ने भन्ने कुराहरू कन्सुलर सेवा अन्तर्गत पर्छन् । 

कागजात प्रमाणीकरण र उद्धारको काम गरी कन्सुलर सेवा विभागले मुख्यता दुई प्रकारका काम गर्छ ।  कुनै पनि नागरिक जब विभिन्न प्रयोजन जस्तो, अध्ययन गर्न, व्यवसाय गर्न, घुमफिर गर्न, उपचार गर्न वा रोजगारीका लागि विदेश जान्छन् त्यस बेला आवश्यक पर्ने कागजातहरूको प्रस्तुतिका लागि नेपालका कुनै पनि निकायबाट जारी गरिएका कागजातलाई नेपालका आधिकारिक कागजात हुन् भनी प्रमाणीकरण गर्ने काम कन्सुलर सेवा विभागले गर्छ । 

यस्तै विदेशमा रहेका नेपालीहरू ठगीमा परेमा, नै कसुरमा जेल परेमा, घाइते भएमा, मृत्यु भएमा त्यस्तो बेला पनि कन्सुलर सेवा विभागले सहयोग गर्छ । 

श्रमिक आफ्नो कार्यक्षेत्रमा हुँदा उसलाई समस्या परेमा व्यक्ति आफैले वा उसका परिवारले उद्धार गरिपाऊँ भनी विभागमा निवेदन दिएमा त्यसको कानुनी रूपमा प्रमाणीकरण गरी सम्बन्धित देशमा रहेको नेपाली दूतावाससँग समन्वय गरी उद्धार तथा क्षतिपूर्ति दिलाउन पनि कन्सुलर सेवा विभागले सहयोग गर्छ । 

अहिले विभागले यी सबै सेवा पालिकाबाटै प्रदान गर्ने गरी विभिन्न पालिकासँग पनि समन्वय र साझेदारी गरेर काम गरिरहेको जनाएको छ ।

महानिर्देशक वलीका अनुसार पालिकासँगको सहकार्यको काम भदौ २५ देखि पहिलो चरणमा काठमाण्डौमा रहेका सबै पालिकाबाट, त्यसपछि पुसको १९ गते मधेस प्रदेशको वीरगन्जमा चार वटा जिल्लालाई समावेश गरेर र २१ गते बाँकी रहेका मधेस प्रदेशका चार वटा जिल्ला तथा जिल्लाका पालिकाहरूलाई समावेश गरेर सुरु भएको छ ।

त्यसै गरी फागुनको ४ गते चितवनमा चार जिल्लालाई, ६ गते बुटवलमा ४ जिल्लालाई, ८ गते दाङमा ४ जिल्लालाई समेट्ने गरी काम भइरहेको छ ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया