देशकै दोस्रो ठूलो सबस्टेशन सञ्चालनमा, प्रधानमन्त्री देउवाले शनिवार उद्घाटन गर्ने

 चैत ३, २०७८ बिहीबार १९:०:४४ | रासस
unn.prixa.net

काठमाण्डाै – जलविद्युत् आयोजना निर्माण गरेर मात्रै हुँदैन । त्यसका लागि प्रसारण लाइन सबस्टेशनको पनि उत्तिकै आवश्यकता पर्दछ । प्रसारण प्रणालीको निर्माणपछि मात्रै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली सबस्टेशन भएर तपाईँ, हाम्रो घर–घरमा आइपुग्छ । उद्योग, कलकारखानामा पुग्छ ।

पछिल्ला दिनमा सरकारले जलविद्युत् आयोजनाको निर्माणसँगै प्रसारण प्रणाली र सबस्टेशन निर्माणमा पनि उत्तिकै ध्यान दिएको छ । देशभित्र उत्पादित बिजुली देशभित्रै खपत गराउने उद्देश्यका साथ सरकारले अनेकन प्रयास गरिरहेको छ ।

देशभित्र अहिले ४०० केभी क्षमताको ढल्केबर सबस्टेशन निर्माणपछि सञ्चालनमा आइसकेको छ । त्यही क्रममा देशकै अर्को दोस्रो ठूलो सबस्टेशन आउँदाे शनिवार उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पर्सि शनिवार सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

याे सबस्टेशनलाई प्राधिकरणले न्यु खिम्ती नाम दिएको छ । रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा निर्माण भएको सबस्टेशनले दोलखाको गोंगरबाट आएको डबल सर्किट २२० केभी क्षमताको प्रसारण लाइनलाई ढल्केबरसम्म जोडेको छ । 

त्यही सबस्टेशन हुँदै १३२ केभी क्षमतामार्फत काठमाण्डाै जोडिएको छ । सबस्टेशनमा १०० एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ । याे सबस्टेशनबाट धनुषाको ढल्केबरमा बिजुली प्रवाह भइरहेको छ ।

ढल्केबरपछिको यो दोसो ठूलो सबस्टेशन भएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार ढल्केबरमा १३२, २२० र ४०० केभी क्षमताका तीन वटा सबस्टेशन सञ्चालनमा छन् । न्यूखिम्ती सबस्टेशनका इलेक्ट्रिकल इन्जिनियर प्रदीप दाहालका अनुसार शनिवार प्रधानमन्त्रीबाट हुने उद्घाटनको कार्यक्रमको तयारी पूरा भएको छ । विसं २०७५ देखि निर्माण सुरु भएको याे सबस्टेशन गएकाे असारमा निर्माण सम्पन्न भएको हो । सुरुवाती लागत एक अर्ब ५० करोड रुपैयाँ बराबर भएपछि प्राकृतिक विपत्ति, कोरोना महामारीलगायतका अन्य कारणले गर्दा थप केही 'भेरियशन' भएको छ ।

नयाँखिम्ती सबस्टेशनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली जोडिएको छ । यस्तै ५२ दशमलव ४ मेगावाट क्षमताको लिखु दोस्रो र २४ दशमल १ मेगावाट क्षमताको लिखु 'ए' जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोडिएको छ । यस्तै गर्ज्याङ हाइड्रोपावर, खिम्ती–२ को बिजुलीसमेत त्यही सबस्टेशनमा जोडिनेछ । अहिलेकाे क्षमताअनुसार याे सबस्टशेनमा कुल ९०० मेगावाट बराबर बिजुली जोड्न सकिने फोरम्यान सिभिल विश्वासकुमार भण्डारीले जानकारी दिनुभयो । 

रामेछाप, दोलखालगायतका जिल्लामा निर्माण सम्पन्न भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाको बिजुली जोडिने भएकाले याे सबस्टेशन प्राधिकरणको भाषामा हब सबस्टेशनका रूपमा विकास हुनेछ । गएकाे साउनको अन्तिम हप्ता याे सबस्टेशन चार्ज गरिएको थियो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोसीको बिजुली देशभर उपलब्ध गराउनका लागि महत्त्वपूर्ण मानिएको याे सबस्टेशनको सञ्चालनपछि बिजुली प्रवाहमा थप सहजता उत्पन्न हुने विश्वास प्राधिकरणले व्यक्त गरेको छ । माथिल्लो तामाकोसीको झन्डै एक अर्ब युनिट बिजुली त्यही सबस्टेशन भएर प्रवाह भइसकेको छ । सबस्टेशनमा चार वटा पावर ट्रान्सफर्मर जडान भएका छन् । जडान भएका ट्रान्सफर्मरमध्ये तीन वटा नियमित सञ्चालनमा ल्याइने र एउटा भने जगेडामा रहनेछ ।

सरकारको विशेष चासोका साथ मार्गदर्शन, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियमित अनुगमनपछि आयोजना सम्पन्न भएको न्यूखिम्ती सबस्टेशनका कर्मचारीको भनाइ छ । ‘काम सम्पन्न हुँदा असाध्यै खुसी लागेको छ । त्यसमाथि प्रधानमन्त्रीले नै उद्घाटन गर्न लाग्नुभएकाले हामीले गरेको कामप्रति अझै गौरवको महसुुस भएको छ’, इलेक्ट्रिकल इन्जिनियर दाहालले भन्नुभयो ।

सिभिल फोरम्यान भण्डारीले पनि लामो मेहनतपछि आयोजना सम्पन्न हुँदा प्राधिकरणका सबै कर्मचारीले गौरवको महसुस गरेको बताउनुभयो । केही दिनअघि मात्रै ऊर्जा मन्त्री पम्फा भुसालले सर्लाहीको लालबन्दीमा निर्माण सम्पन्न भएको १२२/३३ केभी सबस्टेशनको उद्घाटन गर्नुभएको थियो ।

यस्तै आजमात्रै न्यु बुटवल–बर्दघाट २२०/१३२ केभी सबस्टेशनको उहाँले उद्घाटन गर्नुभयो । यसबाट पनि याे सरकारले ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान र चासो दिएको स्पष्ट हुन जाने ऊर्जा मनत्रालयको भनाइ छ । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया