वेस्ट इन्डिजले ३४ वर्षपछि पाकिस्तानमा टेस्ट क्रिकेट जित्यो
माघ १४, २०८१ सोमबार
सुर्खेत – यस पटकको प्रतिनिधिसभा र प्रदेशसभा चुनावले कर्णाली प्रदेशमा राजनीतिक दलहरूको शक्ति सन्तुलन फेरिएको छ । मंसिर ४ गते चुनावको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएसँगै दलहरूको विगतको शक्ति सन्तुलन फेरिएको देखिएको छ ।
वि.स.२०७४ को चुनावमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा धेरै सीट जितेर पहिलो बनेको नेकपा एमाले यस पटक कर्णालीमा कमजोर अवस्थामा रहेको छ । पाँच वर्षअघि कमजोर अवस्थामा रहेको नेपाली कांग्रेसलाई यस पटक निर्वाचनमा फाइदा पुगेको छ ।
कर्णालीका १० जिल्लामा प्रतिनिधिसभाका १२ वटा निर्वाचन क्षेत्र छन् । यी सबैमा यसपालि एमाले शून्य भएको छ । २०७४ मा कर्णालीबाट प्रतिनिधिसभाका ६ सीट जितेको एमाले यस पटक एउटा सिट पनि जित्न सकेन ।
अघिल्लो संसदीय चुनावमा प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रले पाँच र स्वतन्त्रले एक सीट जितेका थिए भने कांग्रेस शून्य भएको थियो । पाँच वर्षअघि प्रतिनिधिसभामा कर्णालीबाटै निल बनेको कांगे्रसले अहिले चार सिट जितेको छ । माओवादी केन्द्रले पनि चार वटा क्षेत्रमा जित हात पारेको छ ।
यस्तै, पहिलो पटक नेकपा एकीकृत समाजवादीले कर्णालीमा प्रतिनिधिसभाका तीन क्षेत्रमा विजय हासिल गरेको छ । यसपटक कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावमा गठबन्धन थियो । सत्तारुढ गठबन्धन दलहरूले ११ वटा निर्वाचन क्षेत्रमा जित हासिल गर्दा एउटामा भने राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको हो । प्रतिनिधिसभातर्फ कांग्रेसले सुर्खेतका दुई वटै निर्वाचन क्षेत्रमा जित हात पारेको छ भने दैलेखको क्षेत्र नं. २ र मुगुमा पनि जितेको छ ।
सत्तारुढ गठबन्धनको अर्को दल माओवादी केन्द्रले रुकुम–पश्चिम, जाजरकोट, कालीकोट र हुम्लाबाट प्रतिनिधिसभा सदस्य जितेको छ । एकीकृत समाजवादी दैलेख, सल्यान र डोल्पामा विजयी बनेको छ । कर्णालीमा कांग्रेस, एमाले र माओवादी केन्द्र मुख्य प्रतिस्पर्धी दल भए पनि चुनावी तालमेलका कारण नतिजामा फेरबदल हुने गरेको छ । २०७४ को चुनावमा एमाले र माओवादी केन्द्रको चुनावी तालमेल हुँदा कांग्रेसले सबै क्षेत्रमा पराजय भोग्नु परेको थियो ।
यस्तै कर्णालीमा प्रदेशसभाको प्रत्यक्षतर्फको मतपरिणाम पनि आइसकेको छ । यहाँ प्रदेशसभामा प्रत्यक्षतर्फ २४ र समानुपातिकका १६ गरी ४० वटा सीट छन् । सत्तारुढ गठबन्धनको चुनावी तालमेलले प्रदेशसभामा पनि दलहरूको शक्ति सन्तुलन पनि फेरिएको छ ।
२०७४ सालको चुनावमा प्रदेशसभाको पहिलो दल एमाले अहिले तेस्रोमा खुम्चिएको छ । यो चुनावमा एमाले प्रत्यक्षतर्फ पाँच सीटमा सीमित भएको हो । अघिल्लो चुनावमा एमालेले प्रत्यक्षमा १४ र समानुपातिकमा ६ गरी २० वटा सीट जितेको थियो । यसपालि समानुपातिकसहित एमालेले अधिकतम् १० सीट पुर्याउने आकलन गरिएको छ ।
सत्तारुढ गठबन्धनसँग एक्लै चुनावमा भिडेको एमालेलाई पार्टी विभाजनको असरले पनि नतिजामा प्रभाव पारेको देखिन्छ । एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी भने कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ शून्य भएको छ । सत्तारुढ गठबन्धनको भागबन्डामा दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको समाजवादी दुवैमा पराजित भएको हो ।
२०७४ मा प्रदेशमा एउटा मात्रै प्रत्यक्ष सीट जितेको नेपाली कांग्रेस तेस्रो दल थियो । यसपटक गठबन्धनको बलमा उसले नौ सीट जितेको छ । कांग्रेसले दैलेखका तीन र जाजरकोटका दुई वटै निर्वाचन क्षेत्रमा जितेको छ । त्यसैगरी, सल्यान, सुर्खेत, कालीकोट र हुम्लाका एक÷एक वटा क्षेत्रमा कांग्रेस विजयी बनेको हो ।
अहिले चुनावी तालमेल फेरिए पनि प्रदेशमा माओवादी केन्द्रको नतिजा भने यथावत् छ । अघिल्लो पटकजस्तै माओवादीले यसपालि पनि प्रत्यक्षमा नौ वटा सीट जितेको छ । १० स्थानमा उम्मेदवारी दिएको माओवादीले एक सीटमा हार बेहोरेको छ । प्रत्यक्षतर्फको मतगणना सकिँदा कर्णाली प्रदेशसभामा माओवादी केन्द्र र नेपाली कांग्रेसले बराबर सीट ल्याएका छन् । यी दुई दलमध्ये पहिलोे को बन्ने भन्नेमा समानुपातिक मतपरिणामले निर्धारण गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।