सबै सरकारले आश्वासन मात्र दिए, न्याय दिएनन् : रञ्जिता श्रेष्ठ चौधरी

 मंसिर २८, २०७९ बुधबार १३:६:१८ | रासस
unn.prixa.net

फाइल तस्बिर

कैलाली - नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको टीकापुर घटना राजनीतिक प्रकृतिको रहेकाले यसका आरोपीहरुलाई मुक्त गर्ने आश्वासन यसअघिका सरकारहरुले पनि पटक पटक दिएका तर न्याय भने नपाइएको गुनासो गर्नुभएको छ । 

हालै सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा कैलाली क्षेत्र नं १ बाट विजयी उहाँले भन्नुभयो 'हाम्रो पार्टीका संस्थापक रेशम चौधरीलगायत टीकापुर घट्नाका आरोपितहरु निर्दोष रहेकाले तिनको रिहाइका लागि यसअघिका सरकारहरुले पटक पटक लिखित एवम् मौखिक प्रतिबद्धता गरे पनि कार्यान्वयन भने गरेनन् । '

अध्यक्ष चौधरीले उहाँहरु निर्दोष हुँदाहुँदै पनि जेल जीवन बिताउन बाध्य हुनुपरेको दाबी गर्नुभयो । नेता तथा मन्त्रीहरुले यो राजनीतिक प्रकृतिको घटना हो, त्यसैले उहाँहरु रिहा हुनुपर्छ भनिरहेका तर रिहाइको पहल भने नगरेको उहाँको गुनासो थियो । 

उहाँले भन्नुभयो 'यसअघिका सरकारले पनि छुटाउने आश्वासन दिएका थिए । अघिल्लो सरकारका प्रधानमन्त्री केपी ओलीका पालामा त सरकार र हामीबीच लिखित सम्झौता नै भएको हो, त्यो सार्वजनिक नै छ सबैले हेर्दा पनि हुन्छ । माओवादी अध्यक्ष प्रचण्ड सरकारमा हुँदा पनि छुटाउने आश्वासन दिनुभएको थियो । हाम्रो भेटमा उहाँले यो राजनीतिक प्रकृतिको मुद्दा भएकाले रेशमलाई न्याय हुन्छ भन्नुभएको थियो । तर सबै सरकारले आश्वासन मात्र दिए, काम कसैले गरेनन् ।'

सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गर्ने निर्णय गरेकाले राजनीतिक क्षेत्रमा यसको पक्ष र विपक्षमा विभिन्न धारणाहरु आइरहेका बेला नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष चौधरीको यो भनाइ आएको हो । अघिल्लो अर्थात् केपी ओलीको सरकारका पालामा २०७७ साल फागुन २० गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा र विप्लव नेतृत्वको नेकपाबीच तथा २०७८ साल जेठ १८ गते नेपाल सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठ र थारु कल्याणकारिणी सभा थारुवान सङ्घर्ष समितिका प्रमुख रुक्मिणि चौधरीसहितको टोलीबीच टीकापुर घटनाका आरोपीहरुलाई रिहा गर्ने विषयमा लिखित सम्झौता भएको थियो ।    

आफूहरुले चुनावअघि पनि यस क्षेत्रका सबै दलका नेताहरुसहित प्रधानमन्त्रीलाई भेटेर टीकापुर घटना राजनीतिक घटना भएकाले निर्दोषलाई न्याय दिन आग्रह गरेको अध्यक्ष चौधरीले बताउनुभयो । रेशमलगायतकाको रिहाइको पहलमा प्रधानमन्त्री सकारात्मक देखिनुभएको उहाँले बताउनुभयो । बोल्ने बेलामा सबै नेताहरुले रेशमसहित जेलमा रहेकाहरु निर्दोष छन् भन्ने गरेका तर पनि उनीहरुलाई न्याय दिने काममा भने कोही पनि अग्रसर नभएको देखिएको उहाँको गुनासो छ । 

उहाँको जिज्ञासा थियो 'यसपटक पनि सरकारले न्याय दिन्छु भनेको छ, सरकारले अध्यादेश जारी गरेको हामीले सुनेका छौँ, पहिलेजस्तै आश्वासन मात्र हो कि वास्तवमै सरकारले न्याय दिन्छ हेरौँ ।' उहाँले आफू र आफ्नो पार्टीले अरु केही नमागेर निर्दोषहरुलाई जेलबाट रिहाइ मात्र मागेको बताउनुुहुन्छ । नागरिकले भने आफू र रेशम चौधरीलाई न्याय दिएको उहाँको भनाइ छ । आफ्नो चुनाव प्रचारप्रसारका क्रममा पनि नागरिकले रेशम निर्दोष रहेको र यसका लागि आवश्यक परे आफूहरुले आन्दोलन पनि सुरु गर्ने बताएका उहाँले सुनाउनुभयो । 

चौधरीले भन्नुभयो 'कैलालीका नागरिकले अन्यायका विरुद्धमा मतदान गर्नुभएको छ, सबैले रेशमलाल चौधरीसहित जेलमा रहनुभएका निर्दोष युवाको रिहाइका लागि जनमत प्रकट गर्नुभएको छ । मत माग्दै जाँदा मलाई लाग्छ सबैको चासो पनि यही थियो । उहाँहरुले यो अन्यायका विरुद्धमा मत प्रकट गरेर मतमार्फत् रेशमलगायतका बन्दीहरुको रिहाइको अपिल गर्नुभएको छ ।'

उहाँले अघिल्लो चुनावमा पनि नागरिकले रेशमजीलाई न्याय गरेको प्रशङ्ग उल्लेख गर्नुभयो । तर पनि उहाँलाई जेलमुक्त गरिएन र यसका कारण कैलालीको यो क्षेत्र पाँच वर्ष नै जनप्रतिनिधिविहीन भयो । रेशमलाई जस्तै नागरिकले आफूलाई पनि न्याय दिएको उहाँको भनाइ छ । यहाँका सबै नागरिक रेशमलाल चौधरीसहितका बन्दी जीवन बिताइरहेकाहरु निर्दोष हुन् भनेर आवाज उठाएको र मत माग्दै जाँदा सबैले रेशमको रिहाइको अपिल गरेको उहाँले सुनाउनुभयो । अघिल्लो चुनावमा पनि नागरिकले रेशम जीलाई न्याय गरेका उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ 'यहाँका नागरिकले रेशमजीलाई मत दिएर जिताएकै हुन् । नागरिकले रेशम चौधरीलाई सांसद विजयी गराउनुको अर्थ उहाँ निर्दोष हो रिहाइ गर्नुपर्छ भन्ने होइन र ? तर पनि सरकारले गरेको छैन ।'  

आफूले चुनावका क्रममा मतदाताहरुबाट सकारात्मक प्रतिक्रिया पाएको उहाँको अनुभव छ । धेरै माया र उत्साह आफूलाई मतदाताले दिएको उहाँले बताउनुभयो । सबैको चाहना परिवर्तन र न्याय चाहिन्छ भन्ने रहेको तथा यहाँका नागरिकले आफूलाई  मत दिनु भनेकै न्याय र परिवर्तनका लागि हो भनेर बुझेको उहाँले बताउनुभयो । आफ्नो क्षेत्रमा शान्ति, अमनचयन, विकास र समृद्धिका लागि आफू लाग्ने पनि उहाँले प्रण गर्नुभयो । 

निर्वाचित भएपछिका दिनहरु उहाँले आफ्ना मतदातालाई धन्यवाद दिएर बिताइरहनुभएको छ । यसअघिको प्रतिनिधि सभा चुनावमा टीकापुर घटनाका मुख्य आरोपी रेशमलाल चौधरी निर्वाचित हुनुभएको थियो । निर्वाचित भएपछि कैलालीमा आत्मसर्मपण गरेका चौधरी अहिले जेल जीवन बिताइरहनु भएको छ । उहाँ जेलमा रहेकाले यस क्षेत्र पाँच वर्षसम्म नेतृत्वविहीन भयो । यसपटक भने रेशमकै धर्मपत्नी रञ्जिता श्रेष्ठ यसै क्षेत्रबाट भारी मतान्तरले विजयी हुनुभयो । 

गएकाे हप्तामात्रै नागरिक उन्मुक्ति पार्टीले टीकापुरमा पत्रकार सम्मेलन गरी टीकापुर घटनाको मुद्दा सरकारले फिर्ता लिनुपर्ने प्रमुख माग राखेको छ । नागरिक उन्मुक्तिले कैलालीका एक, दुई र तीनगरी तीन क्षेत्रमा प्रतिनिधि सभा सदस्य चुनाव जितको छ । 

आफ्नो निर्वाचन क्षेत्रबारे उहाँ भन्नुहुन्छ 'मेरो निर्वाचन क्षेत्रमा धेरै समस्याको चाङ छ । म चुनावका बेला जहाँ पुगे समस्या मात्रै देखेका छु । यहाँ अभाव, गरिबी, समस्या धेरै छन् । यी सबै कुरा पाँच वर्षमा एकएक गर्दै सुधार्नु छ । जहाँ जहाँ पुगे त्यहाँ स्वास्थ, बाल शिक्षा, शुद्ध खानेपानीको अभाव, रोजगारीका अवसरको कमी, विपद्को जोखिम, बाढीको पीडा, सडक विस्तार नभएका जस्ता विविध समस्या छन् । यी धेरै समस्यालाई पाँच वर्षमा बिस्तारै पूरा गर्दै जाने योजना छ ।'

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया