एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेकाे छ : अध्यक्ष ओली

 फागुन ५, २०७९ शुक्रबार १७:४३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – सत्तारूढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको टिप्पणी गर्नुभएको छ । स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरूले अहिले पनि आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिरहेको भन्दै त्यसलाई तोडेर अघि जानुपर्ने अवस्था रहेको उहाँकाे भनाइ छ । 

शुक्रबार ललितपुरको च्यासलमा रहेकाे पार्टी केन्द्रीय कार्यालयबाट 'मिसन ग्रासरुट' नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको भर्चुअली शुभारम्भ गर्दै अध्यक्ष ओलीले अस्वस्थ ढङ्गले चल्ने राजनीतिक दलहरूलाई पराजित गर्ने गरी तयारी गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो । उहाँले निकट विगतमा आफ्नो पार्टीलाई एक्ल्याउने शक्ति र प्रवृत्तिहरू अहिले पनि रहेकाले त्यस्ता शक्तिहरूको षड्यन्त्रबारे नागरिकलाई बुझाउँदै लैजानुपर्ने जरुरी रहेको पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘विभिन्न राजनीतिक शक्तिहरू एमालेसँग स्वस्थ प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन् । तसर्थ उनीहरू अस्वस्थ प्रतिस्पर्धाका विधिहरू अपनाउन सक्छन् । हामीले निकट विगतमा भाेगेकाे समस्या फेरि आउँदा दिनमा भोग्नु नपर्ला भन्न सकिन्न । किनभने राजनीतिक शक्तिहरू तिनै छन् । उनीहरूको फेरि उस्तै किसिमको चक्रव्यूह हुँदैन भन्न सकिन्न । यस्तो स्थितिमा हामीले आफूलाई तयार राख्नुपर्दछ ।’

अध्यक्ष ओलीले पार्टीको रक्षामा दृढतापूर्वक उभिन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । पार्टी हितको पक्षमा उभिने नेता, कार्यकर्तालाई पार्टीले पनि हित गर्ने उहाँको भनाइ थियो । ओलीले आउँदाे चार वर्षपछि हुने चुनावमा ५० प्रतिशतभन्दा बढी ठाउँमा पार्टीलाई विजयी गराउने गरी पार्टीेले 'मिसन ग्रासरुट' अभियान सञ्चालन गरेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले एमालेजस्तो पवित्र उद्देश्य भएको पार्टी अरू नरहेको जिकिर गर्नुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया