तराई/मधेशमा लगातार हुस्सु र कुहिरो : पूर्वपश्चिम राजमार्गको ख...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – प्रहरीले तिब्बती शरणार्थीहरूलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न गिरोहलाई पक्राउ परेको छ । प्रहरीले बुधवार काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो ।
काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापाका कृष्णबहादुर कटवाल, भक्तपुरका न्युल्केश श्रेष्ठ, मोरङका हिरालाल शिवाकोटी, तनहुँका लोब्साङ ठिन्ले र ललितपुरका विजय लामालाई पक्राउ गरेको हो । उनीहरूले झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरी गैरनेपाली व्यक्तिहरूको सक्कलै नेपाली नागरिकता बनाइदिने गरेको पाइएको कार्यालयका प्रहरी उपरीक्षक (एसपी) एवम् प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।
पक्राउ परेकामध्ये कटवाल १० वर्षदेखि लेखापढी व्यवसायमा संलग्न व्यक्ति रहेका प्रहरीले जनाएको छ । पक्राउ परेका नेपाली नागरिक न्युल्केश श्रेष्ठले प्रतिपटक १० हजार रुपैयाँका दरले भाडामा नक्कली बाबु बनेर पाँच जनाको नागरिकताका लागि सनाखत गरेको पाइएको छ । गिरोहले तिब्बती शरणार्थीको नागरिकता बनाउन प्रतिव्यक्ति तीनदेखि पाँच लाख रुपैयाँसम्म लिने गरेको पनि अनुसन्धानबाट खुलेको एसपी राठौरले जानकारी दिनुभयो ।
यो गिरोहले गएकाे ६ वर्षमा पाँच सय जनाभन्दा धेरै तिब्बतीलाई नागरिकता बनाइदिएको प्रहरीको अनुमान छ । तिब्बतीलाई नागरिकता बनाइदिएको आशङ्कामा जिल्ला प्रशासन कार्यालय काठमाण्डाैमा कार्यरत पूर्व तथा बहालवाला कर्मचारीहरूमाथि समेत अनुसन्धान भइरहेको राठौरले बताउनुभयो ।
यसैबीच प्रहरीले सट्टेबाजी गरेको आरोपमा छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिलीपसिंह कठायत, भुपालराज न्यौपाने, नयनराज भण्डारी, वरुणकुमार सिंह, वासुदेव पाण्डे र शिवानी तामाङ रहेका छन् । उनीहरूले विभिन्न ३५ जनाको नाममा खोलिएको डिजिटल वालेटमा कुल ४१ करोड १५ लाख ८९ हजार दुई सय ७६ रुपैयाँ बराबरको सट्टेबाजी कारोबार गरेको प्रहरीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।