एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
ओली सरकार पपुलर हुने डरले भारतले हवाई रुट नदिएको हुन सक्छ - त्रिरत्न मानन्धर
काठमाडौं – नेपाललाई थप चारवटा हवाई रुट दिन सहमति जनाएको भारत सहमतिबाट पछि हटेपछि नेपालको हवाइ उड्ययन क्षेत्र थप अन्यौलमा परेको छ ।
गएको असार २ गते भारतीय विमान प्राधिकरण र नेपाल नागरिक उड्यन प्राधिकरणबीच महेन्द्रनगर, नेपालगञ्ज, विराटनगर र जनकपुरबाट समेत विमानहरु नेपाली आकाशमा प्रवेश गर्न पाउने सहमति भएको थियो ।
सेप्टेम्बर महिनाभित्र प्राविधिक विषय पनि टुंग्याउने सहमति भएकोमा अहिले भारतीय पक्षले प्रवेश रुट दिन नसकिने जनाएपछि नेपाल आउने धेरैजसो विमान सिमरामाथिको आकाशबाट मात्रै नेपाल छिर्नुपर्ने बाध्यता यथावत रहने भएको हो ।
अहिले मेची रुट अन्तर्गत तुम्लिङटारमाथिको आकाशबाट भुटान आउजाउ गर्ने र चीनको ल्हासा आउजाउ गर्ने विमानले मात्रै दुइतर्फी रुट प्रयोग गर्न पाएका छन् । जति लामो रुट भए पनि अरु सबै गन्तब्यबाट आउने विमानले सिमरामाथिकै आकाशमा आएर बल्ल नेपाल छिर्नुपर्ने बाध्यता छ ।
यसै विषयमा उज्यालो अनलाइनका लागि अर्जुन पोख्रेलले नेपाल नागरिक उड्यन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरसँग गरेको संक्षिप्त कुराकानीः
अहिले नेपालमा मात्रै होइन विश्वभर नै नागरिक उड्डयनको दु्रत विकास भैरहेको छ । भारतले नेपाललाई दिने भनेका थप ४ वटा प्रवेश बिन्दुबाट प्रवेश रुट नदिएमा नेपाल त्यो विकासबाट पछि हट्नुपर्ने बाध्यता रहिरहन्छ ।
हवाइ उड्डयनको विकासमा संसारका अरु देशसँग सहभागी भएर नेपालले जुन विकास गर्न सक्थ्यो, त्यो विकास छायाँमा पर्ने देखिन्छ ।
नेपालबाट बाहिरिने जहाजको लागि कुनै समस्या छैन । बाहिरिने रुट धेरै छन्, तर नेपाल पस्ने रुटमा भारतले जुन खालको व्यवहार देखाएको छ, त्यसले त समस्यै समस्या निम्त्याउने देखिन्छ । अहिले सिमरामाथिको आकाशबाट मात्रै धेरै जहाज छिर्न पाउने हुँदा लामो बाटो उड्नुपर्नेदेखि एअर ट्राफिकसम्मका समस्या भोगिरहेका छौं ।
तर महेन्द्रगरबाट, नेपालगञ्जबाट, विराटनगरबाट अनि जनकपुरबाट पनि जहाजहरु नेपाल छिर्न पाउने हो भने धेरै सुविधा हुने थियो । यदि थप ४ वटा रुटबाट जहाज नेपाल छिर्न पाए भने ट्रान्सबोर्डर फ्लाइटहरु पनि बढ्ने र सुविधा हुने देखिन्छ । अहिले सिमराको मात्रै रुट हुँदा त्यस्तो भएको छैन ।
नयाँ रुट पाएमा भारतको सीमामा रहेका शहरहरुमा उडान गरेर नेपालमा पर्यटनको विकासको लागि ठूलो उपलब्धी हुन सक्छ । तर रुट नदिँदा भारतीय शहरमा उडान गरेर मनग्य पर्यटक भित्र्याउने सम्भावना तत्कालको लागि टरेको देखिन्छ ।
समस्या त हरेक काम गर्दा हुन्छ नि । नेपाललाई थप हवाइ रुट दिँदा भारतलाई पनि केही समस्या त होला तर यो समाधान गर्नै नसकिने खालको समस्या हो जस्तो मलाई लाग्दैन ।
भारतले पनि आफ्ना कुरा राखेर केही इस्युमा बार्गेनिङ गर्न खोजेको होला तर नेपालले चाहिँ आफ्ना अडान प्रष्ट राख्न नसकेको हो कि जस्तो पनि देखिन्छ ।
४ वटा रुट दिन भारत सहमत हुँदा हामी सबैजना उत्साहित भएका थियौं, तर एकाएक भारतले आफ्नै सहमति विपरित रुट दिन्नौं भन्दा त हामी सबै अचम्ममा परेका छौं ।
यसमा प्राविधिक समस्या पनि अलिअलि छ । तर प्राविधिक समस्या हल गर्नै नसकिने खालको चाहिँ होइन ।
मेरो बुझाईमा चाहिँ भारतले थप हवाइ नाका दिनु भनेको नेपालको प्रगति र उन्नतिको लागि ठूलो उपलब्धी हो । यो सरकारलाई एकैपटक पपुलर हुन नदिन पनि भारतले थप हवाइ रुट नदिएको हो कि जस्तो पनि लाग्छ मलाई त ।
हामीजस्ता भूपेरिवेष्ठित देशले यस्तो समस्या भोगेका छैनन् । मंगोलियाको कुरा गर्दा उ विशाल देशहरु रुस र चीनबाट घेरिएको छ, तर उसले कहिले पनि हवाइ रुट नपाएर समस्या भोग्नु परेन ।
सिंगापुर, अष्ट्रिया लगायतका साना देशले कहिल्यै पनि यस्तो समस्या भोग्नुपरेको छैन । त्यस्तै फिजि, न्युजिल्याण्ड लगायतका देशलाई पनि कहिलेकाहीँ अष्ट्रेलियाबाट समस्या हुने गरेको छ, तर हाम्रोमा जस्तो एउटा मात्रै प्रवेश बिन्दुमा खुम्चिनुपरेको छैन ।
अन्तर्राष्ट्रिय हवाइ उड्डयनलाई गाइड गर्ने भनेको सिकागो महासन्धी हो । सिकागो महासन्धी अनुसार आफ्नो देशको भूभागमाथिको आकाशमा सम्बन्धित देशकै पूर्ण अधिकार हुन्छ । त्यसैले हामीले यो विषयमा कहिँ कतै मुद्दा हाल्ने, उजुरी गर्ने लगायतका उपाय त छैनन् ।
तर यस्ता विषयलाई दुई देश मिलेर सल्ट्याउनुपर्छ । तत्कालै रुट नदिए पनि बिस्तारै भारतले महसुस गर्ला भन्ने आशा गर्न सकिन्छ ।
हो, यो विषयमा हामीले भारतलाई फकाइ फुल्याई गर्नुको विकल्प छैन । भारतका पनि केही समस्या त होलान्, उसका बार्गेनिङका विषयबस्तु होलान, तर त मलाई लाग्छ एकदिन भारतले नेपाललाई सबै रुट दिनेछ ।
यसअघि पनि प्रधानमन्त्री स्तरमै भएको सहमति भारतले एकाएक तोड्यो । फेरि पनि सहमति गर्ने तर तोड्ने हो भने त सहमतिको के अर्थ भयो र । तर हामीले भारतसँग फेरि गम्भीर कुरा गर्नुपर्छ र उसको मनशाय बुझ्नुपर्छ ।
यदि नकारात्मक मनसाय नै छ भने त उच्च तहमा छलफल गरेर पनि पार लाग्दैन । तर यदि सकारात्मक मनसाय छ र केही बार्गेनिङ हो भने हामीले पनि सोच्नुपर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।