सहीलाई सही र गलतलाई गलत भन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

 असार १०, २०८० आइतबार १६:६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिपक्ष विरोधभाषमा फस्ने र सत्तापक्ष निरङ्कुश बन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । सहीलाई सही र गलतलाई गलत भन्ने पक्षमा प्रतिपक्ष र सत्तापक्ष तयार नभएसम्म देशमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थालाई सही ढङ्गले अघि बढाउन नसकिने भएकाले पनि प्रतिपक्ष विरोधमा र सत्तापक्ष निरङ्कुश बन्न नहुने उहाँको भनाइ थियाे ।

आइतवार प्रतिनिधिसभा बैठकमा गृह मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै उपप्रधानमन्त्री श्रेष्ठले सहीलाई सही भन्न सक्ने गरी राजनीतिक दलहरू अघि बढेमात्रै देशको लोकतन्त्रको औचित्य पुष्टि गर्न सकिने बताउनुभयाे । उहाँले प्रतिपक्षका केही सांसदहरूले प्रहरी बढुवामा पैसाको चलखेल भएको आरोप लगाएको उल्लेख गर्दै त्यसलाई आफूले शून्यमा झारिदिएको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘पार्टीहरूबीच प्रतिस्पर्धाको कारणले गर्दा ठिकलाई ठिक, बेठिकलाई बेठिक, सहीलाई सही, गलतलाई गलत भन्ने कामबाट विचलित हुने कमजोरी यसमा अन्तरनिहित हुन सक्छ । यो खतरा छ । सरकारको विरोध गर्नुपर्ने भएको कारणले प्रतिपक्षमा रहेकाहरूले प्रतिपक्ष शक्ति वा प्रतिपक्षमा रहेका माननीय सदस्य वा राजनीतिक नेता, कार्यकर्ताले जस्तोसुकै ठिक काम गरे पनि विरोध गर्ने र विरोधवादमा फस्ने, निषेधवादमा फस्ने खतरा रहन्छ । यो प्रतिपक्षमा मात्रै समस्या होइन । यो सरकारको पनि, सत्तापक्षमा पनि समस्या हुन्छ । सरकार सत्तापक्षसँग जोडिने स्वाभाविक चरित्रका कारण निरङ्कुश बन्ने, असहिष्णु बन्ने खतरा रहन्छ । एक जना माननीयले अहिले प्रहरीको पदोन्नतिमा आर्थिक चलखेलसमेत भएको चर्चा छ भन्नुभयो । त्यो शून्यमा झारिएको छ । म दाबीका साथ भन्न सक्छु ।’

उपप्रधानमन्त्री श्रेष्ठले नेपालको लोकतन्त्र मौलिक खालको भएको उल्लेख गर्दै त्यसलाई उन्नत ढङ्गले अघि बढाउने विषयमा राजनीतिक दलहरूले गम्भीर आत्मसमीक्षा गर्दै अघि बढनुपर्ने उल्लेख गर्नुभयाे ।

मन्त्री श्रेष्ठले वर्षाका कारण हुने विपद् जोखिम न्यूनीकरणका लागि सरकारले सम्बन्धित निकायहरूलाई तयारी अवस्थामा राखेको दाबीसमेत गर्नुभयो । त्यसका लागि आवश्यक लगानी र साधनको व्यवस्थापन गर्ने कामलाई पनि सरकारले तीव्रता दिएको उहाँको भनाइ थियो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया