विश्व स्तनपान सप्ताह शुरु, स्तनपानले शिशु र आमा दुवैको स्वास्थ्यमा फाइदा पुग्ने

 साउन १६, २०८० मंगलबार ११:३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - विश्व स्तनपान सप्ताह आजदेखि शुरु भएको छ । स्तनपानको महत्त्वबारे जानकारी दिन हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ । यस वर्ष ‘स्तनपान गरौँ , काम गरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ ।

कार्यस्थलमा स्तनपानका लागि सुरक्षित वातावरण निर्माण गर्ने र स्तनपान गराइरहेका आमाका लागि बिदाको व्यवस्था गर्ने आवश्यकताबारे यस वर्षको नारा तय गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन र युनिसेफले सरकार र रोजगारदातालाई आमाहरूलाई स्तनपान गराउन आवश्यक समय, ठाउँ र समर्थन प्रदान गर्ने परिवार अनुकूल नीति लागू गर्न आह्वान गर्दै आएको छ ।

स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो खोप समेत भन्ने गरिन्छ। दूधमा रोग निरोधक तत्त्व हुन्छ जसले नवजात शिशुको रोगसँग लड्नसक्ने क्षमता विकसित गर्न मद्दत गर्दछ । डाक्टरकाअनुसार शिशुलाई जन्मेको एक घण्टामा स्तनपान गराउनुपर्छ ।  शिशुलाई ६ महिनासम्म स्तनपान मात्र गराउनु पर्दछ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर ६ महिनामुनिका ४४ प्रतिशत शिशुलाई मात्र स्तनपान गराउने गरेको पाइएको छ । यस्तै, स्तनपानको अभ्यासलाई सुधार गरिएमा वार्षिक रूपमा आठ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिन्छ । स्तनपान नगराउँदा वार्षिक झण्डै तीन सय खर्ब रकम खर्च हुने अनुमान गरिन्छ ।

स्तनपानले शिशु र आमा दुवैको स्वास्थ्यमा फाइदा पुग्ने डाक्टरले बताएका छन् । शिशुको वृद्धि, विकास र रोगप्रतिरोधात्मक क्षमताको विकासका लागि स्तनपान महत्त्वपूर्ण हुनेगर्छ।  कुपोषण घटाउनका लागि स्तनपानले महत्त्वपूर्ण भूमिका खेल्ने डाक्टरको भनाइ छ ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया