‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
नेपालमा माघेसङ्क्रान्ति पर्व ठाउँ, जात, क्षेत्र, परम्परा र संस्कृतिअनुसार फरक–फरक तरिकाले मनाउने गरिन्छ । माघेसङ्क्रान्तिमा खाइने खानेकुरा स्वास्थ्यका दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण छ । माघेसङ्क्रान्ति जाडोयाममा पर्छ । माघेसङ्क्रान्ति खाइने खानेकुराले शक्ति र ऊर्जा दिन्छन् । आलु, पिँडालु, शखरखण्ड, तरुल ‘स्टार्ची’ समूहका खानेकुरा हुन् । यी खानेकुराले ‘कम्प्लेक्स कार्बोहाइड्रेट्स’ दिन्छन् । त्यस्तै केही मात्रामा प्रोटिन, सूक्ष्म पोषक तत्त्वहरू– पोटासियम, फस्फोरस, आइरन दिन्छन् ।
तरुल/सखरखण्ड
तरुल र सखरखण्ड दुवै कन्दमूल अर्थात् माटोमुनि फल्ने आहार हुन् । यी दुवै फल कार्बोहाइड्रेटको राम्रो स्रोत हुन् । तरुल, सखरखण्डलाई ‘कम्प्लेक्स कार्बोहाइड्रेट्स’ अर्थात् ‘स्टार्च’ पनि भनिन्छ । यसमा सूक्ष्म पोषक तत्त्वहरू हुन्छन् । पोटासियम, म्याग्नेसियम, थोरै मात्रामा आइरन हुन्छन् । ‘स्टार्ची’ खानेकुराहरू– आलु, पिँडालु, सखरखण्ड, तरुललाई उसिनेर खाने चलन छ । तरुल र सखरखण्ड शक्तिको स्रोत हो । यसले जाडोमा शरीरलाई तताउने काम गर्छ । जाडोमा शरीरले बढी ऊर्जा खर्च गर्नुपर्ने भएकाले यी आहारले पूर्ति गर्छ ।
तिलको लड्डु
माघेसङ्क्रान्तिमा तिल विभिन्न परिकारमा खाने गरिन्छ । माघेसङ्क्रान्ति विशेषगरी तिल लड्डुकै रूपमा खाने गरिन्छ । तिलमा क्याल्सियम, आइरन, म्याग्नेसियम, जिन्क र सेलेनियम पाइन्छ । त्यस्तै ‘मोनो स्याचुरेटेड फ्याटी एसिड’ हुन्छ । तिलमा लिग्न्यान, फाइटो स्टोरेज तत्त्वहरू पाइन्छ । यी तत्त्वहरूले शरीरमा भएका नराम्रा कोलेस्टेरोललाई घटाउने, विभिन्न किसिमको रोगसँग लड्न सक्ने क्षमता बढाउने, उच्च रक्तचाप नहुनबाट कम गर्ने, जोखिमलाई कम गर्ने गर्दछ । तिलमा सिसामिन, सिसामोलिन, सिमामोल पदार्थ पाइन्छ । यसले एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल, एक्सिटेसन हुनबाट बचाउँछ । तिलमा हुने एन्टिम्युटाजेनिक, एन्टिहिपाटोजेनिक हुन्छ । यी तत्त्वहरूले कलेजोसम्बन्धीका रोगमा मद्दत पुर्याउँछ । तिललाई कार्बोहाइड्रेट समूहसँग मिलाएर खाँदा ब्लड ग्लुकोजको मात्रालाई तहमा राख्न मद्दत गर्छ ।
घिउ
घिउमा फ्याट र आयल हुन्छ । यो चिल्लो पदार्थको समूहमा पर्छ । एक ग्राम घिउले नौ क्यालोरी जस्तो ऊर्जा दिन्छ । घिउको मुख्य काम नै शरीरमा ऊर्जा दिने हो । त्यस्तै जाडो महिनामा घिउको प्रयोग गर्दा शरीरमा इन्सुलेसनको काम गर्दछ । यसले शरीरको तापक्रम तहमा राखी जाडोबाट बचाउँछ । त्यस्तै शरीरमा उचित मात्रामा चिल्लो पदार्थ भयो भने विभिन्न खालका ‘भ्याक्स सोलुभल भिटामिन’ हरू ए, डी, ई र के लाई पनि शरीरमा सोस्न मद्दत गर्दछ ।
सखर/चाकु
सखर चिनीको एउटा प्रकार हो तर पूर्ण प्रशोधित हुँदैन । सेतो चिनी पूर्ण प्रशोधित हुन्छ र यसमा सूक्ष्म पोषक तत्त्व हुँदैन । सखरमा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, फस्फोरस जस्ता सूक्ष्म पोषक तत्त्वहरू हुन्छन् । चिनीले जति शक्ति दिन्छ सखरले पनि उति नै शक्ति दिन्छ । सखर स्वास्थ्यका दृष्टिकोणले चिनीभन्दा अलि राम्रो मानिन्छ ।
खिचडी
खिचडीमा विशेषगरी दाल, चामलको बढी प्रयोग गरिन्छ । यसमा कार्बोहाइड्रेट र प्रोटिनको मिश्रण हुन्छ । यसमा तरकारीहरू राखेर खाँदा झनै राम्रो हुन्छ । तर कतिपय चाडपर्वमा खाइने परिकारहरूको आफ्नै महत्त्व र आफ्नै पकाउने तरिका हुन्छ । यसलाई हामीले परिष्कृत नगरेको राम्रो हुन्छ । परिष्कृत गरेर खाँदा खानेकुराको खासै महत्त्व हुँदैन ।
दीर्घरोगीहरूले ख्याल गर्नुपर्ने कुरा
माघेसङ्क्रान्तिमा ‘स्टार्ची भेजिटेबल’ हरू बढी मात्रामा खाइने हुँदा दीर्घरोगीहरूले विशेष ध्यान पुर्याउनुपर्छ । सकेसम्म चाडपर्व मनाउनुअघि पोषणविद्को सल्लाह लिनुपर्छ । डाइबिटिजका बिरामीहरूले यस्ता खानेकुराहरू धेरै खानु हुँदैन । यसले रगतमा चिनीको मात्रा एक्कासी बढाउन सक्छ ।
दीर्घरोगीहरूलाई माघेसङ्क्रान्तिमा तरुल, पिँडालु, सखरखण्ड, तिलको लड्डु, सखर खान मन छ भने एक/दुई दिनअघि नै पोषणविद्सँग सल्लाह लिएर कति खाने, कसरी खाने, यी कुरा खाएको दिन के अर्को कुरा नखाने भनेर परामर्श लिनुपर्छ । डाइबिटिज भएका बिरामीले सखर, चाकु खानु हुँदैन । मुटुरोगीहरूले घिउ खानु हुँदैन । सामान्य अवस्थाका व्यक्तिले पनि यी परिकारहरू मात्रा मिलाएर खाँदा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यी परिकारहरू आफैंमा अस्वस्थकर खानेकुरा होइनन् । तर हामीले खानेकुरा पकाउँदा सरसफाइदा ध्यान नदिने, खानेकुरा बासी राख्ने गर्यौँ भने स्वास्थ्यमा असर पर्छ ।
(पोषणविद् सापकोटासँगको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सापकाेटा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पाेषणविद् हुनुहुन्छ ।