मानिस र वन्यजन्तु छिमेकी पनि हुन्, सचेत हुँदा आक्रमणबाट बच्न सकिन्छ

 पुष २९, २०८१ सोमबार ११:५१:४६ | वेदकुमार ढकाल
unn.prixa.net

मानिस र वन्यजन्तु पहिलेदेखि एउटै ठाउँमा बसोवास गर्दै आएको देखिन्छ । बसाइँसराइ र जनसङ्ख्या वृद्धिले गर्दा केही हदसम्म वन क्षेत्र घट्दै गएको छ । वन्यजन्तुका लागि आवश्यक खालका क्षेत्रहरू मानिसले कृषि र आवधिक परियोजनका लागि प्रयोग गरे । परम्परागत रूपले वन्यजन्तुले उपभोग गर्ने क्षेत्र मानिसले पनि प्रयोग गरेका कारण द्वन्द्व भएको देखिन्छ ।

नेपालको सन्दर्भमा साना खालका वन्यजन्तुसँगको द्वन्द्वबारे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पर्याप्त अध्ययन गर्न सकेको छैन । हामीले मानव–हात्ती, मानव–बाघ, मानव–चितुवा, मानव–गैँडा, मानव–बाँदर, मावन–बँदेल द्वन्द्व लगायत कृषि बालीमा क्षति गर्ने वन्यन्तुसँगको द्वन्द्व हेर्न सक्छौँ ।

हाम्रा पहाडका बस्तीहरू खाली हुँदै गएको अवस्था छ । मानिसहरू शहर र तराई क्षेत्रमा बसाइँसराइ गर्ने क्रम बढ्दो छ । गाउँमा युवाहरू नभएका कारणले पनि भएका कृषियोग्य बारी खरबारीमा र खरबारी वनमा परिणत भएको छ । कृषि क्षेत्र पनि वन क्षेत्रसँग जोडिएको हुँदा वन्यजन्तु बस्तीको नजिक आउँदा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढिरहेको देखिन्छ ।

मानिस र जनावरको जम्काभेट हुँदा बढी आक्रमण

धेरैजसो आक्रमणहरू वन क्षेत्रमा भएका देखिन्छन् । मानिस र जनावरको जम्काभेट हुँदा बढी आक्रमण भएका छन् । एकअर्कालाई हेरेपछि मानिस र जनावरलाई के गर्ने भन्ने हुन्छ । यस्तै एकाबिहानै र झिसमिसे साँझमा वन्यजन्तु सक्रिय भएका हुन्छन् । घाँसे मैदानमा मानिस एक्लै जाँदा, झाडी भएको जङ्गलमा छिर्दा पनि वन्यजन्तुको आक्रमण हुन सक्छ ।

कतिपय अवस्थामा हाम्रो व्यवस्थापनका कारणले पनि मानव र वन्यजन्तुको द्वन्द्व बढ्दै गएको देखिन्छ । हामीले स्थानीय समुदायको उपयोगका लागि भनेर सामुदायिक वनको व्यवस्थापन गरेका छौँ । सामुदायिक वनलाई संरक्षण गरेर राष्ट्रिय निकुञ्जजस्तै वन्यजन्तुको बसस्थानका रूपमा बसाउन खोजेको अवस्थामा पनि कहिलेकाहीँ मानिसलाई आक्रमण गरेको पाइन्छ ।

वन्यजन्तुको आक्रमणबाट बच्ने उपाय

वन्यजन्तुको आक्रमणका घटना कम गर्नका लागि सामुदायिक वनलाई स्थानीय समुदायको आवश्यकता पूर्ति गर्नेगरी अधिकतम रूपमा उपयोग गर्नुपर्छ ।

मानिसले सामुदायिक वनबाट घाँस, दाउरा, सोतर, पत्थरलगायतका वस्तुको उपभोग गरिरहनुपर्छ जसले गर्दा वन क्षेत्र सफा हुन्छ । साथै झाडी हटाएपछि दृश्य पनि बढ्छ । दृश्य बढेपछि मानव र वन्यजन्तुबीचको द्वन्द्व धेरै कम गर्न सकिन्छ ।

यसैगरी मानिसले वन्यजन्तुको आनिबानीबारेमा पनि जानकारी थाहा पाउन आवश्यक छ । वनको झाडी भएको ठाउँमा जानै परे समूहमा जाने गर्नुपर्छ । घर वरिपरि झाडी हुन दिनु हुँदैन । झाडी भएमा वन्यजन्तु आएर बस्न सक्छन् । त्यसलै हामीले केही पूर्वतयारी गर्न सकेमा वन्यजन्तुको आक्रमण घटाउन सकिन्छ ।

मानव बस्तीलाई एकीकृत गर्ने, रातिको समयमा मानव बस्तीमा बत्तीको व्यवस्थापन गर्ने, कृषियोग्य जमिनमा तारबार लगाउने जस्ता उपाय अपनाउन सकिन्छ । पछिल्लो समय चितुवाबाट बढी क्षति भइरहेकाले खोर सुधारको कार्यक्रम अघि बढेको छ ।

राष्ट्रिय निकुञ्ज लगायत धेरै ठाउँमा ग्याबिन जाली लगाएर सुधारिएको खोर बनेका छन् । राष्ट्रिय निकुञ्ज विभाग, पालिका, प्रदेश सरकारका निकाय, संरक्षण साझेदार संस्था लगायतसँग मिलेर हस्तक्षेप गर्‍यौँ भने वन्यजन्तुको आक्रमणलाई बिस्तारै कम गर्न सकिन्छ ।

मानिस र वन्यजन्तु भनेका छिमेकी पनि हुन् भन्ने कुरा हामीले बिर्सन हुँदैन । छिमेकी भएका कारणले हामीले वन्यजन्तुलाई सार्न वा हामी आफैँ ठाउँ सरिरहन पनि सकिँदैन । त्यसैले अब हामी कसरी एउटा सम्झौता गरेर बस्न सकिन्छ भन्ने अवधारणमा जानुपर्ने देखिन्छ ।

मानिसका लागि पनि वन्यजन्तु आवश्यक छ भन्ने कुरालाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन भयो भने अहिले भइरहेका घटनालाई केही हदसम्म कम गर्न सकिन्छ ।

(राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता एवम् उपमहानिर्देशक वेदकुमार ढकालसँगको कुराकानीमा आधारित )

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वेदकुमार ढकाल

ढकाल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया