१९ वर्षमुनिकाे नेपाली महिला टाेलीले टी–२० विश्वकपकाे तयारी ...
पुस २९, २०८१ सोमबार
कैलाली – पश्चिम नेपालका तराई क्षेत्रमा थारू समुदायको माघी पर्वको चहलपहल शुरू भएको छ । आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा माघीको चहलपहल शुरू भएको हो ।
विशेषगरी पुस महिनाको अन्तिम दिनदेखि शुरू भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गरी माघ १ गते अर्थात् नयाँ वर्षलाई स्वागत गर्दै थारू गाउँ बस्तीमा यो पर्व शुरू भएको थारू अगुवा प्रभातकुमार चौधरीले जानकारी दिनुभयो ।
आज बिहानैदेखि थारू गाउँहरूमा बङ्गुरको मासुका परिकार बनाउन शुरू भइसकेको थारू अगुवा चौधरीले बताउनुभयो । त्यस्तै राति थारू जातिको संस्कृतिअनुसार नाचगान गरी रातभर जाग्राम बस्ने, ध्वनि जगाएर (धमार) भजनर्कीतन गर्ने, आगो ताप्ने, गञ्जी, तरूलजस्ता विभिन्न परिकार बनाएर खाने चलनसमेत रहेको उहाँले बताउनुभयो ।
माघीको दोस्रो दिन भोलि माघे सङ्क्रान्तिका दिन विशेषगरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गर्ने र नुहाउने बेला नदीमा डुबुल्की लगाएर सिक्का पैसा छोड्ने गरिन्छ ।
त्यसपछि नुहाइसकेपछि धमार गाउँदै घरमा आएपछि घरका महिलाले छुट्याइएको चामल र मासको दाललाई छुने र ती छोएका चिज घरका छोरीबेटीलाई छुट्याउने प्रचलन छ ।
त्यसपछि घरमा भएका पूर्खा तथा आफूभन्दा ठूलाबडाबाट आर्शीवाद लिने परम्परा छ । तेस्रो दिन अर्थात् माघ २ गते पर्सि चामल र मासको दालको खिचडी खाने गरिन्छ ।
थारू समुदायको मुख्य पर्व भएकाले यतिबेला थारू गाउँबस्तीमा पर्वको रौनक छाएको गोदावरी नगरपालिका–८ फकलपुरका स्थानीयवासी माधव चौधरीले बताउनुभयो । उहाँका अनुसार थारू समुदाय बसोबास गर्ने गाउँ, बस्ती अहिले माघीमय भएका छन् ।
थारू जातिको परम्परा, लोक संस्कृति झल्कने मघौटा नाच, लोक गीतसँगै डफ र मादलको आवाज पनि गाउँघरमा गुञ्जिन थालेको छ । यो पर्व थारू समुदायको नयाँ वर्ष भएकाले उनीहरूले वर्षभरिको गतिविधिको समीक्षा गर्छन् ।
माघी पर्वसँगै थारू समुदायमा विधिवत् रूपमा विवाह, अंशबण्डालगायत कार्यको थालनी हुन्छ । माघीको अवसरमा सुदूरपश्चिम प्रदेशले आज सार्वजनिक बिदा दिएको छ । यस्तै लुम्बिनि प्रदेशको दाङको घोराही उपमहानगरपालिका लगायत थारू बाहुल्यता रहेका अरू विभिन्न पालिकाले आज बिदा दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।