३ महिने अभियान पार्टीको अन्तिम परीक्षा हो : प्रवक्ता सापकाेटा

 साउन २४, २०८० बुधबार १६:६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नि सापकोटाले आउँदाे भदाै १६ गतेदेखि शुरु हुने तीन महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘प्रवक्ता–पत्रकारबीच भेटघाट’ कार्यक्रममा प्रवक्ता सापकाेटाले तीन महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताउनुभएको हो । उहाँले भदौ १६ गतेदेखि ‘जनतासँग माओवादी –विशेष रूपान्तरण अभियान’ शुरु हुने र त्यस दिन देशभरका छ हजार सात सय ४३ वटा वडामै एकसाथ उद्घाटन हुने बताउनुभयो । यो अभियान पार्टीको अन्तिम परीक्षाजस्तो भएको भन्दै उहाँले आफूहरू सामूहिक रूपमा उत्तीर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भदौ १६ गते छ हजार सात सय ४३ वडामा एकैसाथ अभियान उद्घाटन हुन्छ । अध्यक्षले सात प्रदेशको सात वटा वडाकाे जिम्मा लिनुभएको छ । हामीले पनि जिम्मा लिएका छौँ । यसमा हामी वैचारिक पुनःगठन, राजनीतिक पुनःगठन, सङ्गठनात्मक पुनःगठन र सांस्कृतिक पुनःगठनका कुरा गर्छाैँ । याे हाम्राे करिब करिब अन्तिम परीक्षा जस्तै छ । मलाई विश्वास छ हामी यो परीक्षामा उत्तीर्ण हुन्छौँ । यो तीन महिने अभियान सफल हुन्छ ।’

प्रवक्ता सापकोटाले सुन तस्करी प्रकरणलाई निष्कर्षमा पुर्‍याउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिबद्ध रहेको बताउनुभयो । सुन प्रकरणकाे ठिक ढङ्गले अनुसन्धान गर्नका लागि सीआईबीलाई जिम्मेवारी दिइएको उहाँकाे भनाइ छ । तथ्य र प्रमाणले दोषी देखिएकाहरूलाई कारबाही गर्न पार्टीमा समेत एकमत रहेको उहाँकाे दाबी छ ।

प्रवक्ता सापकोटाले नागरिक महँगीको मारमा परेको भए पनि महँगी नियन्त्रणमा सरकारको पहलकदमी पुग्न नसकेको बताउनुभयो । उहाँले बजार अनुगमन गरी बदमासी गर्नेहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । नागरिकले खेप्नु परेको महँगीको मारको सम्बन्धमा पार्टीको आउँदाे पदाधिकारी बैठकमा आफूले कुरा उठाउने उहाँकाे भनाइ छ ।

सापकाेटाले युवाहरू विदेशिने कुरा राष्ट्रियतासँग पनि गाँसिएको भन्दै हुनेखाने र पुगिसरी आएकाहरू नै विदेशिएका बताउनुभयो । युवाहरू विदेशिनु खतराको विषय भएको भन्दै उहाँले यो विषयलाई राष्ट्रले प्राथमिक एजेन्डा बनाउनुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया