सुन तस्करीमा मुछिएका सत्तापक्षका नेतालाई जोगाउन सरकारले प्रहरी अधिकारीको सरुवा गर्‍याे : एमाले

 भदौ ३, २०८० आइतबार १८:३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले आफ्ना मान्छेलाई जोगाउन सुन तस्करी छानबिनमा संलग्न प्रहरी अधिकारीहरूलाई सरुवा गरेको आरोप लगाएको छ । एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेताहरू यस प्रकरणमा मुछिएपछि सरकारले उनीहरूलाई उन्मुक्ति दिने गरी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूलाई सरुवा गर्ने काम गरेको बताउनुभएको हो ।

आइतवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ सचेतक बर्ताैलाले सीआईबी लगायतका सरकारी निकायलाई सत्तापक्षले आफ्नो इसारामा चलाउने काम भएपछि आफूहरूलाई त्यसले स्वतन्त्र र निष्पक्ष ढङ्गले सुन तस्करीको अनुसन्धान गर्ला भन्ने नलागेको जिकिर गर्नुभयो । उहाँले सुन तस्करीका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको मागको औचित्य झनै पुष्टि भएर गएको दाबी गर्दै त्यसबाट पछि हट्न नसकिने अडानसमेत दोहोर्‍याउनुभयो ।

उहाँले भन्नुभयो, ‘उच्चस्तरीय छानबिन समितिको औचित्यता, आवश्यकता अझ बढेर गएको छ । सुन तस्करी प्रकरणमा अनुसन्धानकाे सुई सत्तापक्षका व्यक्तिहरूतर्फ साेझिन थालेपछि सरकारले अनुसन्धानको तहमा क्रियाशील भएका प्रहरी अधिकारीहरूलाई सरुवा गरेकाे छ । यसले के देखाउँछ भने राज्य मातहतका निकाय– सीआईबी होस वा राजस्व अनुसन्धान विभाग होस्, यी कुनै पनि इकाइले निष्पक्ष, स्वतन्त्र ढङ्गले काम गर्न सकिराखेको छैन । सरकारले यसमा नियन्त्रण गरिराखेको छ ।’

सचेतक बर्तौलाले एमालेले संसद् बैठक अवरुद्ध नपार्ने तर सुन तस्करीको अनुसन्धानलाई स्वतन्त्र र निष्पक्ष ढङ्गले अघि बढाउन उच्चस्तरीय समिति भने बन्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया