चिनीको भाउ एक महिनामै ५० रुपैयाँसम्म बढ्याे

 असोज ६, २०८० शनिबार १०:०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - चिनीको भाउ किलोमै ५० रुपैयाँसम्म बढेको छ । एक महिना अघिसम्म किलोको एक सय रुपैयाँमा पाइने चिनीको भाउ अहिले एक सय ५० रुपैयाँसम्म पुगेको हो । कतिपय खुद्रा पसलमा चिनी नै छैन भने भएकाहरुले पनि मनलाग्दी भाउ लिइरहेका छन् ।

केही पसलमा किलोको एक सय ३० रुपैयाँमै पाइने र केहीमा एक सय ५० रुपैयाँसम्म लिने गरेको उपभोक्ताहरुले बताएका छन् ।

नेपाल खुद्रा व्यापार सङ्घले भने खाद्य तथा किराना वस्तुको मूल्य सूचीबाट चिनीको सूची नै हटाएको छ । चिनीको मूल्य थोकमै मनलाग्दी भएकाले धेरै खुद्रा व्यापारीले चिनी बेच्नै छाडेका कारण सूचीबाट मूल्य हटाएको सङ्घले जनाएको छ ।

यस्तै, चिनी अभाव भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको बिक्री स्थगित गरेको छ । चिनीको मौज्दात कम रहेकाले अहिलेका लागि बिक्री रोकेको कम्पनीले जनाएको छ । सरकारले आयात अनुमति नदिँदा चिनी अभाव भएको व्यवसायीहरुले बताएका छन् ।

आन्तरिक उत्पादनले बजारको माग नधान्ने र ६० हजार टन चिनी आयातका लागि सरकारलाई अनुरोध गरेकोमा सरकारले नदिएको व्यवसायीको आरोप छ । दशैँ, तिहार, छठलगायतका ठूला पर्व शुरु हुँदा हरेक वर्ष चिनीको भाउ बढ्ने गरेको भए पनि यो वर्ष अत्यधिक बढेको हो ।

चिनीमा भएको कालोबजारी रोक्न सरकारले हस्तक्षप नगरेसम्म भाउ नियन्त्रण नहुने अधिकारकर्मीले बताएका छन् । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया