एमाले प्रदेश अधिवेशन : बाग्मतीमा नेतृत्व छान्न आज मतदान, कर्णालीमा चुनावी प्रक्रिया शुरु हुँदै, कोशीको आज उद्घाटन

 असोज १२, २०८० शुक्रबार ७:३०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमाले प्रदेश अधिवेशन अन्तर्गत बाग्मतीमा नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । कर्णालीमा चुनावी प्रक्रिया शुरु हुँदैछ भने कोशीको प्रथम अधिवेशन पनि आज उद्घाटन हुँदैछ । बाग्मती प्रदेश अधिवेशनमा नेतृत्व छान्न अहिले बिहानदेखि मतदान शुरु गर्ने तयारी छ ।

ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बिहान ८ बजेदेखि मतदानको तयारी भैरहेको छ । बाग्मती प्रदेशको अध्यक्षका लागि कृष्ण दाहाल र कैलाश ढुङ्गेलबीच प्रतिस्पर्धा हुँदैछ ।

हिजोका लागि तय भएको मतदानलाई रोकेर गरिएको छलफलपछि अध्यक्ष उम्मेदवारहरु केशव पाण्डे, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएको एमाले स्थायी कमिटी सदस्य एवं निर्वाचन अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले बताउनुभयो ।  असोज ८ गते भृकुटीमण्डपमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । अधिवेशनको बन्दसत्र कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलवार सम्पन्न भएको थियो ।  

यस्तै, नेकपा एमाले कर्णाली प्रदेशको चुनावी प्रक्रिया आजदेखि शुरु हुँदैछ । नेताहरुका अनुसार कर्णालीमा गुलाबजङ्ग शाह र गोरखबहादुर बोगटीबिच अध्यक्षमा प्रतिस्पर्धा हुने सम्भावना छ । तर सहमतिका लागि निरन्तर प्रयास भइरहेको छ ।

यस्तै, एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आजदेखि विराटनगरमा शुरु हुँदैछ । अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । नेताहरुले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिरहेका छन् । तर कोशीको अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

एमाले मधेस प्रदेशको अधिवेशन असोज २४ र २५ मा जनकपुरमा हुनेछ । प्रथम अधिवेशनका लागि हिजो नारा र लोगो समेत सार्वजनिक गरिएको छ । एमाले सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशन असोज २१ र २२ गते हुँदैछ । यसअघि लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । लुम्बिनी प्रदेश कमिटीमा नेतृत्वका लागि मतदान भएकोमा अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको थियो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया