गगन थापाकाे प्रस्ताव– ‘कांग्रेसका मन्त्रीलाई सरकारबाट फिर्ता बाेलाऔँ’

 असोज १४, २०८० आइतबार १८:३८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समाजवादी मोर्चालाई दुई वर्ष सरकारको नेतृत्व गर्न दिएर बाँकी कार्यकाल कांग्रेस एक्लैले सरकार चलाउने प्रस्ताव अघि सार्नुभएको छ ।

आज आइतवार काठमाण्डाैमा आयोजित १४ औँ महाधिवेशनको म्यान्डेट र पार्टी रूपान्तरणको जल्दाबल्दा सवाल विषयक गोष्ठीमा महामन्त्री थापाले यस्ताे प्रस्ताव अघि सार्नुभएकाे हाे । उहाँले समाजवादी मोर्चाले पार्टी एकता गर्नेसम्मको विषय अघि सारेको र सरकारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डपछि माधवकुमार नेपालले गर्ने सहमति भएको भन्दै दुई वर्षपछि कांग्रेस एक्लैले सरकार चलाउने गरी अहिलेको मन्त्रिपरिषदबाट कांग्रेसका मन्त्रीहरू फिर्ता बोलाएर सरकारको समर्थन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो दुई/अढाई वर्ष उहाँहरूले सरकार चलाउने भन्ने कुरा छ । पहिला प्रचण्ड प्रधानमन्त्री बन्ने, त्यसपछि माधव नेपाल बन्ने भन्ने छ । उहाँहरूको एउटै समाजवादी मोर्चा छ, पार्टीलाई पनि एउटै बनाउने भन्ने छ । पार्टीका मन्त्रीहरू फिर्ता बोलाऔँ, यो दुई/अढाई वर्ष उहाँहरूलाई एक्लै चलाउन दिऔँ । हामी समर्थन गरौँ । त्यसपछिको दुई/अढाई वर्ष कांग्रेसले चलाउनुपर्छ । एक्लै चलाउनुपर्छ, त्यसमा जस भए पनि र अपजस भए पनि त्यो बेला कांग्रेसले जिम्मा लिन्छ ।’

महामन्त्री थापाले प्रदेशका लागि बनाउनुपर्ने सबै कानुन बनाएर प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो । उहाँले नेपालमा प्रदेश नहुँदै गर्दाको जति नै खर्च कम गरेर देखाइदिनुपर्ने बताउनुभयो । आफैँ सङ्घीयता भनेर ल्याएर संविधानमा राख्ने र आफैँ काम भएन भन्न नहुने उहाँकाे भनाइ छ ।

महामन्त्री थापाले राष्ट्रपतिले संविधान दिवसको अवसरमा दिनुभएको आममाफीको चर्चा चलिरहेको भन्दै पाँच वर्षमा छ हजार ७२ जना मानिसले माफी पाएको बताउनुभयो । उहाँले कानुनको दुरुपयोग गर्ने विषयको सन्दर्भमा अहिलेसम्म बनेको एउटा पनि सरकार चोखो नरहेको जिकिर गर्नुभयो ।

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया