हचुवाकाे भरमा संसद् भवनको ठेक्का अवधि थप्न सकिँदैन : मन्त्री गुरुङ

 असोज १५, २०८० सोमबार १८:१८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहरी विकासमन्त्री सीता गुरुङले निर्माणाधीन सङ्घीय संसद् भवनको ठेक्का अवधि थप गर्न नसकिने बताउनुभएको छ । कार्य प्रगति सन्तोषजनक नभएको भन्दै मन्त्री गुरुङले हचुवाको भरमा सरकारले सङ्घीय संसद् भवनकाे ठेक्का सम्झौता अवधि थप गर्न नसकिने बताउनुभयाे ।

आज सोमवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति नेतृत्वको टोलीसँग भवन अनुगमन गर्न पुग्नुभएकी उहाँले सञ्चारकर्मीमाझ असोज महिनाभित्र सम्पन्न गरिसक्ने सर्तमा पछिल्लो समय पनि आफूले छ महिना म्याद थप गरिदिएको तर काम त्यहीअनुसार नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । मन्त्री गुरुङले आफूहरूले हिउँदे अधिवेशन त्यही भवनबाटै शुरु गर्नेगरी सम्बन्धित निकायलाई निर्माण कार्य सम्पन्न गर्न पटक–पटक ताकेता गरेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सङ्घीय संसद् भवनकाे म्याद पछिल्लाे पटक छ महिना थपे पनि त्यहीअनुसार काम भइरहेकाे छैन । आयोजना प्रमुखले एउटा कुरा गर्ने, निर्माण व्यवसायीले अर्को कुरा गर्ने, परामर्श दाताले अर्को कुरा गर्ने, यस्तो हुन्छ ? यसरी आ–आफ्नै खालको कुरा गर्ने ढङ्गको परिस्थिति सिर्जना नहोस् भनेर सबैलाई एकैठाउँमा राखेर हामीले छलफल गर्‍याैँ । भवन निर्माणमा जनशक्तिको अभाव भएको अनुभूति भएको छ । हिउँदे अधिवेशन यही भवनबाट गर्ने मन्त्रालयकाे याेजना हाे । म्याद थप यो भवन निर्माणको समस्याको समाधान होइन । समझदारीअनुसार काम अघि बढ्नुपर्छ भन्नेमा सरकार छ । छलफल नगरि हचुवाको भरमा म्याद थप हुँदैन, गर्दैनौँ ।’

निर्माणाधीन संसद् भवन निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनी टुन्दी/सेक जेभीले भने ठेक्का अवधि पुनः छ महिना थप गर्न सरकारसँग आग्रह गरेको छ । छ महिनाभित्र सबै काम सम्पन्न गर्नका लागि सरकारसँग म्याद थपको प्रस्ताव राखिएको कम्पनीका प्रोजेक्ट म्यानेजर प्रमिन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो । भवनकाे काम छिटो सम्पन्न गर्नका लागि आफूहरूले आवश्यकताअनुसार जनशक्ति पनि बढाउँदै लगेको र राति पनि काम गर्ने योजना तय गरिएको उहाँले जानकारी दिनुभयो ।

सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन याे भवनकाे काम २०७९ असोज १६ गतेभित्र सक्नुपर्ने थियो । तर दुई पटक म्याद थप गर्दा पनि सम्पन्न हुन सकेको छैन । टुन्दी/सेक जेभीले याे भवनको ठेक्का पाँच अर्ब ६८ करोड ३९ लाख रुपैयाँमा लिएको थियो ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया