अर्बाैँ रुपैयाँ तिरेर किनेका चिनियाँ जहाज अलपत्र, समितिले विवरण माग्याे

 असोज १८, २०८० बिहीबार १६:४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन सरकारलाई निर्देशन दिएकाे छ । आज बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले चिनियाँ जहाजबारे विवरणसहित समितिमा उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकको निर्णय सुनाउँदै समिति सभापति राजकिशोर यादवले नागरिक उड्डयनसम्बन्धी दुई वटा विधेयकको बारेमा पनि आउँदाे समितिको बैठकमा पूर्ण जानकारीसहित उपस्थित हुन निर्देशन दिनुभयो । सभापति यादवले चिनियाँ जहाज कसरी नेपाल वायु सेवाको भाग बन्यो भन्नेबारेमा पनि मन्त्रालयले जानकारी गराउनुपर्ने बताउनुभयो ।

आन्तरिक उडानमा निगमलाई अब्बल र आक्रामक बनाउन २०७१ सालमा सरकारले अनुदान र ऋण गरी सात अर्ब ४६ करोड रुपैयाँ लागतमा छ वटा चिनियाँ जहाज खरिद गरेको थियो । यो लगानीमा चीन सरकारको तीन अर्ब २९ करोड रुपैयाँ बराबरको अनुदान सहायता रहेको छ । एउटा जहाज भने २०७६ सालमा नेपालगञ्जमा दुर्घटनामा परेर काम नलाग्ने भइसकेको छ । बाँकी पाँच वटा जहाज नेपालको भूगोलमा उडान गर्नसक्ने अवस्थामा छैनन् भने चिनियाँ पाइलट नै आवश्यक पर्ने भएपछि जहाज थन्किएका छन् ।

अरू जहाजको तुलनामा चिनियाँ जहाज उडाउँदा चार गुणा महँगो पर्न जान्छ । पाटपुर्जा ७५ प्रतिशत महँगा छन् । जहाजको बिमा, पार्किङ शुल्क, डिप्रिसिएसन रकमलगायत जोड्दा अर्बाैँ रुपैयाँ नोक्सानी भइसकेको छ । निगमले चिनियाँ जहाज बिक्रीका लागि टेन्डर गरे पनि बिक्री भएका छैनन् ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया