दशैँमा निधार खाली नहुँदा खुसी भए कैदीबन्दी

 कात्तिक ७, २०८० मंगलबार १९:४२:३३ | रासस
unn.prixa.net

तनहुँ – विजयादशमीको अवसरमा आफन्तको हातबाट टीका लगाउन पाएपछि तनहुँ कारागारका कैदीबन्दी खुसी भएका छन् । विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले आज आफन्तको हातबाट टीका लगाएपछि खुसी व्यक्त गरेका हुन् ।

‘दशैँका बेला निधार खाली हुन्छ कि भन्ने चिन्ता थियो, तर त्यस्तो भएन, आफन्त आउनुभयो, टीका लगाइदिनुभयो,’ तनहुँ कारागारमा जेल सजाय भोगिरहनुभएका एक कैदीबन्दीले खुसी हुँदै भन्नुभयो, ‘कारागारमै हुँदा पनि दशैँको टीका लगाउन पाएँ खुसी लागेको छ ।’ कारागारमै रहनुभएका अर्का एक कैदीले पनि दशैँ टीका लगाउन पाएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘कारागारमै टीका लगाउन पाउँदा घरमै बसेर दशैँ मनाए जस्तो भयो । कारागारभित्रको अवस्था पनि दशैँमय बनेको छ ।’

कारागार प्रशासनले कैदीबन्दीलाई आफन्तको हातबाट टीका लगाउन पाउने व्यवस्था मिलाएको थियो । दशैँमा कैदीबन्दीको निधार खाली नहोस् भन्ने उद्देश्यसहित टीका लगाउने व्यवस्था मिलाइएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ४० जना कैदीबन्दीलाई आफन्तले टीका लगाइदिएका थिए । एक जनाका कैदीबन्दीका तर्फबाट दश जनासम्म आफन्त आउनुभएको थियो ।

अधिकारीले भन्नुभयो, ‘समय व्यवस्थापन मिलाएर कैदीबन्दीलाई आफन्तको हातबाट टीका लगाउने व्यवस्था मिलाइएको थियो, टीका लगाउन पाउँदा उहाँहरुमा खुसीयाली छाएको छ ।’ कैदीबन्दीले दशैँ मनाउनका लागि आवश्यकपर्ने खसीबोका खरिद गर्नका लागि कोष बनाएका छन् । कोषमा सबै कैदीबन्दीले रकम जम्मा गरेका छन् । त्यस कोषमा जम्मा गरिएको रकमले खसी, कुखुरालगायत खरिद गरिएको छ।

सरकारले दशैँ खर्चबापत प्रत्येक कैदीबन्दीलाई तीन सय रुपैयाँका दरले रकम उपलब्ध गराउँछ, त्यो रकम र मुढा बिक्री गरेर कमाएको पैसा कैदीबन्दीले कोषमा राखेका थिए । तनहुँ कारागारमा दुई सय ८२ कैदीबन्दी छन् । दशैँका लागि कैदीबन्दीले मुढा बुन्ने काम पनि गरिरहेका छन् । मुढा बुनेर कैदीबन्दीले घरमा दशैँ खर्च पठाउने गरेका छन् । कारागारमा बुनिएको मुढा तीन सय ५० देखि एक हजार रुपैयाँसम्म बिक्री हुने गरेको कारागारका चौकीदार रामकुमार बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार दशैँमा पाँच लाख रुपैयाँ बराबरको मुढा बिक्री हुने अनुमान गरिएको छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया