सौराहामा विदेशी पर्यटकले मनाए दशैँ , टीका र जमरा थाप्न पाउँदा दङ्ग

 कात्तिक ७, २०८० मंगलबार २०:३०:४६ | रासस
unn.prixa.net

चितवन – चितवनको  पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दशैँ मनाएका छन् । हिन्दुहरूको विशेष चाड बडादशैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै  विदेशी पर्यटकले सौराहाको  होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दशैँ मनाएका हुन् ।

सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरी, बुबा ८६ वर्षीया मनु गिरी र उहाँकी श्रीमती वर्षा पुरी (गिरी)ले विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिनुभयो । उहाँहरूसँगै क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरी, रेवान सौराहाका अध्यक्ष नरेश गिरी, पूर्व अध्यक्ष गोकर्ण गिरीसहितले पालैपालो टीका र जमरा लगाउँदा पर्यटक दङ्ग देखिन्थे ।

नेदरल्यान्डदेखि सौराहा घुम्न आउनभएका २६ वर्षीय पर्यटक डेविट राईट यस पटक टीका र जमरासँगै नेपालीको दशैँ मनाउन पाउँदा निकै खुसी देखिनुहुन्थ्यो । ‘मैले नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दशैँ मनाएको छु, धन्यवाद नेपाली,’ उहाँले भन्नुभयो ।

अर्का पर्यटक २१ वर्षीया माइका पनि निकै हर्षित देखिनुहुन्थ्यो । उहाँले आगामी वर्ष पनि  नेपालमा आएर दशैँ मनाउने बताउनुभयो । ‘विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु,’ विदेशी पर्यटक माइकाले भन्नुभयो ।

चितवनको सौराहामा यतिबेला पर्यटकीय मौसम शुरु भइसकेको छ भने यहाँ आउने विदेशी पर्यटकलाई हरेक होटलले दशैँ मनाउने परम्परा बनाएका छन् । हरेक नेपाली चाडवाड बारेमा विदेशीलाई समेत पहिचान गराउन आफूहरुको मुख्य उद्देश्यसमेत रहेको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताउनुभयो । ‘हामीले विगतमा पनि यसरी पर्यटकलाई दशैँमा सँगै राखेर मनाएका थियौँ,’ उहाँले भन्नुभयो, ‘हाम्रो मौलिक संस्कृतिको संरक्षणमा एउटा कासेढुङ्गा सावित हुनेछ ।’

नाकाबन्दी, नारायणगढ–मुग्लिन सडक र कोरोनाका कारण प्रायः विदेशी पर्यटकको सुनसान हुने सौराहामा यतिबेला विदेशी पर्यटकको घुइँचो लागेको छ । दशैँसँगै पछिल्लो तीन दिनयताको आँकडाअनुसार तेस्रो देशका पर्यटकको सङ्ख्या ४० प्रतिशत, भारतीय २० प्रतिशत र १० प्रतिशत चिनियाँ पर्यटक रहेको क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले जानकारी दिनुभयो ।

पर्यटकलाई यहाँका वन्यजन्तु, बाघ, गैँडा, हिमाल र पहाडले मात्र तान्दैन, दशैँ, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेका छन् । विदेशीलाई दशैँको अवसर पनि विशेष लाग्ने गर्छ । जमरा, टीका र चङ्गा चेटमा उनीहरू रमाउने गरेका छन् ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया