पर्वत : पहिराेकाे उच्च जाेखिममा रहेकाे कुवापानीका ६ वटा घर स्थानान्तरण गर्न भूगर्भविद्को सुझाव

 कात्तिक ९, २०८० बिहीबार १४:३:३४ | रासस
unn.prixa.net

पर्वत - पर्वतको जलजला गाउँपालिका–५ कुवापानीका छ वटा घर स्थानान्तरण गर्न भूगर्भविद्को टोलीले सुझाव दिएको छ । बस्तीभन्दा माथिको पहाडबाट खसेको पहिराेले ठूलो नोक्सान पुर्‍याएपछि अध्ययनको लागि पुगेको खानी तथा भूगर्भ विभागको टोलीले जोखिममा परेका छ वटा घर तत्काल स्थानान्तरण गर्न सुझाव दिएको हो । 

खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले गएकाे भदौ २१ गते पहिरोस्थलमै पुगेर अध्ययन तथा अनुसन्धान गरेको थियो । विभागका भूगर्भविद् अनिस खनाल, प्राविधिक विरास मल्ल र ईश्वर न्यौपानेको तीन सदस्यीय विज्ञ टोलीले हालै अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ती घर तत्काल स्थानान्तरण गर्न सुझाव दिएको पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले जानकारी दिनुभयो । 

पहिरोको चपेटामा परेका स्थानीय नगेन्द्र कार्की, पदम कार्की, डम्बर खत्री, लालबहादुर जीसी, रेशमबहादुर कार्की र डेकबहादुर कार्कीको घर सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने भएको आचार्यले जानकारी दिनुभयो । पहिरोस्थलको अध्ययनपछि भूगर्भविद्ले दिएको प्रतिवेदनको आधारमा पीडित परिवारलाई स्थानान्तरणका लागि आवश्यक जग्गा व्यवस्थापन र समन्वय तथा सहकार्यका लागि जिल्ला विपद् व्यवस्थापन समिति र जलजला गाउँपालिकाले पहल गरिरहेको छ ।

अब वर्षा हुनु अगावै ती घरहरू सुरक्षित ठाउँमा सारिएन भने फेरि पहिरोले जोखिम निम्त्याउन सक्ने भएकाले पालिका र पीडितबीच समन्वय गरेर नयाँ ठाउँमा घर निर्माण गर्नका लागि पहल गरिएको समेत प्रजिअ आचार्यको भनाइ छ । कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका–६ वटा घर विस्थापित हुनुका साथै झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । असार दोस्रो हप्तादेखि पानी परेको समयमा आउने लेदोसहितको पहिरोले अहिलेसम्म छ वटा घरपरिवार समस्या परेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो ।

'पानी पर्नासाथ पहिरो खस्ने समस्या छ, हामीले आउँदाे वर्षायाम अघिनै उनीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सकेनौँ भने फेरि ठूलो जोखिम आउन सक्छ, हामी त्यसतर्फ सचेत बनेर कार्ययोजनामा लागेका छौँ', आचार्यले भन्नुभयो । वर्षायाममा ती पाँच परिवार स्थानीय सामुदायिक भवन र आफन्तको घरमा शरण लिएर बसेका थिए । वर्षा सकिएसँगै उनीहरू घर फर्किएका छन् ।

कुवापानीको जङ्गलबाट आएको पहिरोसहितको लेदोले आफ्नो मात्रै झण्डै ५० रोपनी बढी जमिन बगर बनेको पहिरो पीडित पदम कार्कीले बताउनुभयो । पहिरोले गर्दा खेतबारीमा लगाएको मकै, सिमी, कोदो, धान नष्ट गरेको थियो । याे पहिरोकै कारण पूर्ण गाउँमा रहेको बराह ताल पूर्णरुपमा बगर बनेको छ । त्यहाँ रहेका कार्की र घर्तीका दुई वटा मन्दिरमा क्षति पुगेको छ । 

त्यसैगरी मल्लाज हुँदै मालगाउँबाट म्याग्दीको नागी जाने सडकमा पूर्णरुपमा क्षति पुर्‍याएको थियो । जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार यस वर्षको वर्षायाममा जिल्लाभर २७ वटा घरमा क्षति पुगेका छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया