भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर

 कात्तिक १०, २०८० शुक्रबार २०:२:२७ | रासस
unn.prixa.net

धनगढी – सीमा क्षेत्रका सहरमा एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक कारोबारमा प्रतिकूल असर पुगेको छ । नेपाली बजारमा भारतीय मुद्राको कारोबार रोकिँदा आर्थिक कारोबारमा समस्या भइरहेको धनगढीका व्यापारी सुभाश चौधरीले बताउनुभयो । ‘नेपाल राष्ट्र बैंकले एक सयभन्दा बढी दरको भारु नोटको कारोबार नगर्न भनेको छ,’ चौधरीले भन्नुभयो, ‘कुनै पनि ग्राहकले भारु नोट लिन मान्दैनन्, यसले गर्दा आफूहरुको व्यापारमा नकारात्मक असर पुगेको छ ।’

भारुको कारोबार रोकिँदा काम विषेशले भारतका सहरमा जानुपर्ने सर्वसाधारणलाई बढी समस्या हुने गरेको छ । भारतबाट नेपाल भित्रिन चाहने भारतीय नागरिकसमेत समस्या परेका छन् । गौरीफन्टा सीमानाका हुँदै धनगढी भित्रिन चाहने कतिपय भारतीय नागरिक पाँच सय दरको भारु नोट नचल्ने सूचना पाएसँगै सीमा क्षेत्रबाट नै फर्किन थालेका छन् ।

नेपाली मुद्रामा कारोबार हुने सीमापारी बनगाउँका व्यापारीले नेपाली ग्राहकसँग नेरुको भारु सटही गर्दासमेत कतिपय ग्राकह ठगिने गरेको अर्को समस्या पनि छ । उनीहरूले सटही गर्दा चलनचल्ती भन्दा कम दिने गरेको मालसामान किनमेलका लागि बनगाउँ बजार पुग्ने नेपाली ग्राहकले बताएका छन् । चाडपर्व शुरु भएसँगै बनगाउँ बजारमा मालसामान किनमेलका लागि नेपाली ग्राहकको भीड लाग्ने गरेको छ ।

सीमाक्षेत्रका नेपाली बजार क्षेत्रमा खाने तेल, मरमसला, चिनी, दालका साथै लत्ताकपडाको मूल्यको तुलनामा बनगाउँमा केही सुपथ मूल्यमा मालसामान पाइने भएपछि बनगाउँ पुग्नु परेको उपभोक्ताले बताएका छन् । नेपालका बजारमा खाने तेल, चिनी, दाललगायत उपभोग्य सामानको मूल्य चर्को हुँदा आफू सामान किनमेल गर्न बनगाउँ पुगेको कैलाली भन्सारमा भेटिनु भएकी धनगढीकी मनमति विष्टले बताउनुभयो ।

बनगाउँ बजार जाने ग्राहकमध्ये ९५ प्रतिशत ग्राहक नेपाली हुने गरेका छन् । त्यस क्षेत्रमा व्यवस्थापन भएको गौरीफन्टा बजार केही वर्षअघि हटाउन लगाइएपछि नजिकैको बनगाउँमा बजार व्यवस्थापन गरेर व्यापारीले कारोबार थालेका हुन् । त्यहाँ नेपाली ग्राहकको भीड लाग्न थालेपछि धनगढी, अत्तरिया लगायतका नेपाली बजारको कारोबार बढ्न नसेकेको नेपाली व्यापारीले बताएका छन् । ‘कोरोना कालदेखि खस्किएको व्यापार अझैसम्म सुधार हुन सकिरहेको छैन,’ व्यापारी वासुदेव जोशीले भन्नुभयो, ‘चाडपर्वका बेला व्यापार बढ्ने आशा गरिए पनि सुधार हुन सकिरहेको छैन ।’ भारतीय बजार भएर पनि बनगाउँमा नेपाली रुपैयाँमा सहज रुपमा कारोबार हुने गरेकाले ग्राहकलाई भारु सटही गरेर जानुपर्ने बाध्यता हुँदैन ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया