चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणको उच्च व्यवस्थापनले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेशनको निर्माण तत्काल सम्पन्न गर्न ताकेता गरेको छ ।
चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युतकाे बिजुली खेर जान नदिन आयोजनाको बिजुली जोडिने सबस्टेशन निर्माण सम्पन्न गर्न प्राधिकरणको उच्च व्यवस्थापनले ताकेता गरेको हो ।
कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले बिहीवार सबस्टेशन निर्माणस्थलको अनुगमन भ्रमण गरी बाँकी काम तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ । टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिकालगायतका विषयमा छलफल गरेको थियो । सबस्टेशनको निर्माण आउँदाे माघको पहिलो हप्ताभित्र सम्पन्न गर्ने तालिका तय गरिएको छ ।
कार्यकारी निर्देशक घिसिङले निर्माण व्यवसायीले पछिल्लो समयमा आफ्नो कार्यसम्पादनमा सुधार गरी सबस्टेशन निर्माणमा राम्रो प्रगति हासिल गरेको बताउनुभयो । घिसिङले सबस्टेशनमा राखिने उपकरणहरू आपूर्ति भइसकेको र केही जडान पनि भइसकेको अवस्थामा जनशक्ति थप गरी जडान कार्यलाई तीव्रता दिन निर्देशन दिनुभयो ।
‘मध्यभोटेशी बिजुली उत्पादन शुरु गर्ने अवस्थामा पुगेको छ, आयोजनाबाट बिजुली उत्पादन शुरु हुनुभन्दा पहिले नै सबस्टेशन निर्माण सम्पन्न गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘काठमाण्डाै उपत्यका नजिक रहेको मध्यभोटेकोशीले यस वर्षको सुक्खायामको बिजुलीकाे माग धान्नका लागि ठूलो सहयोग गर्छ, त्यसैले सबै गम्भीर भएर सबस्टेशन निर्माणमा लागेर आयोजनाको बिजुली जतिसक्दो छिटाे जोड्ने अवस्थामा पुगौँ, हाम्रोतर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्न तयार छौँ ।’
बाह्रबिसे सबस्टेशन निर्माण ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एन्ड सबस्टेशन कन्ट्रक्शन र सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेशनको निर्माणमा ढिलाइ हुँदै आएको छ ।
प्राधिकरणले कार्यसम्पादन सुधार्न पटक पटक दिएको निर्देशन निर्माण व्यवयासीले पालना नगर्दा सबस्टेशन निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ । प्राधिकरणले सबस्टेशनको निर्माण सम्पन्न नभई मध्यभोटेकोशीको बिजुली जोड्न नसकिएमा त्यसको क्षतिपूर्ति निर्माण व्यवसायीबाट भराउने चेतावनी दिँदै आएको छ ।
सबस्टेशनमा राखिने पावर ट्रान्सफर्मरहरू जडान भइसकेका छन् । सबस्टेशनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरू राखिएका छन् । ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित सबस्टेशनका उपकरणहरू जडान भइरहेका छन् । नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरण निर्माणस्थलमा आपूर्ति भइसकेका छन् भने जडान बाँकी छ । सिभिलतर्फको फिनिशिङ काम बाँकी छ । २२०/१३२ केभी सबस्टेशन निर्माणको समग्र प्रगति झन्डै ९० प्रतिशत छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेशन पनि निर्माणाधीन छ ।
कार्यकारी निर्देशक घिसिङको टोलीले मध्यभोटेशी जलविद्युत् आयोजनाको पनि अनुगमन गरेको थियो । आयोजना पुसभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरू भइरहेका छन् ।
मध्यभोटेकोशीबाट उत्पादित बिजुली २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेशनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युत् गृहकाे स्विचयार्डबाट बाह्रबिसे सबस्टेशनसम्मको झन्डै चार किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको टावरहरू निर्माण गरिसकेको छ । प्रसारण लाइनको झन्डै दुई किलोमिटर तार तानिएको छ ।
बाह्रबिसे नगरपालिका–३ र ४ पलाँतीका स्थानीयवासीकाे अवरोधका कारण दुई किलोमिटर तार तान्न नसकिएको मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल सिवाकोटीले बताउनुभयो । समस्या समाधानका लागि स्थानीयवासीसँग निरन्तर छलफल भइरहेकाले छिटै सहमतिमा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
प्राधिकरणले मध्यभोटेशीको बिजुली प्रवाहका लागि अस्थायीरूपमा वैकल्पिक व्यवस्था गरेको छ । तर त्यसका लागि पनि २२०/१३२ केभी बाह्रबिसे सबस्टेशनको निर्माण अनिवार्य छ । २२ मेगावाटको माथिल्लो चाकू ए जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनलाई डबल बनाउन लागिएको छ । शिवश्री हाइड्रोपावरले लामोसाँघु सबस्टेशनबाट बाह्रबिसेसम्म बनाउनुपर्ने याे लाइनको काम तत्काल शुरु गर्न प्राधिकरणको उच्चस्तरीय टोलीले आग्रह गरेको छ ।
कम्पनीले झन्डै १० किलोमिटर लाइनमध्ये सात किलोमिटर तार तान्नुपर्ने छ भने बाह्रबिसे बजार नजिकबाट सबस्टेशनसम्म झन्डै तीन किलोमिटर नयाँ प्रसारण लाइन बनाउनुपर्ने छ । यसका लागि प्रसारण लाइनका उपकरणहरू आपूर्ति भइसकेका छन् । कार्यकारी निर्देशक घिसिङले याे प्रसारण लाइनमा पर्ने टावर निर्माणको काम तत्काल शुरु गर्न कम्पनीका प्रतिनिधिलाई आग्रह गर्नुभयो ।
तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालाको जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी–काठमाण्डाै प्रसारण लाइन र सबस्टेशन निर्माण शुरु गरिएको हो । एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेशनको निर्माण भइरहेको छ ।
तामाकोशी–काठमाण्डाै २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापमा रहेकाे नयाँ खिम्ती सबस्टेशनबाट बाह्रबिसेसम्म ४४ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । प्रसारण लाइनमा पर्ने ११८ वटा टावरमध्ये १३ वटाको मात्र निर्माण बाँकी छ । त्यसमध्ये १२ वटा सिन्धुपाल्चोकमा वन क्षेत्रमा निर्माण गर्नुपर्ने छ । एउटा टावर नयाँ खिम्ती सबस्टेशन नजिक स्थानीयको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन । प्रसारण लाइनको २७ किलोमिटर तार तानिएको छ ।
त्यस्तै बाह्रबिसेबाट काठमाण्डाैकाे लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन पनि निर्माणाधीन छन् । ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १२२ वटा टावरमध्ये लप्सीफेदीका स्थानीयको अवरोधका कारण चार वटा टावर निर्माण हुन सकिरहेको छैन । १९ किलोमिटर तार तानिएको छ । ४००/२२० र १३२/११ केभी लप्सीफेदी सबस्टेशन स्थानीयवासीकाे अवरोधका कारण निर्माण नै सुरु हुन सकिरहेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।