धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
विश्वकै सबैभन्दा कम रहेको दक्षिण कोरियाको जन्मदर झनै घटेको छ । दक्षिण कोरियाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२३ मा देशको जन्मदर आठ प्रतिशतले घटेर शून्य दशमलव ७२ प्रतिशतमा झरेको छ ।
हरेक वर्ष जन्मदर घटिरहेको दक्षिण कोरियामा सन् २०२२ को जन्मदर शून्य दशमलव ७८ प्रतिशत र सन् २०२१ मा शून्य दशमलव ८१ प्रतिशत थियो । विकसित देशको जनसङ्ख्या स्थिर राख्न प्रतिमहिला जन्मदर दुई दशमलव एक आवश्यक हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।
दक्षिण कोरियामा जन्मदर घट्ने क्रम यही गतिमा रहने हो भने अबको ५० वर्षमा काम गर्ने उमेरका मानिसको सङ्ख्या आधा हुने र सन् २१ सयसम्ममा जनसङ्ख्या नै आधा हुने भन्दै काेरियाली अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । सन् २१ सयसम्ममा दक्षिण कोरियाको आधा जनसङ्ख्या ६५ वर्षमाथिको हुने देखिएको छ ।
यसले देशको अर्थतन्त्रसँगै निवृत्तीभरण र सामाजिक सुरक्षामा नराम्रो असर पुग्ने भन्दै दक्षिण कोरियाका राजनीतिज्ञहरूले यसलाई राष्ट्रिय सङ्कटकाल भनेका बीबीसीले जनाएको छ । दक्षिण कोरियाका महिलाहरूले कामको निरन्तर चक्रमा अड्किनुपर्दा आफूहरूसँग बच्चा जन्माउन पर्याप्त समय नभएको प्रतिक्रिया दिएका छन् ।
निरन्तर काम गर्न नसके आफू पछाडि परिने वा असफल हुने उनीहरूको तर्क छ । एक पुस्ताको अवधिमा गरिबीबाट विकसित देशको स्थितिमा पुगे पनि दक्षिण कोरियाको सामाजिक सुरक्षा कमजोर छ । तर बच्चा जन्माउनेहरूलाई भने नगद भुक्तानीसहितका सुविधा दिएर आकर्षित गर्न खोजे पनि प्रयास सफल भएको छैन ।
सन् २०२२ देखि दक्षिण कोरियाले बच्चा जन्मँदा आमालाई २० लाख कोरियाली वन अर्थात् एक हजार पाँच सय १० अमेरिकी डलर दिँदै आएको छ । त्यसपछि एक वर्षसम्म प्रत्येक महिना सात सय ५५ अमेरिकी डलर र दुई वर्षसम्म प्रत्येक महिना तीन सय ७७ अमेरिकी डलर दिने गर्छ ।
यस्तै प्राथमिक विद्यालय पढ्ने बेलासम्म प्रत्येक महिना एक सय ५१ अमेरिकी डलर दिने गर्छ । यसरी बच्चा जन्माउने दम्पतीलाई दक्षिण कोरियाले झन्डै १३ लाख रुपैयाँ बराबर नगद भुक्तानी दिए पनि जन्मदर घटिरहेको छ ।
चीन, जापानलगायत विश्वका अरू विकसित देशमा पनि जनसङ्ख्या घटिरहेको भए पनि दक्षिण कोरियाको जस्तो चरम सङ्कट अरू देशमा छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।