भिजिट भिसामा विदेश जानेले टिकट काट्नुअघि अध्यागमनसँग पूर्व स्वीकृति लिनु पर्ने

 भदौ २४, २०७९ शुक्रबार १६:५२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भिजिट भिसामा विदेश घुम्न जानेहरूले अब टिकट काट्नुअघि नै अध्यागमन विभागबाट अनुमति लिन पर्ने भएको छ । गृह मन्त्रालयले गएको साउन ३० गते मन्त्री स्तरबाट स्वीकृति गरेको पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९ ले यस्तो व्यवस्था गरेको हो ।

यो कार्यविधिले गरेका व्यवस्थाहरू गृह मन्त्रालयबाट कार्यविधि स्वीकृति भएको ६० दिन अर्थात् आउँदो कात्तिक महिनादेखि लागू हुनेछ । पहिलो चरणमा खाडीका देशहरू, मलेसिया, अफ्रिकी देशहरू तथा दक्षिण अमेरिकी देशमा पर्यटक भिसामा जाने नेपालीका लागि यसले गरेको व्यवस्था लागू हुनेछ ।

यो कार्यविधिले सरकारी कर्मचारी, जनप्रतिनिधिदेखि विभिन्न क्षेत्र तथा पेसा व्यवसायमा आबद्धहरू र अन्य व्यक्तिहरूका लागि विभिन्न व्यवस्था गरेको छ । कार्यविधिले तोकेका देशमा पर्यटक भिसामा जानेहरूले जहाजको टिकट काट्नुअघि अध्यागमन विभागबाट स्वीकृति लिनु पर्नेछ ।

कार्यविधि अनुसार, भिजिट भिसामा विदेश घुम्न जान चाहने नेपाली नागरिकले त्यसको स्वीकृतिका लागि विभागको अनलाइन प्रणालीमार्फत कम्तीमा सात दिनअघि नै निवेदन दिन पर्छ । अहिले अनलाइन प्रणाली बनिरहेको गृह मन्त्रालयले जनाएको छ ।

क–कसले लिनुपर्छ पूर्व स्वीकृति ?

पर्यटकको रूपमा घुम्न जाने व्यक्ति र उनीहरूको परिवार, विदेशमा रहेका आफन्त भेट्न जाने आफन्तका परिवारका सदस्य, नेपालमा आयात निर्यात गर्ने व्यावसायिक संस्थाका सञ्चालक र नेपालको कानुन अनुसार स्थापित सङ्घ संस्थाका सञ्चालकले भने पूर्व स्वीकृति लिन पर्नेछ । 

यस्तै प्राज्ञिक शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थी, शिक्षक र व्यवस्थापक, दक्ष रोजगार मूलक अन्तरवार्ता, व्यावसायिक तालिम तथा अध्ययन भ्रमण, व्यावसायिक प्रदर्शनी, खेलकुद, फिल्म तथा गीत सुटिङ तथा कला, सांस्कृतिक कार्यक्रममा जाने व्यक्तिहरूले पनि टिकट काट्नुअघि नै विदेश भ्रमणका लागि तोकिएको कागजातसहित पूर्व स्वीकृति लिन पर्नेछ । 

कसलाई लिन पर्दैन ?

कार्यविधिले सरकारी कामको सिलसिलामा जाने नेपाल सरकारका पूर्ण वा आंशिक स्वामित्वमा रहेका अर्धसरकारी निकायका प्रतिनिधि, जनप्रतिनिधि, राजनीतिक दलका केन्द्रीय पदाधिकारी, सरकारी कर्मचारी र तिनका परिवारका सदस्य, सूचना सङ्कलन तथा व्यवसाय प्रवर्द्धनका लागि जाने पत्रकार तथा सञ्चार गृहका सञ्चालक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएका व्यक्ति, ज्येष्ठ नागरिकले विदेश भ्रमणमा जाँदा पूर्व स्वीकृति लिन पर्ने छैन । 

यस्तै उच्च शिक्षा हासिल गरेका र विगतमा विदेश बसेका व्यक्ति र तिनका परिवार, विभिन्न पेसागत सङ्घ तथा महासङ्घ प्रतिनिधि, म्यानपावर व्यवसायी,  विदेशमा रहेका आफन्त बिरामी परेर कुरुवा जानेहरू र आफन्तको मृत्यु भएमा भने उसका आफन्तहरूले भने पूर्व स्वीकृति लिन पर्ने छैन । 

तर नेपालबाट जाँदा विमानस्थलमा कार्यविधिले उल्लेख गरेको र प्रचलित कानुनले तोकेका कागजात भने देखाउन पर्नेछ । 

चाहिन्छन् यी कागजात

नियमित यात्रु अर्थात् उच्च शिक्षा हासिल गरेका र विगतमा लामो समय विदेश बसेका व्यक्तिहरूले भिजिट भिसामा जानका लागि भारत, मलेसिया र खाडीका देश बाहेक कम्तीमा अन्य दुई देश घुमेको अभिलेख पेस गर्नु पर्छ । 

यस्तै उच्च शिक्षा हासिल गरेकाको हकमा प्राविधिक विषय भएमा कम्तीमा डिप्लोमा तह र अन्य विषयको हकमा स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र हुनुपर्छ । विगतका दिनमा विदेश बसेका व्यक्तिको हकमा भने भारत, मलेसिया र खाडीका देश बाहेक अन्य देशमा कम्तीमा दुई वर्ष बसेको देखिन पर्छ । साथमा दुईतर्फी हवाई टिकट र गन्तव्य देशमा होटेलको वेबसाइटमा खुल्ने गरी होटेल बुक गरेको प्रमाण वा गन्तव्य देशमा भएको आफन्तको नम्बरसहितको विवरण उपलब्ध हुनुपर्छ । 

पर्यटकको रूपमा घुम्न जाने व्यक्ति र तिनका परिवारका सदस्यले भने परिवारका सदस्यबीच नाता सम्बन्ध खुल्ने सरकारी कागजात, कम्तीमा चार लाख रुपैयाँ वार्षिक आम्दानी र कर प्रणालीमा आबद्धता खुल्ने कागजात हुनुपर्छ भने अनलाइन प्रणालीमा पूर्व स्वीकृतिका लागि निवेदन दिँदा बैङ्क खातामा २ लाख रुपैयाँ भएको प्रमाण पेस गर्नुपर्छ ।

आम्दानीको आधारमा सङ्घ, प्रदेश र स्थानीय तहलाई कर तिरेको प्रमाण पनि पेस गर्नुपर्छ भने साथमा दुईतर्फी हवाई टिकट र गन्तव्य देशमा होटेलको वेबसाइटमा खुल्ने गरी होटेल बुक गरेको प्रमाण वा गन्तव्य देशमा भएको आफन्तको नम्बरसहितको विवरण उपलब्ध हुनुपर्छ । 

विदेशमा रहेका आफन्त भेट्न जाने परिवारका सदस्यले परिवारका सदस्यबीच नाता सम्बन्ध खुल्ने सरकारी कागजात, गन्तव्य देशमा रहेको आफ्नो मानिसको राहदानी, भिसा र आवास अनुमति पत्रको फोटोकपी, विदेशमा रहेको आफन्तले गरेको प्रयोजन पत्र, र आफन्त कार्यरत रहेको कम्पनी वा निकायले उ कार्यरत रहेको ब्यहोराको कम्तीमा १५ दिन भित्रको पत्र पनि आवश्यक पर्छ ।

दुईतर्फी हवाई टिकट र गन्तव्य देशमा होटेलको वेबसाइटमा खुल्ने गरी होटेल बुक गरेको प्रमाण वा गन्तव्य देशमा भएको आफन्तको नम्बरसहितको विवरण उपलब्ध हुनुपर्छ । यसका साथै आफन्त बाहेक अन्य नातेदारलाई भेट्न जानु पर्ने भएमा सम्बन्धित देशमा रहेको नेपाली नियोगले गन्तव्य देशमा रहेका नेपाली नागरिकको परिवारलाई भेट्न आउन दिन गरेको सिफारिससमेत आवश्यक पर्छ । 

अध्यागमन विभागबाट पूर्व स्वीकृति प्रदान गर्नका लागि एउटा छुट्टै कार्यदल रहने र कार्यदलले प्राप्त भएको निवेदनको पाँच दिन भित्र निर्णय गरी त्यसको जानकारी सम्बन्धित व्यक्तिले उपलब्ध गराएको इमेल वा मोबाइल नम्बरमा दिनेछ । 

भिजिट भिसामा वैदेशिक रोजगारीमा जाने क्रम रोक्न कार्यविधि : गृह मन्त्रालय

पछिल्लो समय भिजिट भिसामा वैदेशिक रोजगारीमा जाने र गन्तव्य देशमा पुगेर अलपत्र पर्ने क्रम बढेपछि विभिन्न सर्तसहितको यो कार्यविधि ल्याइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताउनुभयो । 

‘घुम्ने भिसामा मानिस विदेशमा गएर अलपत्र पर्दा के गर्ने, त्यसैले सरकारले वैदेशिक रोजगारीमा जानेहरू त्यही प्रक्रियामा जाउन र भिजिट भिसामा जानेहरू घुमेर देश फर्किउन भनेर यो नियम ल्याइएको हो’ प्रवक्ता पोखरेलले भन्नुभयो । 

पछिल्लो समय भिजिट भिसामा यूएई लगायत खाडीका देशमा म्यानपावर र एजेण्टले लाखौँ रुपैयाँ लिएर पुर्‍याउने र अलपत्र पर्ने क्रम बढ्दो छ । यही क्रम बढेपछि नै विभिन्न सर्तसहितको कार्यविधि ल्याउनु परेको सरकारले बताउँदै आएको छ ।

तर मानिसको बिना रोकावट घुम्न पाउने अधिकार नै कुण्ठित हुने गरी कार्यविधि ल्याइएको भन्दै आलोचना भइरहेको छ । तर प्रवक्ता पोखरेल भन्नुहुन्छ, ‘कार्यविधि ल्याउँदा सुरुमा केही अप्ठेरा भएमा त्यसलाई फुकाउँदै जाउँला, तर सरकारको लक्ष्य भनेको भिजिट भिसामा मानिसहरू विदेश नजाउन र अलपत्र नपरून् भन्ने हो ।’

नेपालबाट वैदेशिक रोजगारीमा जाने छुट्टै प्रक्रिया छ । वैदेशिक रोजगारमा जानेहरूले सरकारसँग अनिवार्य श्रम स्वीकृति लिएर जानुपर्छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकहरू गन्तव्य  देशमा अप्ठेरो पर्दा वा ठगीमा परेमा कारबाही गर्ने र क्षतिपूर्ति भराउने पनि कानुनी व्यवस्था छ । 

1 Comments

  • Ramesh Hari Adhikari

    Sept. 12, 2022, 9 p.m.

    नेपालको निजामती सेवामा ३७ बर्स भन्दा बढी अबधि सेवा गरेको सधै राजधानी बाहिरका जिल्लामा बसि MPA पढ्न नपाइ राजपत्राकित तृतिय श्रेणी भन्दा माथी दर्जा उकास्ने अबसर बाट बन्चित संघीय तहको सेवा निबृत्त पुर्ब कर्मचारीले आफ्नो अमेरिकी नागरिक भै सकेकी छोरीको Docctor ले Dec 12 मा डेलिभरी Date दिएको निजामती सेवा निबृत्त बाबु र नेपाल सरकार कै सामुदायिक बिद्यालयमा सेवारत permanent teacher अमेरिकी नागरिक छाेरी को (पहिलो सन्तान जन्मने क्रम मै नेपालमा सिजर प्रयोग भएको अवस्था ) दोस्रो सन्तान जन्मने क्रममै छोरीको मात्री शिशु स्याहार गर्न बढीमा २ देखि ६ महिना लागिअमेरिका जानु परेकाको अमेरिकी नागरीक छोरीका नेपाल सरकार सेवा निबृत्त बाबु र सरकार सेवारत शिक्षक आमा ले short term अमेरिका जादा अध्यागमन बाट पुर्ब स्वीकृति लिनु पर्छ वा पर्दैन खुलाशा हुन सकेन । उनीहरुले अमेरिका कै आर्को प्रान्त मा MD को प्रवेश परीक्षा दिन गएको छोरो ,अमेरिकाकै सीमावर्ती देश canada मा Student भिसा मा गएको अर्को छोरो लाई भेट्न् जादा अध्यागमनको पुर्ब स्विकृति लिनु पर्छ वा पर्दैन आफू संग सरोकार को सान्दर्भिक विषय भएकोे हुँदा यो पोस्ट गर्ने वा सरोकारवाला निकाय का जानीफकार्ले Reply दिनु भै सहयोग गरि दिनहुन अनुरोध छ।नेपालमा पढ्ने क्रम र पेशा ब्यबसाय मा प्रवेश र स्तरोन्नति दुबैमा आर्थिक बिपन्नतमा आधारित आरक्षण हुनुपर्ने मा जातीय आधार ले आरक्षण को दुस्प्रभाव र पेशा ब्यबसाय को सुबिधा शुन्यप्राय हुनु ले वैदेशिक अध्ययन र वैदेशिक रोजगारका लागी Braindren (प्रतिभा पलायन ) हुँदै जानु बिबशता र बाध्यात्मक अबस्था आउनु नेपाल देश र हामी आरक्षण उपेक्षित अबिभाबक को दुर्भाग्य हो भन्ने मह्शुश गरेका छौ।

तपाईको प्रतिक्रिया