वैदेशिक रोजगारीमा जानेको सङ्ख्याले बनायो नयाँ रेकर्ड, बेरोजगारी र निराशा प्रमुख कारण

 साउन २, २०८० मंगलबार १५:२:२४ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – गएको आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीमा जान अहिलेसम्मकै सबैभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् ।

सरकारले श्रम स्वीकृति लिएर जानेहरूको तथ्याङ्क राख्न थालेयताकै सबैभन्दा धेरै सात लाख ७१ हजार ३२७ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिनुभयो ।

यो सङ्ख्या पहिलो पटक श्रम स्वीकृति लिने र एक पटक वैदेशिक रोजगारीमा गएर श्रम स्वीकृति नवीकरण गर्नेहरूको पनि हो ।

उहाँका अनुसार मलेसिया र खाडीका देश साउदी, कतार, यूएई, कुवेत बहराइन लगायतका देश जानेहरूको सङ्ख्या सबैभन्दा धेरै छ । यो सँगै गएको आर्थिक वर्षमा युरोपका देशमा रोजगारीका लागि जाने नेपालीको सङ्ख्या पनि उकालो लागेको छ ।

‘सबैभन्दा धेरै त मलेसिया, साउदी, कतार, यूएईजस्ता देशमा जान श्रम स्वीकृति लिएका छन्’ निर्देशक तथा सूचना अधिकारी सुवेदीले भन्नुभयो ‘योसँगै युरोपका देश क्रोएसिया, माल्टा, रोमानिया, पोर्चुगलजस्ता देशमा पनि श्रम स्वीकृति लिएर जानेहरूको सङ्ख्या पनि अघिल्लो वर्षहरूभन्दा बढेको छ ।’

कुन वर्ष कतिले लिए श्रम स्वीकृति

वैदेशिक रोजगार विभागका अनुसार यसअघि ९ वर्षअघि आर्थिक वर्ष २०७१/०७२ मा नयाँ र नवीकरण गरेर सात लाख तीन हजार ८३२ जनाले श्रम स्वीकृति लिएका थिए । तर नौ वर्षअघि बनेको यो रेकर्ड यो आर्थिक वर्षमा तोडिएको छ ।

एक पटक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई पुनः श्रम स्वीकृति नवीकरण गर्नेहरूको तथ्याङ्क आर्थिक वर्ष २०६८/०६९ देखि राख्न थालेको हो । त्यस वर्ष नयाँ र श्रम स्वीकृति नवीकरण गर्ने गरी पाँच लाख ३८ हजार ३५५ जनाले वैदेशिक रोजगार श्रम स्वीकृति लिएका थिए ।

त्यसयता आर्थिक वर्ष २०६९/७० मा ६ लाख १५ हजार ४१६ जनाले, आर्थिक वर्ष २०७०/०७१ मा ६ लाख ९५ हजार ९२४ जनाले, २०७१/०७२ मा सात लाख तीन हजार ८३२ जनाले र २०७२/०७३ मा ६ लाख ४० हजार ९८१ जनाले श्रम स्वीकृति लिए । कोरोना महामारी सुरु हुनुभन्दा अघिसम्म पनि श्रम स्वीकृति लिनेको सङ्ख्या वार्षिक रूपमा ६ लाखकै हाराहारीमै कायम रह्यो ।

आर्थिक वर्ष २०७३/०७४ मा ६ लाख ४२ हजार ८५९ जनाले, २०७४/०७५ मा ६ लाख १२ हजार ६८५ जनाले, २०७५/०७६ मा ५ लाख ८ हजार ८२८ जनाले श्रम स्वीकृति लिएका थिए । 

तर नेपालसहित रोजगारदाता देशमा समेत फैलिएको कोरोना महामारीले वैदेशिक रोजगारीमा समेत प्रभाव पर्‍यो । नेपालबाट रोजगारीमा जानेहरूको सङ्ख्या घट्यो ।

आर्थिक वर्ष २०७६/०७७ सालमा तीन लाख ६८ हजार ४३३ जनाले, २०७७/०७८ मा एक लाख ६६ हजार ६९८ जना मात्रै विदेश उडे । तर कोरोना महामारीले थलिएको विश्व अर्थ बजार फेरि उठ्न थालेपछि नेपालबाट पनि वैदेशिक रोजगारीमा जानेहरू बढ्न थाले ।

गएको वर्ष ६ लाख ३० हजार जनाले वैदेशिक रोजगारीमा जान सरकारसँग श्रम स्वीकृति लिए । तर नेपालसहित रोजगारदाता देशमा समेत कोरोना महामारी फैलिएपछि त्यसको प्रभाव वैदेशिक रोजगारी परेपछि नेपालबाट रोजगारीमा जानेहरूको सङ्ख्या घट्यो ।

सरकारले घरेलु काममा प्रतिबन्ध लगाएका खाडी लगायतका देशमा घरेलु काम गर्न नेपाली महिलाहरू भारतका विभिन्न सहरबाट पनि बिदेसिएका छन् । तर यसरी जानेको तथ्याङ्क कसैसँग छैन ।

आर्थिक वर्ष २०७६/०७७ सालमा तीन लाख ६८ हजार, २०७७/०७८ मा एक लाख ६६ हजार जना मात्रै विदेश उडे । तर कोरोना महामारीले थलिएको विश्व अर्थतन्त्र र बजार फेरि उठ्न थालेपछि नेपालबाट पनि वैदेशिक रोजगारीमा जानेहरू बढ्न थाले । आर्थिक वर्ष २०७८/०७९ मा ६ लाख ३० हजार ९० जनाले वैदेशिक रोजगारीमा जान सरकारसँग श्रम स्वीकृति लिए ।

तर पछिल्लो समय कयौँ व्यक्तिहरू भिजिट लगायतका भिसामा श्रम स्वीकृति नै नलिई विभिन्न माध्यममार्फत वैदेशिक रोजगारीमा जाने क्रम पनि बढेको छ । सरकारले घरेलु काममा प्रतिबन्ध लगाएका खाडी लगायतका देशमा घरेलु काम गर्न नेपाली महिलाहरू भारतका विभिन्न सहरबाट पनि बिदेसिएका छन् । तर यसरी जानेको तथ्याङ्क कसैसँग छैन ।

यसका अलावा भारत रोजगारीमा कति नेपाली छन् भन्ने तथ्याङ्क पनि सरकारसँग छैन । गएको आर्थिक वर्ष २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्म एक लाख १० हजार बढीले पढ्नका लागि विभिन्न देशमा जान ‘नो अब्जेक्सन लेटर’ लिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारी बढ्नुको मुख्य कारण बेरोजगारी र निराशा

श्रम तथा आप्रवासन विज्ञ डा. गणेश गुरुङ वैदेशिक रोजगारीमा जानेहरू बढ्नुको मुख्य गरी पाँच कारणहरू औँल्याउनुहुन्छ ।

उहाँका अनुसार वैदेशिक रोजगारीमा जानेहरू बढ्नुको पहिलो कारण बेरोजगारी र त्यसले सृजना गरेको निराशा हो । कोरोना महामारीको कारण बन्द भएका कलकारखाना नखुल्नु, अहिलेको आर्थिक मन्दी लगायतको कारण बेरोजगार भएकाहरूले वैदेशिक रोजगारीको बाटो रोजिरहेका छन् । 

पछिल्ला वर्षहरूमा युरोपका विभिन्न देशहरू पोर्चुगल, माल्टा, क्रोएसिया लगायतका देशहरूमा रोजगारीको अवसर पाउन थालेकाले विदेश जान्न भनेर बसेकाहरू पनि विदेशमा राम्रो अवसर पाइन्छ भने किन नजाने भनेर विदेश थालेको डा.गुरुङ बताउनुहुन्छ । 

यस्तै कोरोना महामारीको कारण रोकिएका, कोरोनाको बेलामा देश फर्किएका, नेपालमा कुनै पनि क्षेत्रहरू कोरोना महामारीपछि लयमा नफर्किएको अवस्थाले गर्दा पनि गएको आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेहरू बढ्नुको तेस्रो कारण डा. गुरुङ ठान्नुहुन्छ ।

‘पछिल्ला वर्षहरूमा पहिले भारत जानेहरू पनि अलिअलि पैसाको जोहो गरेर खाडी नै उड्न थालेका छन्’ आप्रवासन विज्ञ डा. गुरुङ भन्नुहुन्छ देशमा बेरोजगार हुनुभन्दा विदेशमा अवसर पाइन्छ भने जान्छु भन्नेहरूको सङ्ख्या अहिले झन् झन् बढ्दो छ ।’

रोजगारी खोज्दै श्रम बजारमा प्रवेश गर्नेको सङ्ख्या ठुलो छ । बर्सेनि पाँच लाख जना रोजगारीको खोजीमा श्रम बजारमा प्रवेश गर्ने विभिन्न अध्ययनहरूले देखाउँछ । तर देशभित्रै रोजगारी सृजना गर्ने कुरा सरकारको प्राथमिकतामा परेको छैन ।

४३ प्रतिशतले देशमा भरपर्दो र जीविकोपार्जन हुने रोजगारी नपाएकै कारण फेरि वैदेशिक रोजगारीमा फर्किएको निष्कर्ष अध्ययनले निकालेको छ ।

अझ कोरोना महामारीपछिको आर्थिक मन्दीले अहिले चलिरहेको कतिपय व्यापार व्यवसाय पनि ठप्प भएको अवस्था छ । कयौँ सटरहरू बन्द भएको अवस्था छ । नयाँ कलकारखाना खुल्ने त सपना समेत देख्न सकिने अवस्था छैन ।

केही समय यता पर्यटन उद्योगले थोरै लय लिन थालेको छ । तर यसबाहेक ठुलो सङ्ख्यामा रोजगारी सृजना गर्न सक्ने अन्य क्षेत्र थला परेको अवस्थामा छ । 

राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०७७/०७८ मा प्रकाशित गरेको एक अध्ययनमा वैदेशिक रोजगारीबाट फर्किएका ५९ प्रतिशतले फेरि वैदेशिक रोजगारीमा जान नचाहेको देखाएको छ । 

अध्ययनले वैदेशिक रोजगारीबाट फर्किएका १७ प्रतिशतले मात्रै फेरि जान चाहेको देखाएको छ । तर यो अध्ययन गरिँदाको पाँच वर्षको अवधिमा वैदेशिक रोजगारीबाट नेपाल फर्किएकाहरू ३९ प्रतिशत बेरोजगार हुन परेको र ४३ प्रतिशतले देशमा भरपर्दो र जीविकोपार्जन हुने रोजगारी नपाएकै कारण फेरि वैदेशिक रोजगारीमा फर्किएको निष्कर्ष अध्ययनले निकालेको छ ।

देशभित्रै रोजगारी सृजना गर्ने भनेर सरकारले विभिन्न योजना र कार्यक्रम ल्याएको छ । तर सरकारले ल्याएका कतिपय कार्यक्रम र वास्तविकतामा ठुलो खाडल देखिन्छ । कतिपय योजना र कार्यक्रम बजेटमा घोषणा भए तर कार्यान्वयन हुन सकेका छैनन् ।

पाँच वर्ष भित्र बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ने भनेर २०७५ सालदेखि सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमले पनि अपेक्षा अनुसार बेरोजगार युवाहरूलाई रोजगारी दिन सकेन । यो कार्यक्रममार्फत वार्षिक न्यूनतम सय दिनको रोजगारी उपलब्ध हुने भनिए पनि त्यसो भएन । गाउँ गाउँमा सरकार छ ।

तर देशमै केही गर्छु भन्नेहरूले  न पालिकामा, न प्रदेशमा, न त सङ्घमा कतैबाट पनि वैदेशिक रोजगारीको विकल्प मान्ने गरी रोजगारी भेटाउन सकेनन् । जसको कारण निराशा बढ्दो छ । देशभित्र रोजगारीका अवसरहरू नभेट्टाउनु तर विदेशमा भने नयाँ नयाँ देशमा राम्रो रोजगारीको अवसर पाउनुले पनि युवाहरू वैदेशिक रोजगारीमा आकर्षित भए भन्नुहुन्छ वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदी ।

‘नयाँ नयाँ श्रम गन्तव्य देशहरूको पहिचान गर्ने काम सरकारले पनि गरिरहेको छ, राम्रो सेवा सुविधा र मानवअधिकारको दृष्ट्रिकोणले पनि राम्रो भएका देशहरूबाट पनि कामको माग आइरहेको छ’ निर्देशक सुवेदी भन्नुहुन्छ ‘ नेपालमा भने पहिलेभन्दा पनि रोजगारी खुम्चिएको हो कि भन्ने महसुस भएकाले पनि विदेशमा जानेहरू बढेका होलान् भन्ने हाम्रो अनुमान छ ।’

वैदेशिक रोजगारीमा जाने महिलाहरू पनि बढ्दै

वैदेशिक रोजगारीमा जानेहरूको लर्कोमा पुरुष मात्र होइन पछिल्लो समय महिलाको सङ्ख्या पनि बढ्दो छ । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका मध्ये झण्डै १० प्रतिशत महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । यो सङ्ख्या अघिल्लो वर्षहरूको तुलनामा बढेको हो ।

यसले नेपालीहरू कमाउन खाडी नै जाने, दुःख मात्रै पाउने र बाकसमा फर्किने आम बुझाइलाई केही हदसम्म बदल्न सक्ने भए पनि चुलो बाल्न वैदेशिक रोजगारी नै रोज्नु पर्ने बाध्यता भने नफेरिने सङ्केत गरिरहेको छ ।

पछिल्लो समय राजनीतिक र सामाजिक कारणले गर्दा पनि महिलाहरूको हरेक क्षेत्रमा सहभागिता बढेको विज्ञहरू बताउँछन् । साथसाथै हिजोआज महिलाहरुले पनि कमाइको बाटो खोज्न थालेकाले पनि वैदेशिक रोजगारीमा जाने महिलाहरूको सङ्ख्यामा वृद्धि भएको आप्रवासन विज्ञ चाँदनी राणाको भनाई छ ।

उहाँ भन्नुहुन्छ ‘पछिल्लो समय महिलाहरू पनि पैसा आउने बाटो खोजिरहेका छन्, हाम्रो समाजले पनि महिला विदेश जाने कमाउने कुरालाई स्वीकारेको छ र पछिल्लो समय परिवर्तन भइरहेको सामाजिक र राजनीतिक कारणले पनि महिलाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ ।’

अहिले पनि मलेसिया, साउदी अरेबिया, कतार, युएई, कुवेत, ओमान, बहराइन, दक्षिण कोरिया नेपालीका प्रमुख श्रम गन्तव्य बनेका छन् । अमेरिका र युरोपका देशको सपना देख्ने युवाहरू पनि पछिल्लो समय बढिरहेका छन् ।

यसले नेपालीहरू कमाउन खाडी नै जाने, दुःख मात्रै पाउने र बाकसमा फर्किने आम बुझाइलाई केही हदसम्म बदल्न सक्ने भए पनि चुलो बाल्न वैदेशिक रोजगारी नै रोज्नु पर्ने बाध्यता भने नफेरिने सङ्केत गरिरहेको छ ।

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया