एक वर्षमा विभागमा पर्‍यो ४४ सय ६४ वैदेशिक रोजगार ठगीको मुद्दा, झण्डै १८ सय मेलमिलापमार्फत टुङ्ग्याइयो

 साउन २३, २०८० मंगलबार १७:१३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – गएको आर्थिक वर्ष २०७९/०८० मा वैदेशिक रोजगार विभागमा झण्डै ४५ सय वैदेशिक रोजगार ठगीका उजुरी परेका छन् ।

विभागका अनुसार एक वर्षको अवधिमा ठगीमा मात्रै ४४ सय ६४ उजुरी परेको हो । विभागमा परेका मुद्दामध्ये १७ सय ५१ मुद्दा पीडित र पीडकबीच मेलमिलापमार्फत टुङ्ग्याइएको छ । 

वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीका अनुसार विभागले मेलमिलापमार्फत ठगी भएको झण्डै ५६ करोड रुपैयाँ पीडितलाई दिलाएको छ । 

वैदेशिक रोजगार विभागमा ठगीका उजुरी हेर्नका लागि मुद्दा तथा अनुसन्धान शाखा, राहत उद्धार तथा समन्वय शाखा र प्रहरीको टोली समेत खटिएको छ । 

प्रहरीले विभागमा गुनासो लिएर आउने श्रमिकको ठाडो उजुरीसमेत लिने र त्यस उपर आवश्यक काम कारबाही अघि बढाउने गर्छ ।

पछिल्लो समय वैदेशिक रोजगार ठगी बढ्दो छ । युरोप अमेरिका लगायतका देशमा पठाउने भन्दै लाखौँ रुपैयाँ असुल्ने तर पैसा लिएपछि एजेण्टहरु फरार हुने क्रम छ ।

वैदेशिक रोजगारी ठगीमा पछिल्लो समय म्यानपावर र एजेण्ट मात्र होइन मानिस घुम्न पठाउने ट्राभल एजेन्सी र शैक्षिक परामर्श गर्ने कन्सलटेन्सीहरुले समेत गरिरहेका छन् ।

सामाजिक सञ्जालदेखि विभिन्न माध्यममार्फत ठगी गर्ने क्रम बढेपछि विभागले यसतर्फ सचेत रहन अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया