श्रमको लगानी स्वदेशमै गर्नुपर्छ

 बैशाख १८, २०८१ मंगलबार १२:४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

अमित संग्रौला / झापा 

पहिले पहिले गाउँमा दुःख भयो भनेर शहर बसाइँसराइ गरेर जाने चलन थियो । शहरमा बिजुली, खानेपानी, अस्पतालकाे सुविधा हुन्छ, व्यापार–व्यवसाय राम्रो हुन्छ, दुःख गर्नुपर्दैन भन्ने बुझाइ मानिसमा थियो । समय फेरिएसँगै मानिसको विचारमा परिवर्तन आएको छ । अहिले आफ्नो परिवारलाई सुखी र खुशी राख्न पैसा कमाउन विदेश जानुपर्छ भन्ने मानसिकता छ । युवाहरू बेरोजगारीको चपेटामा परेपछि नयाँ पुस्ता मानसिक रूपमा विचलित भएको देखिन्छ । वैदेशिक रोजगारमा जानेहरूको दिनहुँ लामै लर्को छ ।

देशमा राजनीतक अस्थिरता, गरिबी, भ्रष्टाचार, बेराेजगारी लगायतका विविध कारणले रोजगारका लागि युवाहरू विदेश जान बाध्य छन् । देशको माया मात्र लागेर के गर्नु ? खाने माड नै नभएपछि यहाँ केही गरेर बस्ने अवस्था नै छैन । राज्य बेखबर छ वा भनौँ कान थुनेर बसेको छ । नीति त बनाएको छ तर कार्यान्वयन जहिले फितलो लाग्छ । देशको जनशक्तिलाई देशमै सीप र काम दिनुपर्नेमा त्याे काम भएको देखिँदैन । आफ्नो परिवार साथीभाइसँग बस्ने रहर कसलाई पो हुँदैन ? तर आम्दानीको स्रोत छैन । व्यवसाय गरौँ भन्दा लगानी छैन । महँगी आकाश चुलिँदै छ । लाग्छ, देश छोडेर अन्त कहीँ जान्न । स्वदेशमै उद्यम गर्छु तर सपनाले मात्रै कसको पो घर चल्छ र ?

म अब कहिल्यै विदेश जान्न भनेर दुबईबाट फर्किएको थिएँ । बिडम्बना, घरको आर्थिक अवस्थाले पिरोल्न थालेपछि म मलेसिया आएँ । मायाले संसार थाम्दैन रहेछ । देशभक्ति बनेर मात्र कहाँ हुँदाे रहेछ ? परिवार, श्रीमती, छोराछोरीकै लागि विदेशिनुपर्छ । विदेशमा बसिरहँदा देशप्रतिको माया झन् धेरै हुँदाे रहेछ– यो मैले अनुभव गरेको कुरा हो ।

विदेशमै दुःख गरेर कमाएको पैसाले स्वदेशमै उद्यमशील बनेका कैयौँ उदाहरण छन् । विदेशकाे कमाइ आफ्नो देशमा लगानी गरी उद्यमशील बन्ने हो भने पैसाको सही सदुपयोग हुन्छ । यसका लागि सरकारले स्वदेशमै रोजगारीका कार्यक्रम शुरु गरेको छ । यो कार्यक्रमले कतिको पूर्णता पाउने हो त्यो हेर्ने बाँकी नै छ ।

आजका युवायुवतीहरू देशप्रति सन्तुष्ट छैनन् । युवा पुस्ताको सोचाइमा देशमा चरम भ्रष्टाचार छ, सुरक्षित भविष्य छैन भन्ने छ । पढ्न होस् अथवा काम गर्न विदेश नै रोज्ने गरेको देखिन्छ । विदेशमा सिकेको ज्ञान, सीप, क्षमता आफ्नो देशमै लगाउन सकियो भने केही गर्न सकिन्छ । त्यसका लागि सबैभन्दा पहिला म केही गर्न सक्छु भन्ने हिम्मत र हौसला हुनुपर्छ ।

आफ्नो देशमा बसेर नै माटोमा सुन फलाउन सकिन्छ । तसर्थ वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा के गर्ने त भन्ने योजना बनाउनुपर्छ । विदेशमा दुःख गरेर कमाएको पैसा सही ठाउँमा लगानी गर्न सकियो भने त्यसको झन् महत्त्व हुन्छ । बचत गर्ने बानीले कहिल्यै नोक्सानीा गर्दैन ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया