गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न अल्पक...
बैशाख २, २०८२ मंगलबार
नयाँ वर्ष २०८२ को अवसर पारेर देशका विभिन्न ठाउँमा आन्तरिक पर्यटनको चहलपहल भइरहेको छ । तर यो वर्ष पर्यटन क्षेत्रमा सोचेजस्तो उपलब्धि होला भन्ने लाग्दैन । यसमा केही कारणहरू छन् । हाम्रो आन्तरिक व्यवस्थापन कमजोर छ । पर्यटन क्षेत्र नेपालीभन्दा विदेशी नागरिकसँग बढी निर्भर छ । नेपाल शाहसिक पर्यटन गन्त्वयका रूपमा विश्वभर परिचित छ । यही कारणले पनि विदेशीहरू नेपाल आउँछन् । अहिले विश्व राजनीतिक घटनाहरूले नेपालको पर्यटन क्षेत्रमा पनि असर पुगेकाे छ । अमेरिकाको आर्थिक नीतिले बढी प्रभाव पारिरहेको छ । नेपाल र अमेरिकाबीच यूएसएआईडीमार्फत ७० वर्षभन्दा बढीको साझेदारी थियो, यसबाट नेपाल आउने आर्थिक अनुदान कटौती भएपछि नेपाली पर्यटन क्षेत्रमा असर पुगेकाे छ । यसका साथै धेरै गैरसरकारी संस्थाहरूले नेपालमा काम गर्थे, ती संस्थाहरूमा काम गर्ने उच्च पदस्थदेखि सामान्य कर्मचारी विदेशबाटै आउँथे, उनीहरूले आफू मात्र नभई आफन्तलाई पनि बोलाएर नेपाल घुम्न प्रेरित गर्थे । यस्तै कारणहरूले गर्दा गएको वर्षभन्दा यो वर्ष सोचेजति पर्यटन क्षेत्र चलायमान हुन नसक्ने अनुमान गरेका छौँ ।
पर्यटन व्यवसाय सुदृढीकरण हुन आवश्यक
पर्यटन व्यवसायको सुदृढीकरण हुन एकदम आवश्यक छ । नेपालले पर्यटन क्षेत्रबाट जति लाभ लिन सक्नुपर्थ्याे, त्यो हुन सकेको छैन । अहिलेसम्म जेनतेन चलिरहेको छ । तर भोलिको दिनमा कसरी पर्यटन क्षेत्र चलायमान बनाउने भन्ने अन्याेल छ । पर्यटन सुदृढीकरणका लागि अहिले हामीले नयाँ नीति आओस् भनेर पर्खिरहेका छौँ । पर्यटनसम्बन्धी २०३५ सालमा बनेको नीति आजको दिनसम्म चलिरहेको छ । अहिले विश्व धेरै नै परिवर्तन भएको छ । नेपालको कुनै कुनामा भएको घटना विश्वभर एकैछिनमा फैलन्छ, साथै विश्वमा भएका घटना पनि यसैगरी नेपालसम्म आउँछ । विश्वमा सूचना प्रविधिले ठूलो फड्को मारेको छ । त्यसले गर्दा आज पर्यटन क्षेत्रलाई बढाउन पुरानो नीतिले होइन कि नयाँ नीति बन्न जरुरी छ । पर्यटन क्षेत्र सुदृढीकरण गर्न नीति परिवर्तन आवश्यक छ । सरकारले अहिले पर्यटनसम्बन्धी नीति बनाउन लागिरहेको छ । हामीले पनि सरकारलाई यो नीति चाँडो ल्याउन दबाव दिइरहेका छौँ । पर्यटनबाट व्यवसायीलाई मात्र फाइदा हुने होइन, यसमा समग्र देशको रोजगारी, अर्थतन्त्र, संस्कृतिलगायतका विषय जोडिएर आउँछ ।
पर्यटन पूर्वाधारमा लगानी बढाउन जरुरी
अहिले पर्यटनमा सबैभन्दा समस्या पूर्वाधारमा छ । पर्यटनका लागि नेपाल स्वर्ग हो । नेपालमा धेरै प्राकृतिक सम्पदाहरू छन् । हामीसँग विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा छ । यसैगरी आठ हजारभन्दा माथिका नौ वटा हिमाल पनि हाम्रो देशमा छ । साथै हामी विश्वका दुई ठूला अर्थतन्त्र भएका देशको बीचमा छौँ । यी देशमा अहिले आइरहेका न्यूनतम पर्यटक आउँदा पनि १० लाख हाराहारीमा पुग्ने गरेको छ । अन्य देशबाट गरेर २० लाख जति पर्यटक भित्रिँदा हामीलाई धेरै पर्यटक आएजस्तो लाग्छ । तर यही २० लाख पर्यटकलाई पूर्वाधारका कमीले हामीलाई धान्न गाह्रो भएको देखिन्छ । काठमाण्डौ, पोखरा र लुम्बिनीमा पर्यटकका लागि पूर्वाधार बनेका छन् तर धेरै पर्यटकीय ठाउँहरूमा पूर्वाधारको कमीले सोचेजति पर्यटक पुग्न सकेका छैनन् । पर्यटक पुगिहाले पनि उनीहरूको बसाइ लम्ब्याउन सकिएको छैन । सोलुखुम्बुकै कुरा गर्दा तेन्जिङ हेलारी शेर्पाले सगरमाथा चढ्नका लागि विमानस्थल बनाइएको थियो । त्यही विमानस्थललाई सरकारले केही विस्तार गरेर अहिले लुक्ला विमानस्थल भन्न थालिएको छ । मौसमका कारण लुक्ला पुग्ने पर्यटक काठमाण्डौमै बस्नुपर्ने अवस्था छ । लुक्लाका लागि साना जहाज मात्र चल्न सक्छ, साना जहाज विश्ममै लोप हुन थालिसक्यो । अहिले साना विमानका कम्पनीहरू बन्द भइसकेका छन् । हामीकहाँ कयौं वर्षदेखि ट्विनअटर विमान चलिरहेका छन् । लुक्ला पुगेका पर्यटक हिमालसम्म कसरी जाने भन्ने अर्को चिन्ता छ । हिमाली जिल्लामा पर्यटकका लागि सुविधा सम्पन्न होटल, सडक, पानी, विश्रामस्थलको अभाव छ । यसले गर्दा पर्यटकलाई हिमालमा पुर्याउन हामीलाई धौधौ हुन्छ ।
आन्तरिक पर्यटक कम भए
विश्वमा आन्तरिक पर्यटक ठूलो हिस्साका रूपमा रहेको हुन्छ । चीन, अमेरिका, जापान, अस्ट्रेलिया, युरोपलगायतका देशहरूले आन्तरिक पर्यटकबाटै राम्रो आम्दानी गर्न सफल भएका छन् । नेपालमा औंशी पूर्णिमामा मात्र केही आन्तरिक पर्यटक घुमफिर गरेको देखिन्छ । कि त दशैँ–तिहार र नयाँ वर्षमा केही मानिस घुमफिरमा निस्किएको देखिन्छ । त्यसमा पनि नेपाली खासै शाहसिक पर्यटनमा घुलमिल भएका छैनन् । शाहसिक पर्यटन अलि महँगो पनि छ । आर्थिक कारणले पनि धेरै नेपालीहरू घुम्न सकेका छैनन् । यसले गर्दा विदेशी पर्यटककै आधारमा नेपालको पर्यटन धानिएको छ । नेपालीहरू नै सेवा सुविधालाई हेर्दै विदेश जाने गरेको पनि देखिन्छ । यही कारण नेपालले पर्यटन क्षेत्रबाट जति आम्दानी गर्न सक्थ्यो त्यति नगरेको देखिन्छ ।
(ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पासँग विकाश चापागाईँले गरेको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
शेर्पा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।