बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण

 वैशाख २, २०८२ मंगलबार १८:२८:९ | रासस
unn.prixa.net

तस्वीर : रासस

गाेरखा – गोरखाको बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि मुआब्जा निर्धारण भएको छ । चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि, प्रवर्द्धक कम्पनी साहस ऊर्जाका प्रतिनिधि र स्थानीय बासिन्दाको सहभागितामा मुआब्जा निर्धारण गरिएको हो ।

साहस ऊर्जाका प्रबन्ध निर्देशक हिम पाठकका अनुसार बाँध निर्माणस्थल रहेको वडा–३ को सल्लेरीका बस्ती क्षेत्रमा रहेका जग्गाको प्रतिआना ३ लाख रुपैयाँ कायम गरिएको छ । ४ आनाभन्दा कम जग्गा हुनेको हकमा भने प्रतिआना ४ लाख र बस्तीभन्दा बाहिर प्रतिआना १ लाख ५० हजार रुपैयाँ मुआब्जा निर्धारण भएको छ ।

झन्डै ८० रोपनीको मुआब्जा दिनुपर्ने आँकलन गरिएको पाठकले बताउनुभयो । तर घरको मूल्याङ्कन भइसकेको छैन । गाउँपालिकाका प्राविधिकले तयार गरेको प्रतिवेदनका आधारमा घरको मुआब्जा निर्धारण हुने पाठकले जानकारी दिनुभयो ।

आयोजनाबाट २६ घरधुरी विस्थापित हुने अवस्था छ । विस्थापित हुनेहरूको पुनर्स्थापनाका विषयमा छलफल चलिरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) प्रविधिको ३ सय ४१ मेगावाट क्षमताको परियोजना निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो परियोजना हो । साहस ऊर्जाले सल्लेरीमा बाँध निर्माण गर्नेछ भने त्यहाँबाट ६ दशमलव ८ किलोमिटर भूमिगत सुरुङ हुँदै धार्चे गाउँपालिका–३ मा रहेको तातोपानी पावर हाउसमा विद्युत् उत्पादन गर्नेछ । उत्पादन हुने विद्युत् ४५ किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको रातामाटे सबस्टेशनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । आयोजनाको कुल लागत ७० अर्ब रुपैयाँ रहेको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया