नागरिकले फ्याँकिसकेको राजतन्त्र आउने भ्रम पाल्नु हुँदैन : प्रधा...
चैत ३०, २०८१ शनिबार
यो बेलामा करिब–करिब पश्चिमी वायुको प्रभाव हुन्छ । विस्तारै पूर्वी बङ्गालको खाडी हुँदै त्यो जलवाष्पयुक्त हावा नेपाल प्रवेश गर्छ । न्यून चापीय प्रणाली नेपालको मध्य भूभागसम्म पनि विस्तार हुने समय हो । त्यसले गर्दा पश्चिम र पूर्वको दुवै वाष्पीय प्रणालीको असरले गर्दा पानी परेको हो, यसलाई सामान्य रूपमा लिन सकिन्छ ।
यो अहिलेका लागि अस्थायी रूपमा मात्रै दुई–तीन दिन पर्ने पानी हो । यसले पूर्ण रूपमा प्रदूषण हट्यो नै भन्ने अवस्था छैन । शनिवारसम्म मात्रै पानी पर्ने सम्भावना देखिन्छ । यो अवधिमा पनि धेरै ठूलो वर्षा भइहाल्ने अवस्था छैन ।
हामीले धेरै स्रोतबाट सूचना लिन्छौँ, तर विश्वसनीय स्रोतबाट सूचना लिनुपर्छ । खासगरी दाङदेखि कञ्चनपुरसम्मको तल्लो तराईको भूभागमा यसको प्रभाव अलि कम देखिन्छ । बाँकी क्षेत्रमा पनि त्यति धेरै ठूलो पानी नपरे पनि छिटपुट पानी परिरहने देखिन्छ । शनिवारसम्म छिटपुट वर्षा र आकाशमा बादल नै लागिरहने अवस्था छ । यसको मतलब छिनमै पानी पर्ने र छिनमै हराउने हुन्छ, तर घमाइलो दिन चाहिँ हुने देखिँदैन ।
अब अहिलेको पानीले दिएको राहतको कुरा गर्दा, सबैभन्दा पहिले त तीव्र रूपमा बढेको प्रदूषण हटायो । काठमाण्डौ लगायत देशभरकै हावा निकै हानिकारक भइसकेको अवस्था थियो ।
अर्को भनेको बालीनालीमा केही राम्रो भएको छ । जमिन सुक्खा भइसकेको थियो, त्यसलाई नरम बनायो, किसानलाई यसबाट लाभ मिलेको छ । तर तराई क्षेत्रमा यस बेला गहुँ काट्ने, थन्क्याउने समय भएकाले काटिएको गहुँलाई भने केही असर गर्न सक्छ । समग्रमा राम्रै भयो भन्न सकिन्छ ।
यो पानीले केही दिनका लागि मात्रै राहत दिने हो । त्यसपछि तत्काल ठूलो पानी पर्ने सम्भावना छैन । अहिले परेको पानीले त जमिन पनि राम्रोसँग नभिजिकन सुक्छ । फेरि वन क्षेत्र सुकेर डढेलो लाग्न सक्छ ।
प्रदूषणको कारण त यसको स्रोतमै समस्या छ । सबैभन्दा पहिले यसको स्रोत पहिचान गर्न जरुरी छ र त्यसपछि त्यसलाई नियन्त्रण गर्न जरुरी छ ।
काठमाण्डौको कुरा गर्दा उपत्यकाभित्र चल्ने गाडीको धुवाँ, काठमाण्डौभित्र रहेका इँटाभट्टाबाट निस्किने धुवाँ, प्लास्टिकजन्य पदार्थ जलाउँदा निस्किने धुवाँ, सडकबाट निस्किने धुलो प्रदूषणको मुख्य कारण हो ।
यसबाहेक नेपाल पारिपट्टिबाट छिमेकी देशबाट पनि प्रदूषण भित्रिएको देखिन्छ । त्यहाँ बढेको औद्योगीकरणको असर नेपालसम्म देखिन्छ । मङ्सिर महिनादेखि हावा पश्चिमबाट चल्ने भएकाले भारतका मरुभूमिहरुबाट धुलोजन्य हावा नेपाल प्रवेश गर्छ, यसले पनि प्रदूषणको मात्रा बढाउँछ ।
त्यसैले प्रदूषणको स्रोत नै नियन्त्रण गर्न आवश्यक छ । पानीले दुई–चार दिन राहत त देला, तर त्यसले दीर्घकालीन समाधान भने दिँदैन । त्यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्न जरुरी छ । सरकारले जसरी विभिन्न क्षेत्रबाट प्रदूषणको नाममा कर उठाउँछ, त्यसको सदुपयोग हुनुपर्छ ।
सार्वजनिक गाडीहरू सुरक्षित हुनुपर्छ, खासगरी महिलाहरूको लागि अझ सुरक्षित हुनुपर्छ । सार्वजनिक गाडीले मानिसहरूलाई समयमा पुर्याउने र ल्याउने गर्यो भने अहिले मानिसहरूले प्रयोग गर्ने निजी गाडीको प्रयोग घट्छ । गाडीको सङ्ख्या घट्यो भने प्रदूषण कम हुन्छ । त्यसले अरू पनि फाइदा छ गाडी व्यवस्थापन पनि सहज हुन्छ ।
अहिले नेपालमा अधिकांश राजमार्गहरू निर्माणाधीन छन्, जुन दातृराष्ट्रको सहयोगमा बनाइराखिएको हो । उनीहरूसँगको सम्झौताअनुसार पनि त्यसमा धुलो नउडोस् भन्नका लागि पानी हाल्नुपर्छ, तर त्यसमा कुनै किसिमको काम भएको देखिँदैन ।
नागरिकले पनि प्लास्टिक बाल्नु हुँदैन, जसबाट हानिकारक ग्यासहरू निस्कन्छन् । फोहोर जलाउनु हुँदैन । अहिले प्लास्टिकको प्रयोग बढ्दैछ, त्यसलाई कम गर्नुपर्छ । र, घरबाहिर निस्कँदा मास्क अनिवार्य प्रयोग गर्नुपर्छ ।
पछिल्लो समयको जलवायु परिवर्तनल धानबालीमा त धेरै असर गरेको छ । नेपाल विश्वका जलवायु परिवर्तनबाट प्रभावित देशको चौथो नम्बरमा पर्छ । हामीसँग जलवायु परिवर्तनले गर्दा हुनसक्ने प्रभावहरूसँग लड्न सक्ने क्षमता एकदमै कम छ ।
स्मरण होस्, गएको असोज ११ र १२ मा नेपालमा ठूलो बाढी, पहिरो आयो । नेपालमा त्योभन्दा ठूलो स्पेनमा आएको थियो । स्पेनमा जुन क्षति थियो, त्यसबाट उनीहरूले पार पाइसके । तर नेपालको बीपी राजमार्ग हेर्नुहोस्, क्षति भएका अन्य ठाउँ र संरचना हेर्नुहोस्, बाढी प्रभावितहरूको अवस्था हेर्नुहोस् अझै उस्तै छ । त्यसले गर्दा हामी कहाँ जलवायु परिवर्तनको असर पनि धेरै छ भने त्यससँग लड्न सक्ने क्षमता पनि हाम्रो देशसँग कम छ ।
हामीसँग गरीबी, प्रविधि, साधन स्रोत आदिको कमी छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर हेर्ने हो भने जाडो महिनामा पानी पर्न छोड्यो, हिउँदे पानी बिल्कुलै हुँदैन । हिउँदे बालीको उत्पादन एकदमै कम भइसकेको छ ।
गएको ३० वर्षको तथ्याङ्क हेर्नुहुन्छ भने, गएको ८ वर्ष यता हिउँदे पानी एकदमै कम भएको छ । गएको ४ वर्ष त हिउँदे पानी भएकै छैन । यसपटक पनि हिउँदे पानी हुँदै भएन, बल्लबल्ल अहिले पानी परेको छ ।
अर्को कुरा, लामो समय पानी नपर्दा जङ्गलहरू नराम्रोसँग सुक्छन्, त्यससँगै जमिन पनि नराम्रोसँग सुक्छ । त्यस कारणले गएको ३–४ वर्ष यता डढेलो बढेको हो । पहिले र अहिलेमा धेरै फरक के छ भने हिउँदे पानी हुँदै नहुने, पानीका मुहानहरू सुक्ने, फागुन, चैतमा त एउटै मुहान बाँकी रहँदैन ।
वर्षामा पनि पहिले ५–७ दिन लगाएर झरी पथ्र्यो, अहिले त्यही परिमाणको पानी ८–१० घण्टामै परिहाल्छ । पानीको परिमाणमा कमी छैन, तर कम समयमा ठूलो पानी पर्दा भू–गर्भीय पानी पुनर्भरण अर्थात ‘ग्राउन्ड रिचार्ज’ हुनुपर्ने हो, त्यो हुँदैन । बरु ठूलो पानी कम समयमा पर्दा बाढी, पहिरोको जोखिम बढ्यो ।
जलवायु परिवर्तनको कारणले माटो यति नराम्रोसँग सुकिसकेको छ कि पानी एकैछिनमा पर्ने र लामो समय सुक्खा हुने कारणले उत्पादन घट्यो । किसानले पनि रासायनिक मल र विषादी धेरै राख्न थाल्नुभयो । २० वर्ष पहिले वीरगञ्जमा पाइने किरा अहिले काठमाण्डौको आसपासमा पाइन्छ ।
यसको मतलब के हो भने २० वर्षअघि तराईमा हुने गर्मी अहिले काठमाण्डौ आसपासमा हुन थालिसकेको छ । किरा फट्याङ्ग्राहरू पनि उकालो चढ्न थालेका छन् । पहिले तराईमा हुने गर्मी अहिले पहाडमा हुन थालेको छ । तराईका किरा पहाडमा फेला पर्न थालेका छन् ।
त्यसले गर्दा किसानले बालीहरूमा विषादीको धेरै प्रयोग गर्न थाले । विषादीले माटोको उर्वराशक्ति घट्यो । हामीले खाने खानेकुरा पनि विषाक्त बन्दै गयो । एक्कासी ठूलो पानी पर्दा माटोमा भएको रासायनिक मल पनि ताल, तलैया, नदीहरूमा जान थाल्यो । त्यही मलका कारण नदी, तालहरूमा आगन्तुक झारहरू, लेउहरू फैलिन थाले । त्यसैले जलवायु परिवर्तनको असर हाम्रो दैनिक जीवनमा समेत प्रत्यक्ष रूपमा परेको छ ।
(पर्यावरण तथा मौसमविद् उज्ज्वल उपाध्यायसँगको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उपाध्याय पर्यावरण तथा मौसमविद् हुनुहुन्छ ।