पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू
चैत १८, २०८१ सोमबार
राजावादीहरूले शुक्रवार काठमाण्डौमा गरेको आन्दोलन होइन, त्यो एक किसिमको हिंसा हो । त्यो अराजकताको पराकाष्ठा नै हो । उपद्रो गरेको, उग्रता प्रदर्शन गरेको देखियो । यसको सबै जिम्मा प्रदर्शनको निर्देशन दिने पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्छ । त्यसपछि भनेको जजसलाई उनले आन्दोलनका कमाण्डर तोकेका थिए, उनीहरू यसमा जिम्मेवार छन् । त्यसैले समग्र घटनाको जिम्मा आयोजकको हुन्छ । यो समग्र नागरिक नै आन्दोलनमा लागे भन्ने विषय होइन, देशमा अस्थिरता उत्पन्न गर्न चाहनेहरू यसमा संलग्न भएका हुन । देशमा अस्थिरता सिर्जना गर्ने, कानून उल्लङ्घन गरेर कानूनलाई कमजोर बनाउने, देशमा कानून नभएको स्थिति सिर्जना गर्ने, समग्र राज्य नै केही होइन भन्ने भ्रम सिर्जना गर्ने व्यक्ति यसमा संलग्न भएको देखिन्छ ।
निजी सम्पत्ति, सञ्चार माध्यम, गाडी मात्रै होइन, सबैभन्दा संवेदनशील क्षेत्र विमानस्थललाई समेत प्रभावित पार्ने कुनै पनि व्यवस्था परिवर्तनको लागि गरिएको आन्दोलन होइन, यो अस्थिरता नचाहने तत्वको हिंसात्मक प्रदर्शन हो । कुनै पनि राज्यका लागि यो सह्य हुनै सक्दैन । जहाँसम्म आन्दोलनकारीहरूलाई उत्तेजित पारियो भन्ने राजावादीहरूको भनाइ छ, त्यसमा पनि कुनै तुक छैन ।
सरकारले वा प्रहरीले उत्तेजित पारे पनि त्यसलाई संयम बनाउने जिम्मेवारी त उनीहरूको हो । अरूलाई दोष दिन पाइन्छ ? जस्तोसुकै परिस्थिति भए पनि नेतृत्व गर्नेहरूले यसलाई सम्हाल्नुपर्ने हो तर उनीहरू त्यसबाट भागेको देखिन्छ । त्यसैले समग्र परिस्थितिलाई हेर्दा जसले यो आयोजना गरे, उनीहरूको योजना नै देशमा केही उथलपुथल गराउने, अप्रीय घटना घटाउने, मानिसमा कुनै भ्रम सिर्जना गर्न सकिन्छ कि भन्ने हो ।
नेपालमा राजसंस्था चाहनेहरू चुनावमा त गएकै छन् । त्यसमा पनि नागरिकले उनीहरूलाई पत्याएको अवस्था छैन । तर यो घटनासँग कुनै पार्टीलाई जोड्नु भन्दा पनि जो–जो व्यक्ति संलग्न छन् उनीहरूलाई कानूनको दायरामा ल्याउनुपर्छ । यो राप्रपा वा अरू कुनै पार्टीको मात्रै विषयको कुरा होइन, यो कानून उल्लङ्घन वा अपराधको विषय बन्यो । ती गलत तत्वहरूले नागरिकको समर्थन नपाउने भएपछि यस्तो बाटो रोजेका हुन् ।
अहिलेको व्यवस्था र सरकारप्रतिको असन्तुष्टि हो भने सरकारी सम्पत्तिमा मात्रै आक्रमण हुनुपर्ने, तर यहाँ त मान्छे ज्यान जानेदेखि निजी सम्पत्ति र निजी संरचनामा आक्रमण भएको छ । कसरी अहिलेको व्यवस्थाप्रतिको असन्तुष्टि मान्ने ? त्यसैले यो सब अराजक तत्वले योजनाबद्ध रूपमा गरेको आपराधिक गतिविधि हो । सञ्चार माध्यममा आगो लगाउने काम व्यवस्था परिवर्तनको लागि हुन्छ ?
त्यसैले उनीहरूले यसमा जिम्मा लिने मात्रै होइन, जवाफ पनि दिनसक्नुपर्छ । कानूनी राज्यमा नागरिकको ज्यान लिने र निजी सम्पत्तिमाथि क्षति पुर्याउने काम सह्य हुँदैन । सरकारले आन्दोलनका लागि निर्धारित ठाउँ तोकिदिँदा पनि जबरजस्ती गरेको देखियो, त्यो गर्न मिल्छ ? शुरुमा यो कार्यक्रम पार्टीको आयोजनामा हुने भनिएको थियो तर पछि पूर्व राजा ज्ञानेन्द्रको निर्देशनमा अरूलाई जिम्मा दिईयो । त्यसैले यसमा जो मञ्चमा थिए, जसलाई संयोजक तोकियो, जो यसका कमाण्डर थिए, जसलाई नियुक्त गरिएको थियो उनीहरू नै जिम्मेवार हुन् ।
नेपालमा राजसंस्था स्थापनाका लागि बाह्य शक्ति नै लागेको छ जस्तो मलाई लाग्दैन । यसमा कोही व्यक्तिको चाहना होला, तर कुनै विदेशी नै लागेको भन्नु गलत हो । यसो हेर्दा अस्थिरता भइराखेको अवस्थामा दुई ठूला पार्टी मिलेर सरकार बनाए र त्यसलाई भत्काउने प्रयास गरिएको हो जस्तो लाग्छ । यो खाली अस्थिरता निम्त्याउन खोजेको मात्रै हो । कसैको भ्रममा परेर राजसंस्था फिर्ता ल्याउँछु, मसँग कुनै विदेशीको सहयोग छ भन्नु भ्रम मात्रै हो । मसँग जनसमर्थन छ, विदेशी शक्ति पनि छ भन्ने भ्रम नपाल्दा हुन्छ । अहिलेको अवस्थामा नेपालमा पुरानो स्थिति फर्काउँछु भन्नु भ्रम हो, दिवा सपना हो ।
हामीले अहिले देखेको भनेको विशुद्ध आपराधिक कार्य हो त्यसैले सरकारले काम गर्न सकेन, त्यही भएर यो परिस्थिति सिर्जना भयो भन्ने होइन । तत्काल भनेको दोषीलाई कानूनी कारबाही गर्ने हो जोसुकै होस् । यतिबेला सरकारका कमी–कमजोरीहरू केलाउन थालियो भने अराजक तत्वहरूलाई फाइदा पुग्छ । सरकारप्रति असन्तुष्टि भएको भए त नागरिक नै सडकमा आउने थिए नि, खै नागरिक सडकमा आएको ? यो सरकारलाई कमजोर बनाउने खेल हो त्यसैले हामीले पनि विश्लेषण गर्दा पछिल्लो र समसामयिक घटनाक्रममा गर्दा न्याय हुन्छ । त्यसैले विषयवस्तुमा केन्द्रित हुँदा राम्रो हुन्छ ।
जहाँसम्म सरकारसँगको असन्तुष्टि छ, कुनै पनि सरकारले जनअपेक्षा अनुसार केही राम्रा र केही नराम्रा काम भएकै हुन्छन् । त्यो विषयको बहस फरक हो । सरकारले आम नागरिकको जीउधनको सुरक्षा गर्नुपर्ने दायित्व हो । त्यसैले शुक्रवारको घटनामा दोषी जोसुकै भए पनि कस्तो कारबाही हुन्छ त्यो पनि हेरौँ । राज्यले गर्ने भनेको नागरिकका स्वतन्त्रता, मौलिक हकको संरक्षण हो । नागरिकले लोकतन्त्रमा पाउने सबै अधिकार पाउनुपर्यो । गणतन्त्रले आफ्नो रक्षा आफैँ गर्ने हैसियत राख्ने गरी दलहरू लगायत अहिलेको व्यवस्थाले गर्नुपर्छ ।
तर अहिलेको मुख्य विषय भनेको शुक्रबारको आपराधिक क्रियाकलापमा संलग्नलाई कानूनको दायरामा ल्याउनुपर्छ, त्यसमा आवश्यक परे पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि कारबाही हुनुपर्छ ।
(पूर्व कानुनमन्त्री एवम् संविधानविद् आचार्यसँग हृदय रिमालले गरेको कुराकानीमा आधारित ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
आचार्य वरिष्ठ राजनीतिज्ञ हुनुहुन्छ ।