वेस्ट इन्डिजको टेस्ट कप्तानबाट ब्राथवेटले राजीनामा दिए, टी–२० ...
चैत १९, २०८१ मंगलबार
शहरमा बसेका छोराछोरी र नातिनातिनीको याद आएपछि हजुरबा एक्लै काठमाण्डौ जान तम्सिनुभयो । बूढोमान्छे एक्लै कसरी जानुहुन्छ भन्दै हजुरआमाले पिर गर्नुभयो । उबेलाको जस्तो हाम्रो जमाना हो र ! पुग्नेबित्तिकै फोन गरिहाल्छु नि भनेर हजुरआमालाई आश्वस्त पारेर हजुरबा बस चढ्नुभयो । बसबाट ओर्लनेबित्तिकै हजुरआमालाई फोन गर्नुभयो । हजुरआमा पनि आश्वस्त हुनुभो । जमाना कहाँबाट कहाँ पुग्यो है, उबेला तल बेँसीमा घाँस काट्न गएको मान्छे बेलामा आएन भने बाघले खायो कि भालुले चिथर्याे भनेर चिन्ता गर्नुपर्थ्याे । घरबाट टाढा पुगेका परिवार र आफन्तको हालखबर थाहा नपाएर चिन्तामा बस्नुपर्थ्याे । न फोन, न इन्टरनेट । अहिले त परिवार र आफन्त संसारको जुनसुकै कुनामा पुगे पनि सँगै भएजस्तोगरी कुरा गर्न पाइन्छ । घरमै मोटर आउँछ । बिजुलीमै भात पाक्छ । उबेला र योबेला सम्झँदै हजुरआमा टोलाउनुभयो ।
उता शहर पुगेका हजुरबा नातिनातिनाका मोबाइलमा फेसबुक र टिकटक हेरेर भुल्न थाल्नुभो । खेतीपातीदेखि राजनीतिसम्मका कुरा मोबाइलमै हेर्न पाइने । हेर्न हुने/नहुने सबै कुरा देखिने । नेताहरूलाई गालीगलौज गर्न पाइने । व्यवस्था ठीक भएन भनेर आलोचना गर्न पाइने । राजाको बेलामा कहाँ यस्तो हुन्थ्यो र ? राजतन्त्र मन परेन भन्नेबित्तिकै पुलिसले जेलमा कोच्थ्यो । राजा र उनका आसेपासेको हालीमुहाली थियो । उनीहरूको तारिफ मात्रै गर्नुपर्ने, नराम्रो कामको आलोचना गर्नै नपाइने । राजाका पालामा के मात्रै भएन ? भ्रष्टाचार, बेथिति, हत्या, हिंसा, बलात्कार जे भए पनि चुइँक्क बोल्न पाइँदैन थियो । अहिले त बोल्न पाइन्छ । यसो भएन, यसो गर भनेर शासकहरूलाई भन्न पाइन्छ । हजुरबाले पनि उबेला र योबेलाको अवस्था सम्झनुभयो ।
एकदिन लौरो टेकेर वरपर घुम्दै गर्दा हजुरबालाई कसैले सुनाइदियो राजा आउँदैछन् रे । मसानघाट पुगिसकेका राजा आए भने त परलोक पुगेका हाम्रा बाआमा, बाजेबज्यै पनि आउने होलान् । बुढ्यौली लागेको शरीरमा पनि जवानी आउने होला । राजासँगै आफ्नो रसरङ्ग र रमाइलो पनि फर्कने होला । राजा आउने र फर्कने कुरा सुनेर हजुरबाले फुलिसकेको दाह्री मुसारे ।
रैतीकै जिन्दगी बाँचेकाहरूले राजा आउँछन् भन्दै हल्ला गर्न थालेपछि पत्याउने मान्छे पनि भेटिँदा रहेछन् । भेटिने मात्र हैन उफ्रिँदा पनि रहेछन् । कुनै हालतमा राजा आउँदैन भन्दा पनि रैती हुन मन पराउनेहरू राजा ल्याइन्छ भनेर बुरुकबुरुक गर्छन् । खास कुरो के हो त ? हजुरबाले हेर्दाहेर्दै राजा त एकएक गरी आउनै थाले ।
फागुन ७ गतेको विज्ञप्तिमा राजाको प्रेतात्मा भेटियो । फागुन २५ मा पोखराबाट फर्किँदा विमानस्थलदेखि निर्मल निवाससम्म उनै राजाको भूत देखियो । चैत १५ मा त काठमाण्डौको तीनकुनेमा राजाका भूत, प्रेत, पिशाच, नन्दी, भृङ्गीको नग्न नाचै देखियो ।
लौरो टेकेर तीनकुनेतिर नियालिरहेका हजुरबाले देखे - भूतप्रेतको नग्न नाचको उद्घाटन दक्षिणी फिल्मी शैलीबाट भयो । कालो चश्मा लगाएका भिलेनजस्ता देखिने मान्छे विलासी गाडी हाँक्दै, आओ आओ भन्दै प्रहरीलाई कुल्चँदै अगाडि बढे । हातमा राष्ट्रिय झण्डा बोकेका केही मान्छेले ताली र सिट्ठी बजाए । यस्तो अराजक शैली देखेर सिट्ठी र ताली बजाउने को होलान् भनेर हेर्दा कोही बैंकको ऋण र उधारो तिर्न पर्दैन भनेर पछि लागेका, कोही चाहिँ राजा आउँछन् र खान पाइन्छ भन्दै आँ गरेर बसेका । हेर्दाहेर्दै प्रहरीलाई पेल्ने र उक्साउने गरी हिंसाको बीजारोपण गर्ने भिलेन शैलीमा राजा प्रकट भए । लगत्तै एकपछि अर्को राजाका प्रेत तीनकुने क्षेत्रमा नाच्न थाले ।
एउटा प्रेतले ढुङ्गा उठायो र घरको सिसामा हान्यो । सिसा झर्यामझुरुम भएर फुटेपछि पनि चित्त बुझेन । निर्मल निवासबाट बोकेर ल्याएको अगुल्टो झोस्यो । कागजपत्र, लुगाफाटा, कुर्सी, टेबल जल्न थालेपछि अट्टहास हाँस्दै भित्र पस्यो । भिडियो खिचिरहेको पत्रकार देखेपछि बाहिरबाट ताला लगाएर राजाको असली रूप देखाउँदै टालोले मुख छोपेर ओर्लियो ।
अर्को प्रेत हातमा ढुङ्गा र अगुल्टो बोकेर सडकमा नाच्न थाल्यो । भेटेजतिका गाडीमा ढुङ्गा बर्सायो । अगुल्टो झोस्यो । बलेको गाडीकै आगोले चुरोट र गाँजा सल्कायो । गाँजाको त्यो धूवाँमा राजपरिवारको आकृति देखियो ।
बिसञ्चो भएर सडकमा निस्केको अर्को प्रेत सञ्चो बनाउने औषधि कार्यालयमा छिर्याे । उसैगरी ढुङ्गामुढा र आगजनी गर्याे । आगोको लप्कामा प्रेतहरूको भीडमा मिसिएका सुकिलामुकिलाहरू समेत विरूप देखिए ।
राजाको फोटो समातेर नाङ्गै दौडिएको अर्को हुल भाटभटेनी छिर्याे । बलिया बाङ्गाले फ्रिज, टीभी अनि रक्सी र बियर बोके । निर्धाले चाहिँ दुई डल्ला स्याउ र दुई चार वटा कपडामा चित्त बुझाए । राजा फर्किने बाटो हेरिरहेका हजुरबाले भाटभटेनीको त्यही दृश्यमा राजाका चरित्र सम्झिए । रैती हुन मन पराउनेहरूले चोरेको स्याउ, रक्सी, टीभी र फ्रिजमा मन्दिरका मूर्तिका आकृति र गैंडाको खाग पनि देखे । यति भएपछि राजा आउने छाँट देखिएको हो त भनेर सोच्दासोच्दै त्यहीबेला हजुरआमाको फोन आयो ।
त्यतातिर राजा आए भन्छन् नि बुढा, कुरा के हो ? हजुरआमाले आत्तिँदै सोधिन् ।
खै बुढी, अहिलेसम्म त घर, पसल र गाडीमा मात्रै लुटपाट र चोरी भएको छ । अब मन्दिरका मूर्ति र जङ्गलमा गैंडा पनि हराउन थाले भने आए भनेर पत्याउनै पर्ला !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।